उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवामा बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पहिलोपटक दोवामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा गाउँबाट सदरमुकाम सेवा लिन जाँदा अनावश्यक सास्ती, ढिलासुस्तीका साथै कर्मचारीले दुर्गम क्षेत्रका जनता भन्दै फरक व्यवहार गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
भौगोलिक रुपमै विकट वडाभित्र प्रहरीको नियमित गस्ती बढाउनुपर्ने, सामाजिक बिकृति तथा विसङ्गतिजन्य गतिविधिको अन्त्यमा रचनात्मक सहयोगको उनीहरुले माग गरेका थिए । नागरिक सुनुवाई कार्यक्रममा कैलाश माध्यमिक विद्यालय दोवाका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले छरिएको बस्तीका कारण विद्यार्थीको पठनपाठनमा समस्या आएको बताउँदै विद्यार्थीलाई आवासीय सुविधाका लागि कार्यक्रमको आवश्यकता रहेको माग गरे ।
त्यस्तै वडा सदस्य कुलप्रसाद पूर्जाले सरकारी सेवासुविधाका बारेमा जनतालाई जानकारी गराउने गरी सार्वजनिक सुनुवाइसहितको कार्यक्रम वडास्तरमै आवश्यक रहेको बताएका छन् । उनले वडाभित्रका समस्याका प्राथमिकतालाई मध्यनजर गरी गाउँपालिका तथा जिल्लाका सरकारी कार्यालयले समाधानमा सघाउनुपर्ने जोड दिएका थिए । वडाका अन्य सहभागीले सरकारी सेवासुविधासहित घुम्ती शिविर, कृषि, पशुपालन जस्ता कार्यक्रमहरूमा समेत प्राथमिकता दिनुपर्ने माग गरेका थिए ।
नागरिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले प्रहरी र प्रशासनको अभियानले सहज भएको बताउँदै विकास निर्माणसहित सामाजिक गतिविधिमा समेत वडाबाट आवश्यक पहल हुने बताए । उनले भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको बताउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र विकास निर्माणमा जनसहभागिता जुटाउन सबैको सहयोगको आवश्यकता औंल्याएका छन् ।
कार्यक्रममा उठेका जिज्ञासाको सम्बोधन गर्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले समुदायस्तरमै पुगेर जनतासँग प्रहरीले नजिकको सम्बन्ध स्थापित गर्ने चाहना अनुसार नै कार्यक्रम सञ्चालन गरिएको बताए । उनले प्रहरीको दरबन्दी नभएकाले भूरूङ तातोपानीबाट साप्ताहिक, छड्के गस्तीको व्यवस्था गरिने जानकारी दिएका छन् । उनले ग्रामीण क्षेत्रमा गाँजाको खेती फस्टाउँदै गएको बताउँदै शान्ति सुरक्षा कायम, अपराध तथा दुर्घटना र बिकृति न्युनीकरण गर्न प्रहरीलाई सघाउन अनुरोध गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लामा मेलाजात्रा ठूलै समस्या भएकाले जनप्रतिनिधिकै उपस्थितिमा गरिएको प्रतिबद्धता अनुसार नै मेला सञ्चालन गर्न अनुरोध गरेका छन् । उनले जिल्लाका कुनै पनि कार्यालयमा कर्मचारीले सेवाका नाममा अतिरिक्त सुविधा, प्रक्रियामा झन्झट तथा सेवा प्रवाहमा ढिलासुस्ती गरेमा तत्कालै सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरे । उनले जिल्लामा सुशासन कायम गर्ने अभियानमा धेरै सफलता मिलेको बताउँदै जनमैत्री प्रशासनका लागि गाउँगाउँमै पुगेर सेवा दिने गरेको बताए ।
नागरिक सुनुवाई कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गर्बुजा, स्वागत प्रहरी निरीक्षक धुव्रप्रसाद शर्मा, कार्यक्रमसहित भावी योजनाका बारेमा प्रनाउ मरासिनीले जानकारी गराएका थिएभने कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद अधिकारीले गरेका थिए । सोही अवसरमा स्थानीय आमा समूहले स्वागत गरेका थिए ।
Previous Articleपर्यटकीयस्थल घोरेपानी जोड्ने सडक विस्तार सुरू
Next Article विश्व रेडक्रस स्थापना दिवसमा ज्येष्ठनागरिक सम्मान