रामशरण चिमौरिया
बिदाको समयको सदुपयोग गर्ने सबैका आआफ्नै तरिका हुन्छन् । छोटा छोटा बिदामा खानपिनमा रमाउने, फिल्म हेर्न जाने, साथीभाइ जमघट गर्ने तथा पारिवारिक भेटघाटमा रमाउने इत्यादि तर अलिक लामो बिदामा पछिल्लो समयमा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँमा घुमफिर गर्न जाने चलन अलिक बढ्दै गएको महसुस हुन्छ । अझ युवा पिँढीमा यो लहर बढी नै मौलाएको देख्न सकिन्छ । जसले गर्दा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै युवा वर्गमा नयाँ नयाँ ठाउँ भ्रमण गर्ने बानीको समेत विकास हुँदै गएको छ ।
दसैं तिहार जस्ता ठूला र धार्मिक हिसाबले महत्वपूर्ण चाडपर्वमा अलि लामै समय छुट्टी हुने हुँदा यस्तो बेला टाढा टाढा घुम्न जानेको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ । हामीले पनि यस वर्षको दसैं बिदालाई उपलब्धि मुलक बनाउने हिसाबले मुस्ताङसम्मको यात्रा तयार गर्ने निधो गर्यौँ । यो पंक्तिकार लगायत अरु छजना साथीहरु छलफलमा जुट्यौं । यातायातको माध्यम कुन प्रयोग गर्ने भन्ने विषयमा छलफल गर्दा मोटरसाइकलमा नै सम्भव छ भन्ने कुरा आएपछि हामिले मोटरसाइकलमा नै जाने निर्णय गर्यौँ ।
यात्रा सुरु हुने दिन हामी साथीभाइ जम्मा हुँदा करिब १२ बजिसकेको थियो । हाम्रो यात्रा काठमाडौंदेखि सुरु हुँदै थियो । थानकोट चेकपोस्टबाट चेक आउट हुँदा घडीले करिब करिब साढे बाह्रसम्मको सुई घुमाइसकेको थियो । हामीले यात्राको पहिलो दिन कम्तीमा पोखरासम्म बढीमा बेनीसम्मको यात्रा तयार गर्नुथियो । थानकोटको ओरालो झरिसकेर नौबिसेमा खाना खाएपछि यात्राले गति लियो । दसैंको बेला भएर होला सायद पृथ्वी राजमार्गमा सवारी साधनको खासै भीडभाड थिएन । तैपनि हामीले सुरुमै गति सिमित हुने निर्णय गरेका थियौं । बाइकको स्पिड साठीभन्दा माथि जाने छैन ।
करिब पाँच बजे हामी पोखरा पुग्यौं । बाटोमा आबु खैरिनीमा केहीबेर चिसो खानेबाहेक कतै अलमल गरेका थिएनौं । हामी काठमाडौंबाट ३ वटा बाइकमा ५ जना पोखरा पुगेका थियौं भने पोखराबाट अरु २ जना साथी थपिनुभयो । अब हामी चारवटा बाइकमा ७ जना भयौं । साझँ पर्न खोज्दै थियो तर यात्रा अघि बढाउने हिसाबले हामी अघि लाग्यौं । हेम्जा पुग्दा साँझ झमक्कै परिसकेको थियो । नौडाँडा, काँडे, लुम्ले हुँदै हामी नयाँ पुल झर्यौँ । सडकमा एकाध गाडीबाहेक प्रायः सुनसान नै थियो । रातिको ८ बजे हामी बेनी पुग्यौं ।
