म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लबले आफ्नो वडा भित्रका ३ जना अति विपन्न परिवारलाई जनही ५÷५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
लेखसाइड युथ क्लबमा आबद्ध युवाहरुले देश विदेशमा रहेका ज्यामरुककोटेहरुबाट सहयोग सङ्कलन गरी विभिन्न सामाजिक कार्यहरुका अतिरिक्त गरिब, बिरामी र बेसाहारा व्यक्तिहरुलाई सहयोग गर्ने भएका हुन् । गत सोमबार सम्पन्न दोस्रो महाशिवरात्री मेलाबाट बचेको रकम वडाका तीनजना अति विपन्न परिवारलाई जनही ५÷५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय भएको लेखसाइड युथ क्लबका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
थापाका अनुसार आफ्ना छोरा बुहारीले २ जना नातिसहित छोडेर गएपछि बेसाहारा बनेकी जमुना विकलाई पाँचहजार, गत असोजमा घरलिप्ने रातो माटो खन्ने क्रममा मड्किनोमा पुरिएर मृत्यु भएकी कल्पना बोहोराको परिवारलाई पाँचहजार र बेनपा–२, गौश्वारा निवासी भद्रबहादुर किसानको परिवारलाई पाँचहजार सहयोगको निर्णय गरिएको र सो रकम छिटै पीडितका परिवारलाई उपलव्ध गराइने उनले बताए ।
युवा क्लबमा आबद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्देश्यले गाउँमा खेलमैदान र युवा क्लबको आफ्नै भवन समेत निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको दुईलाख र बाँकी श्रमदान गरेर प्याराफिटसहितको खेलमैदान निर्माण गरेको अध्यक्ष थापाले जानकारी दिए ।
अध्यक्ष थापाले दिएको जानकारी पाँच दिनसम्म सञ्चालन भएको महाशिवरात्री मेलामा रत्यौली गीत प्रतियोगिता, छेलो फ्याँक्ने, लठो तान्ने, खुल्ला भलिबल लगायतका प्रतियोगिताहरु आयोजना गरिएको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट करिब पाँचलाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष थापाले बताए । ‘आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुसीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट स्वतस्फुर्त रुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ’ अध्यक्ष थापाले भने, ‘यसबाट हामीलाई झन हौसला मिलेको छ ।’
Previous Articleनेपाली महिला समुहओमन द्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवसमा ओमनवासी नेपालीलाई चुले निम्तो
Next Article गुणस्तर बढाउन विभिन्न सामग्री सहयोग