विश्वको इतिहास हेर्ने हो भने सहकारीताको आधुनिक परिभाषाका लागि सन १८४४ मा बेलायत पुग्नु पर्छ । तर त्यो भन्दा ४ सय वर्ष अगाडी नै सहकारीता र सहकार्यका लागि प्रयास गरेको देखिन्छ । हुन त मानिसले भन्ने र गर्ने फरक फरक नै हुने गर्दछ । तर अहिलेको अवस्थालाई नियाल्ने हो भने सहकारीता विना कुनै पनि कार्य गर्न सकिदैन र कुनै कार्य हुनै सक्दैन भन्दा पनि फरक नपर्ला । आधुनिक सहकारीलाई हेर्ने हो भने नेपालमा २०१३ साल भन्दा पछि नै सहकारीलाई संस्थागतरुपमा अगाडी बढाएको पाइन्छ । २०१३ साल चैत २० गते नेपालमै पहिलो पटक तनहुँका बखानसिंह गुरुङले चितवनको बखानपुर हालको सारदानगरमा बखान सहकारी स्थापना गरेका थिए । त्यही सहकारी स्थापनाको दिनलाई नै नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आइएको छ ।
नेपालको अवस्था हेर्ने हो भने सहकारी क्षेत्रको यति ठूलो नेटवर्क रहेको छ जसको कुनै तुलना हुनै सक्दैन । हालको अवस्थामा हेर्ने हो भने नेपालमा झण्डै ३४ हजार सहकारी संस्था दर्ता भएका छन् । त्यस्ता सहकारीहरुमा प्रत्यक्ष अप्रत्यक्ष गरी पाँच लाख नागरिकले रोजगारी पाएका छन् । यस्तो सहकारीलाई थप व्यवस्थीत गर्न त पक्कै पनि आवश्यक छ । नेपाल सरकारले नै तीन खम्बे अर्थनीति अन्तर्गत सरकार, नीजि क्षेत्र अनि सहकारी गरी तनि खम्बे अवधारणा ल्याएर कार्यान्वयनको पाटोमै गएको वर्तमान परिश्थितिमा सहकारीलाई व्यवस्थीत गर्ने र सहकारीता अनि सहकारीको मर्म र उद्देश्य अनुरुप सहकारी चल्ने हो भने नै सहकारीको बिकास विस्तार अनि राज्य र जनताको उपनि उन्नती हुने छ ।
नेपालमाा सहकारी स्थापना गर्ने र त्यसबाट शेयर सदस्यले मुनाफा कमाउने अर्थात् जसले सहकारी स्थापनाका समयमा धेरै शेयर हालेका हुन्छन् ती बाहेक अन्य उक कित्ता शेयर हालेर ऋण लिनेहरुले नपाउने प्रचलन ब्याप्त छ । काठमाडौंको ओरेन्टीयल सहकारीले हजारौं नेपालीको अर्बौं रुपैंया हिनामिना गरेको पनि ताजै अनुभव छ । नेपालमा सहकारी कै माध्यमबाट धेरैको उन्नती भएको मात्रै नभएर कयौंको ज्यानै गएको पनि उदाहरणहरु नभएका पनि होइनन् । तर सहकारीलाई सहि तबरले सदुपयोग गर्न सकेको खण्डमा देश र जनताको उन्नती हुनुका साथै स्वदेशमै केही गर्न सक्ने जनशक्तिका लागि पनि सहज हुने पक्कै छ । त्यसैले सहकारी भनेकै सहकार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै सँगसँगै मिलेर काम गर्दै सबैको उन्नती तर्फ लाग्नु नै उचीत हुने देखिन्छ ।