पर्वत साहित्य सङ्गमले प्रदान गरिने विभिन्न ६ वटा साहित्यिक पुरस्कार तथा सम्मान प्रदान गर्ने स्रष्टाहरुमा म्याग्दीका साहित्यकार ध्रुवलाल शर्मा पनि रहेका छन् । सङ्गमको आइतबार बसेको कार्यसमिति बैठकले सर्वसम्मत निर्णय गरी उक्त पुरस्कारहरुको घोषणा गरेको हो ।
पुरस्कार तथा सम्मानका लागि म्याग्दीका शर्मासहित पर्वतका शान्तिनारायण श्रेष्ठ, कृष्णादेवी शर्मा श्रेष्ठ, प्रकृति शर्मा, बागलुङका प्रेम छोटा र काजी रोशन रहेका छन् । १० हजार राशी रहेको पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार बागलुङका अग्रगन्य साहित्यकार प्रेम छोटालाई अर्पण गरिने भएको छ भने १० हजार राशीको मान–पदम स्मृति साहित्यिक पुरस्कार बागलुङकै अग्रज साहित्यकार काजी रोशनलाई समर्पण गरिने भएको छ ।
यसैगरी १० हजार राशीको डिल्ली–राधा साहित्यिक पुरस्कार पर्वतका अग्रगन्य स्रष्टा शान्तिनारायण श्रेष्ठलाई र १० हजार राशीकै नमुना शिक्षा तथा साहित्यिक पुरस्कार हाल नवलपरासीमा रहेर साहित्य साधनारत नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई अर्पण गरिने भएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।
१० हजार राशीको गोपी–नन्द स्मृति साहित्यिक पुरस्कार म्याग्दीका अग्रज साहित्यकार ध्रुवलाल शर्मालाई समर्पण गर्ने निर्णय भएको पर्वत साहित्य सङ्गमका सचिव खेमराज शर्मा चापागाईंले जानकारी दिए । यसैगरी पाँचहजार राशीको संस्कृति बालप्रतिभा पुरस्कार पर्वतका बालप्रतिभा प्रकृति शर्मालाई प्रदान गरिने भएको बताइएको छ ।