एजेन्सी- टीभी अभिनेत्री रूही सिंहले सोमवार रात बांद्रामा एक रेष्टुरेन्ट बाहिर हंगामा गरिन् । उनी विरुद्ध मुम्बई पुलिसले उजुरी गरेको छ । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
रिपोर्टका अनुसार रूही आफ्ना दुई साथी राजेश र राहुलसँग राति दुई बजे बांद्राको लिंकिंङ रोडमा रहेको एक रेष्टुरेन्टमा पुगिन् । रेष्टुरेन्ट राति बन्द भइसकेको थियो । तर उनले स्टाफलाई रेष्टुरेन्ट खोल्न आग्रह गरिन् । रूही रेष्टुरेन्टको वासरूम प्रयोग गर्न चाहन्थिन् । स्टाफले उनलाई भित्र जान नदिएपछि रूहीले हातपात गरिन् । राति भएको यस हंगामा पछि स्टाफले प्रहरीलाई फोन गरेर बोलाए ।
रिपोर्टका अनुसार जब पुलिस घटनास्थल पुग्यो, त्यसबेला अभिनेत्री र अन्य तीन जना बहस गरिरहेका थिए । सम्झाउन खोज्दा रूहीले प्रहरी हवल्दारलाई पनि हातपात गरिन् । यस घटनाको भिडियो बनाइरहँदा रूहीले हवल्दार लक्ष्मीकांतको मोबाइल खोसेर थप्पड हानेकी थिइन् । रूहीले अन्य दुई प्रहरी अधिकारीलाई पनि धकेलेकी थिइन् ।