काठमाडौंबाट करिब २८० किलोमिटर यात्रा गरेर बेनी पुग्दा असाध्यै थकान महसुस भयो । हामी होटल खोज्नतिर लाग्यौं कालीगण्डकी वारि नै एत्लान्टिक होटलमा खाना र बस्ने व्यवस्था गरेर हामी केहीबेर स्थानीय पञ्चेबाजामा रमायौं । दसैंको बेलामा बेनीका हरेक पसलमा पञ्चेबाजा बजाएर नाचगान गरी रमाइलो गर्ने र पसले तथा होटेलवालाले पनि जो सकेको रुपियाँ बाजा बजाउने टोलीलाई दिने चलन काइदाको थियो । खाना खाएर हामी केहीबेर साथीमाझ भलाकुसारीमा व्यस्त भयौं । मानिसहरु भन्दै थिए बेनीमा होटल सबै प्याक भए । मान्छे अलपत्र परिरहेका छन् । वास्तवमा भन्ने हो भने त्यस दिन बेनीमा अलि भीडभाड नै देख्न सकिन्थ्यो । होटेलको कोठाबाट कालीगण्डकी सुसाएको आवाज कानमा प्रस्ट ठोकिन्थ्यो । त्यसमाथि आकाशबाट मुसलधारे पानि दर्किरहेको थियो । केही महिनाअघि म्याग्दीमा पहिरोले कालीगण्डकी थुन्दा बेनीमा मान्छेको भागाभाग भन्ने समाचार सुनेको थिएँ । त्यसै कारणले ठूलो पानी पर्दा मनमा अलिकति डर भने लागेकै थियो । तैपनि थकानले गर्दा निद्राले साथ दियो ।
भोलिपल्ट पाँचै बजे उठेर हामी हिँड्नका लागि तयारी भयौं । केही सामन बास बसेकै होटलमा राखेर हामी काली गण्डकीको पुल तर्यौँ, अबको हाम्रो यात्रा जोमसोमसम्मको थियो । बेनी बजारको कुनातिर रहेको गलेश्वर धामको दर्शन गर्दै हामी उकालो लाग्यौं । अघिल्लो दिन पानी परेको हुनाले बाटो असाध्यै हिलो र चिप्लो थियो । चिप्लो बाटोमा बाइक कुदाउन अफ्ठ्यारो हुने भएकाले हामी बिस्तारै अघि बढ्दै थियौं ।
हुस्सु र कुहिरोले पुरै पाखा पखेरा ढाकेको थियो । बिहानीको मौसम चिसो महसुस भइरहेको थियो । कालीगण्डकी उँधो बग्दै थियो । हामी उँभो लाग्दै थियौं । बाटोमा प्रायः पानी बगिरहेको देख्न सकिन्थ्यो । सानातिना झरना कालीगण्डकी पारि पाखामा प्रशस्तै देख्न सकिन्थ्यो । हरियाली वातावरणमा चराचुरुङ्गीको आवाज अनि कालीको गड्गडाहटले यात्रा रोचक बनाइरहेको थियो । बाटो साह्रै अफ्ठेरो थियो । कतै कतै बाटोको आकार मात्र देख्न सकिन्थ्यो भने कतै केही सहज थियो । बिदाको समय भएर होला सायद मुस्ताङ घुम्नका लागि हिँडेका मानिसहरु प्रशस्तै थिए । बाटोमा घुम्ती नै पिच्छे बाइकवाला देख्न सकिन्थ्यो । कतै कतै त ठूला खोला नै थिए तर पुल बेगरका । त्यस्तोमा बाइक पार लगाउन अलिक कठिन पथ्र्यो । बेनीबाट हिँडेको २ घण्टापछि हामी केहीबेर रोकियौं । सडक छेउको पिल्लरमा लेखिएको थियो– जोमसोम ५६ किलोमिटर अर्थात २ घण्टामा हामीले करिब १४ किलोमिटर मात्र बाटो छिचोल्न सफल भयौं ।
उकालो लाग्दै गर्दा म्याग्दीको तातोपानीमा केहीबेर रोकियौं । प्राकृतिक रुपमा जमिनभित्रैबाट तातो पानी अनवरत आइरहने यो प्राकृतिक स्रोतमा तातोपानीमा नुहाउन तथा पौडीखेल्न धारा र पोखरी निर्माण गरिएको रहेछ । हामी त्यहाँ पुग्दा निकैनै सङ्ख्यामा विदेशी पर्यटकहरु तातोपानीको आनन्द लिइरहेका थिए । उक्त जलकुण्डमा स्नान गरेमा शरीरमा रहेका विभिन्न चर्म रोग, बाथ तथा शरीर झमझमाउने रोगहरु निको हुने विश्वास लिइँदै आएको पाइन्छ । प्रचारप्रसारको अभावमा यस्तो महत्वपूर्ण स्थानको सही सदुपयोग नभएकाले बाह्य तथा आन्तरिक पर्यटकीय अवसरबाट यस स्थान ओझेलमा परेको प्रस्ट हुन्छ । हामी फर्केर आउँदा नुहाउने सल्लाह गर्दै अघि बढ्यौं ।तातोपानीबाट केहीमाथि पुगेपछि हामी खाजा खानका लागि रोकियौं । स्कुस र आलुको तरकारी, पुरी र चिया खाजा स्वरुप खाएर हामी ढिला नगरी अघि बढ्यौं ।
