शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो ।
लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा कुसन र दुईवटा बस्ने बेन्च गरी १० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । यसैगरी लायन्स क्लब अफ बेनी महारानीले एक÷एक थान मिकासा भलिबल, जाली र पम्प तथा स्किटिङ तीनवटा गरेर पाँचहजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ ।
त्यस्तै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, कार्यपालिका सदस्य दुर्गा कार्की बानियाँ, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल र महिला उद्यमी अम्बिका श्रेष्ठले १२ हजार रुपैयाँ बराबरको साउण्ड सिस्टम एक थान हस्तान्तरण गरेका छन् । त्यस्तैगरी अक्सफोर्ड पुस्तक पसलका प्रोप्राइटर सन्तुकुमारी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा २५ सय रुपैयाँ बराबरको बालशिक्षाका विद्यार्थीलाई किताब, कापी, पेन्सिल र इरेजर सहयोग गरेकी छिन् । नगर कार्यपालिका सदस्य गौरी थापामगरले एकहजार पाँचसय रुपैयाँ बराबरको फुटबल एक थानसहित बोर्डमार्कर र मसी सहयोग उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
यसैबीच विद्यालयका पूर्व विद्यार्थी प्रताप बानियाँले आफ्नो स्वर्गीय हजुरआमा गौमती बानियाँको सम्झनामा विद्यालयलाई अक्सफोर्ड डिक्सनरी र बृहत नेपाली शब्दकोष एकएक थान, हाँजिरी रजिष्टर, जिन्सी खाता, डायरी तथा कापीकलम सहयोग गरेका थिए । उक्त सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्री र प्रधानाध्यापक नारायण शर्मालाई हस्तान्तरण गरिएको थियो ।
सामग्रीहरु सहयोग हस्तान्तरण गर्दै उपप्रमुख बरुवालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एक भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा महिला उद्यमी सुनिता केसी, बेनी महारानीका अध्यक्ष हिरा शर्मा र विद्यालयका पूर्व विद्यार्थी प्रताप बानियाँले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमको अवसरमा विद्यालयका पूर्व विद्यार्थी झलकबहादुर खत्रीले आफ्ना बुबा दलबहादुर खत्रीमार्फत विद्यालयलाई नगद पाँचहजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, प्रअ नारायण शर्माको सञ्चालन र शिक्षक सञ्जय कुँवरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleयुवाहरुद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग
Next Article आमा समूहलाई एकीकृत गर्दै नगरपालिका