आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको बुधबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाले पत्रकार साधन राम्जालीको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति चयन गरेको छ । समितिको सदस्यहरुमा रञ्जना श्रेष्ठ, रश्मी रोकामगर, दर्पण रोकामगर, कविता कर्माचार्य, दलप्रसाद तिलिजा र हेना खड्का छन्त्याल रहेका छन् ।
भेलाले आगामी ६ महिना भित्रमा प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । प्रथम जिल्ला भेलासँगै म्याग्दी फोनिज ५५औं शाखाको रुपमा स्थापना भएको छ । भेलाको उद्घाटन गर्दै फोनिज केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हुमबहादुर गुरुङले आदिवासी जनजाति समुदायको क्षमता विकास र उत्थानका लागि स्वतन्त्र आवाजको रुपमा फोनिज पत्रकार महासंघ स्थापना भएको स्पष्ट पारेका थिए ।
उनले विभेदमा पारिएका जनजाति समुदायको भाषा, कला र संस्कृतिको उत्थान तथा राज्यको हरेक निकायलाई समावेशीमैत्री बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । जिल्ला संयोजक राम्जालीको अध्यक्षता, सञ्चारकर्मी समिर रोका मगरको स्वागत र सदस्य दर्पण रोका मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleमन्त्री थापाद्वारा पदमार्ग उद्घाटन
Next Article शर्मालाई गोपी–नन्द स्मृति साहित्यिक पुरस्कार दिइने