बाटो झन झन अफ्ठ्यारो थियो । सडक पहाडलाई खोपेर बनाएकाले गर्दा माथितिर डरलाग्दो भीर देखिन्थ्यो भने तलतिर कालीगण्डकी । साँघुरो बाटोमा अगाडिबाट गाडी आयो भने ठाउँ हेरेर साइड दिनुपर्ने । उकालोमा बाइकलाई निकै मुस्किल परिरहेको भान हुन्थ्यो । बाटोमा पल्सर, बुलेट, डुक र अन्य बाइक देख्न सकिन्थ्यो । केही बाइक बाटोमा बिग्रिएर अलपत्र परेका पनि देखिन्थ्यो । बिच बाटोमा पुगेपछि बाइकले धोका दियो भने घाँसा वा जोमसोम पुर्याउनु पथ्र्यो कि भने बेनी नै झार्नु पथ्र्यो । त्यसकारण अत्यन्तै सावधानीपूर्वक बाइक चलाउनुको विकल्प थिएन ।
उकालो लाग्दा लाग्दै मन अताल्लिएको बेलामा बाटोको छेउमै पर्ने रुप्से झरनाले जो कोहीको चोट केही छिनका लागि भुलाउँछ । सेतै भएर बगेको झरना अगाडि फोटो खिच्ने र सेल्फी लिनेको भीड राम्रै देख्न सकिन्थ्यो । हामी पनि केहीबेर झरनाको सुन्दरतामा रमायौं । फोटो खिच्यौं थकाइ बिर्सियौं । त्यसपछि उस्तै कहालीलाग्दो उकालो । उस्तै भीर सडक माथिबाट खस्ने उस्तै छाँगाहरु । केही गरी सडक छेउतिर खसियो भने चाहिँ नखोजीकन कालीगण्डकीमा फूलपाति चढाएर हिडेँ फरक नपर्ने खालको बाटो छ । बाटोमा बाइक बिग्रेर आपत पर्ला भन्ने सोचर हामीले क्लजको तार, एक्सिलेटरको तार, एक्स्ट्रा ट्युब र हावा भर्नका लागि हातेपम्प समेत साथमा लगेका थियौं ।
घाँसामा प्रहरी चौकीमा इन्ट्री गराएर हामी थाकखोला अनि लेते हुँदै अघि बढ्यौं । अब भने बाइकले गति लियो अर्थात बाटो अलि सजिलो महसुस भयो । करिब १ बजे मार्फा पुग्यौं । मार्फाबाट जोमसोम नजिकै रहेछ । जोमसोम पुग्दा २ बज्यो । जोमसोम ठूलो सहर सोचेको थिएँ तर सामन्य रहेछ । तर सबैथोक पाइने । जोमसोम बजारमै भएको एयरपोर्ट खाली थियो । हावाले बेला बेला मान्छे नै उडाउला जस्तो गर्दै थियो । जिन्दगीमा जोमसोमै बजारमा बाह्र बजे हावा सरर भन्ने गीत कति गुनगुनाइयो तर त्यस दिन आफैले अनुभव गर्न पाइयो । मुस्ताङको सदरमुकाम जोमसोम समुन्द्री सतहबाट २७०० मिटर भन्दा माथिको उचाइमा रहेको छ । जसले गर्दा यहाँ चिसो महसुस हुन्छ । हुन त हामीले लेतेबाट मास्तिर लाग्दै चिसो हावाको महसुस गरिसकेका थियौं ।
कालीगण्डकीको किनारमा अवस्थित यस बजारको उत्तरतिर अग्ला अग्ला नाङ्गा पहाड छन् भने कालीगण्डकी पारि पट्टि अर्थात दक्षिणतिर आँखै तिर्मिर हुने गरी टल्कने धौलागिरी हिमाल छन् । आँखै अगाडिको उक्त हिमालले जो कोहीको पनि मन लोभ्याउँछ । जोमसोम बजार उजाड भए पनि धौलागिरी हिमशृङ्खलाले जोमसोमको सुन्दरतामा निखारता ल्याउन मद्दत गरेको छ । त्यसमाथि बोटमा लटरम्म फलेका राता र सेता मुस्ताङे स्याउले जो कोहीको मुख रसाउँछ । हामी जोमसोमको होटेल फिस्टेल भ्युमा खाना खाएर केही बेर सुस्तायौं । हरियो रातो स्याउको स्वाद लियौं । बेनीबाट सात घण्टा लगाएर करिब ७० किलोमिटर यात्रा गरी जोमसोम आइपुग्दा ज्यान दुखेर घाइते भइसकेको थियौं । तैपनि जोमसोमको सुन्दरताले मोहनी लाउनाले थकान घटेको महसुस भयो ।
