आर्थिक सङ्कटमा परेको क्याम्पसलाई स्वदेश तथा विदेशबाट सहयोग जुटाउन नेतृत्वदायी भूमिका खेलेका यहाँका एक गाउँपालिका अध्यक्षले सेवासुविधावापत सरकारबाट प्राप्त गरेको दुईलाख रुपैयाँ गाउँकै क्याम्पसलाई सहयोग गरेका छन् ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा बुधबार आयोजित एक कार्यक्रममा तलब भत्तावापत प्राप्त सुविधाको केही हिस्सा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल, क्याम्पस प्रमुख काशिराज गौतमलाई हस्तान्तरण गरेका हुन् । तीनवर्ष अगाडि क्याम्पसको आर्थिक तथा पूर्वाधार विस्तार अभियानमा विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै ठूलो आर्थिक रकम जुटाएका गाउँपालिका अध्यक्ष रोकाले क्याम्पसलाई पश्चिम म्याग्दीका विद्यार्थीको आकर्षण बढाउन पूर्वाधारसहित थप सङ्कायका लागि सहयोग गरेको बताए ।
‘क्याम्पस तहको शिक्षा लिन सदरमुकाम वा जिल्लाबाहिर जानुपर्ने बाध्यतालाई तोड्न सफल भएका छौं, ‘पश्चिम म्याग्दीसँगै बागलुङका केही बस्तीबाट समेत यहाँ पढ्न आउने वातावरण बनाउन सबैको सहकार्य आवश्यक छ’ अध्यक्ष रोकाले भने । सोही अवसरमा क्याम्पसमा पश्चिम क्षेत्रमा कक्षा १२ उत्र्तीण गरेका विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न शैक्षिक अभियानलाई समेत तीव्रता दिने सञ्चालक समितिका अध्यक्ष पौडेलले बताएका छन् ।
क्याम्पसका पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रप्रसाद बुढाथोकी, काठमाडौ सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकी, मंगला माविका प्रधानाध्यापक गमबहादुर केसी, जनप्रिय माविका शिक्षक नगेन्द्र खत्री, स्थानीय आमा समूहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । विधानअनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको क्याम्पसले जनाएको छ । शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा ६० जना विद्यार्थी अध्ययनरत छन् ।
यसअघि पनि अध्यक्ष रोकाले ६ लाख आर्थिक सहयोग गरेका थिए । क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गा समेत खरिद गरिएको छ । स्थानीय तहको निर्वाचनमा विजय भएपछि तलब र भत्तालाई शिक्षा तथा सामाजिक हितमा लगाउने घोषणा अन्तरगत रोकाले यसअघि मंगला गाउँपालिका–५, सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीनलाख ५० हजार रुपैयाँ सहयोग गरेका थिएभने आर्थिक अभावका कारण शिक्षाबाट बन्चित भएका बालबालिकाको समेत शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् ।
Previous Articleरुप्से दैनिक ! २६ वैशाख २०७६
Next Article पर्यटकीयस्थल घोरेपानी जोड्ने सडक विस्तार सुरू