अबको हाम्रो यात्रा मुक्तिनाथसम्मको थियो । कालीगण्डकी नदीमा रहेको सानो काठको पुल तरेर कालीगण्डकीको बगरैबगर धुलो उडाउँदै हामी कागबेनीतिर दौडियौ । बाइक भएकाले काठको पुलबाट सम्भव भयो तर गाडीहरु नदीवाटै पार गराइरहेको देख्न सकिन्थ्यो । कागबेनीको झुलुङ्गे पुलमा केहीबेर मुस्ताङको हावासँग कावा खायौं । पुल नै चुडिने तालले हावा लाग्दै थियो । घाम लागिरहेकै थियो तर मौसम निकै चिसो थियो । हामी मुस्ताङका मरुभूमिको फोटो खिच्दै, डाँडापाखा नियाल्दै साँझमा मुक्तिनाथ पुग्यौं । बाटोमा च्याङ्ग्रा र ससाना गाई अनि केही घोडा तथा खच्चड चराएर गोठतिर फर्कंदै गरेको देख्न सकिन्थ्यो । गोठालाहरुको सेकक र सुईई आवाजले वास्तवमै मुस्ताङ यात्रामा मिठास थपिएको थियो । मुक्तिनाथ पुगेर होटेल खोज्दा साँझ झमक्कै परिसकेको थियो । भीडभाड बढेको हुनाले मुक्तिनाथमा होटेल पाउन अलिक गारो भयो । निकैबेर भौँतारिएपछि होटेल नाइटेङ्गेलमा बाँस पायौं । थकानले गर्दा हामी त्यस दिन छिट्टै निदायौं ।
भोलिपल्ट बिहान झ्याल खोल्ने बित्तिकै धौलागिरीको टुप्पोमा झुल्किएको घामको किरणले सम्पूर्ण साथीभाइको निद्रा हरायो । बाहिर असाध्यै चिसो थियो त्यसमाथि पानी छोइ नसक्नुको चिसो थियो । कात्तिकमा त यस्तो छ पुस माघमा कस्तो होला है । यहाँको पानी मैले सोध्न नपाउँदै होटेलको साउनीले जवाफ फर्काइन् । हिउँ परेर यहाँ बस्न सकिन्न हौ भाइ, हामी ऊ तल्तिर जोमसोम मार्फातिर झर्छौं । चैत वैशाखमा हिउँ पग्लेपछि उँभो लाग्ने हो । वास्तवमा भन्ने हो भने हामी एक दिन जानेलाई त्यहाँ उमङ्ग र उत्साह हो रातदिन त्यही गुजारा गर्नेलाई कति सकस छ कति । त्यस हिसाबले सोच्ने हो भने त्यहाँ हामीले तिर्ने खानाको र होटेलको खर्च खासै मँहगो हैन । त्यहाँमाथि हरेक होटेलले राजधानीका होटेलहरुभन्दा बढी सुविधा राखेका छन् ।
नित्यकर्म सकेर हामी मुक्तिनाथ मन्दिरतिर उक्लियौं । बजारबाट १० मिनेट हिँडेपछि मन्दिरको गेटमा पुगिन्छ । दुईतिर विशाल नाङ्गा पहाडले पहरा दिइरहेको जस्तो लाग्ने मुक्तिनाथ मन्दिर वरिपरि केही हरियाली देख्न सकिन्छ । गेटबाट खुड्किला उक्लिँदै मन्दिर जाँदै गर्दा बाटोको दुईतिर भएका पुराना ससाना माटोका मन्दिरले ध्यान खिच्न थाल्छन् । पछाडि फर्केर हेर्दा आँखै अगाडि हातले छोइन सकिने जस्तै गरी धौलागिरी हिम शृङ्खलाले मन पुरै लोभ्याउँछ । वर्षौंदेखि तस्बिरमा देख्दै आएको मुक्तिनाथको मन्दिरमा पुगेपछि मुस्ताङसम्म पुग्दा भोगेका कष्ट जोकोहीले बिर्सिन्छ । मन्दिरको पछाडि अनवरत रुपमा झरिरहेका १०८ धारा र मन्दिरको आँगनमा पैसा छाड्न र खोज्न बनाइएको पोखरीले मन्दिरको संरचनात्मक योगदानलाई साकार बनाएको छ । १०८ धारामा नुहाएर अगाडि पट्टिको पोखरीमा डुबेर आफूले सिक्का चढाउने र अरुले चढाएको सिक्का टिपेर मन्दिरको दर्शन गर्न सके मुक्ति पाइने जनविश्वास रहेको पाइन्छ ।
हामी धाराको जलसँग खेल्दै एकाध घण्टा लाइन बसेर मुक्तिनाथ बाबाको दर्शन गर्यौँ । अनि टीका ग्रहण गरेर केहीबेर फोटो खिच्न व्यस्त भयौं । हिजो म्याग्दी र मुस्ताङको उकालामा भेटिएका सहयात्री प्रसन्न मुद्रामा मन्दिर वरिपरि भुलिरहेका देख्न सकिन्थ्यो । बिहानीको चिसो त्यसमाथि हात खुट्टा कठ्याङ्ग्रिएर हामी धेरैबेर भने मन्दिरमा अडिन सकेनौं । बरु हतार हतार अलि तलतिर झर्यौं किनभने तल असाध्यै न्यानो घाम लागिरहेका थिए । मन्दिर अलि कुनातिर पर्ने भएकाले मुक्तिनाथ बजारमा भन्दा ढिला घाम लाग्दो रहेछ । बिहानका घाम असाध्यै पारिला थिए । मौसममा सफा थियो । हामीले घाम ताप्दै धित मरुन्जेल धौलागिरी हिमाल नियाल्यौं । फोटो खिच्यौं । हिमालको प्रशंसा गर्यौं । नेपालको गौरव सम्झ्यौं । अनि त्यतिमाथि उचाइमा चुईंचुईं भारी बोकेर पदयात्रामा मुस्ताङ पुगेका गोराहरु अनि मोटरसाइकलमा हुत्तिएर पुग्ने र फरक्क फर्किने यात्रीहरु बारेमा फरक छुट्याउने जमर्को गर्यौँ अनि बिस्तारै बजार झर्यौं । बजारमा तातो कफी र चौंरीको दूधबाट बनाइएको छुर्पीको स्वाद लिँदै केही पोका मुस्ताङ जिम्बु कोसेली बोकेर ओरालो झरयौं ।
फेरि कागबेनी, जोमसोम, मार्फा, लेते, घाँसा अनि तातोपानी हुँदै हामीलाई त्यस दिन कमसेकम बेनी ओर्लिनुथियो । भोलिपल्ट बाग्लुङ कालिकाको दर्शन गर्दै कुश्मा, पर्वतमा रहेको नेपालको सबैभन्दा अग्लो स्थानमा बनाइएको झुलुङ्गे पुल अवलोकन गर्दै कमसेकम पोखरा बस्ने लक्ष्य थियो । पोखराका केही महत्वपूर्ण स्थानको अवलोकन गरेर कम्तीमा आइतबार काठमाडौं पुग्ने लक्ष्य थियो । नभन्दै पूर्व निर्धारित ठाउँहरुको अवलोकन गर्दै बुधबार सुरु भएको हाम्रो यात्रा आइतबार काठमाडौं आएर टुङ्गियो ।
यात्रामा सहभागी मित्रहरू दिनेश घिमिरे, रन्जन खनाल, जागेन्द्र पौडेल, गौतम क्षेत्री, सुवास गिरी, हरिश चिमौरिया र पंक्तिकारसमेतको मुस्ताङ यात्रा टोली अपर मुस्ताङसम्म पुग्ने योजना बनाए पनि समय अभाव र बाटोमा पर्न सक्ने सवारीसाधनसम्बन्धी कठिनाइलाई मध्यनजर गर्दै सकुशल काठमाडौं आइपुग्यौं । मुस्ताङबाट केही ल्याउन नसके पनि बाचुन्जेल पुग्ने याद बोकेर आउन सफल भयौं । मुस्ताङलाई केही दिन नसके पनि केही समयका लागि मन उतै छाड्न सफल भयौं । अझ सबैभन्दा राम्रो पक्ष के रह्यो भने हामीले प्रयोग गरेका मोटरसाइकलबाट त्यति लामो यात्रा गर्दा पनि कहीँकतै धोका पाइएन । सम्पूर्ण साथीभाइले संयमता अपनाएकाले यात्रा असाध्यै सफल र यादगार रहन पुग्यो ।