आर्थिक वर्ष २०१७–१८ मा भारतको सत्तारुढ पार्टी भाजपाले ५.५ अर्ब भारु चन्दा रकम अज्ञात स्रोतहरुबाट संकलन गरेको छ । यो रकम कांग्रेस, बहुजन समाज पार्टी(बसपा), राष्ट्रवादी कांग्रेस पार्टी(एनसीपी), तृणमूल कांग्रेस र भारतीय कम्युनिष्ट पार्टी(सीपीआई)लाई प्राप्त कुल चन्दाभन्दा चार गुणा बढी हो ।
भारतमा पार्टीले प्राप्त गरेको २० हजार भारुभन्दा कम चन्दा रकमलाई अज्ञात चन्दा मानिन्छ । किनकि प्राप्तकर्ता पार्टीहरु यी चन्दा दाताहरुको पहिचान उजागर गर्न बाध्य हुँदैनन् । चुनाव सुधारमा काम गर्ने संस्था एसोसिएशन फर डेमोक्रेटिक रिफर्म (एडीआर)का अनुसार भाजपालाई अज्ञात स्रोतहरुबाट प्राप्त चन्दा उपरोक्त सबै ६ पार्टीहरुले सन् २०१७–१८ मा प्राप्त गरेको कुल ६.८९ अर्ब भारु चन्दाको ८० प्रतिशत हो ।
एडिआरले अज्ञात स्रोतबाट यी ६ पार्टीहरुलाई प्राप्त गरेको चन्दाको गणना पार्टीहरुद्वारा दायर आयकर रिटर्नको आधारमा गरेको थियो । एडिआरको रिपोर्ट अनुसार कांग्रेसले यो आर्थिक वर्षमा १.१९ अर्ब भारु चन्दा संकलन गर्यो । उक्त रकम ६ पार्टीहरुलाई प्राप्त कुल चन्दाको १७.४ प्रतिशत हो ।
यहि आर्थिक वर्षमा बिएसपीलाई १० करोड ६७ लाख भारु र एनसीपीलाई ५ करोड ३७ लाख भारु र सीपीआईलाई सबैभन्दा थोरै ३० हजार भारु चन्दा प्राप्त भयो । एडीआरले आफ्नो रिपोर्टमा सीपीएमलाई प्राप्त चन्दा सामेल गरेको छैन । उक्त पार्टीले आयकर विभाग समक्ष आवश्यक दस्तावेज पेस नगरेकाले यसो गरिएको हो ।
एडीआरले अज्ञात स्रोतहरुबाट प्राप्त चन्दाहरुलाई विभिन्न श्रेणीहरुमा राखेको छ । यिनमा स्वच्छिक सहयोग, निर्वाचन बोण्ड, कूपनको बिक्रीबाट प्राप्त र विविधि चन्दा श्रेणीहरु छन् । निर्वाचन बोण्ड अज्ञात तरिकाबाट चन्दा लिने वित्तीय पत्र हो । यसलाई सन् २०१७–१८ को बजेटबाट नरेन्द्र मोदी सरकारले सुरु गराएका हुन् ।
भाजपालाई प्राप्त कुल चन्दाको ठूलो हिस्सा अर्थात २.१ अर्ब भारु निर्वाचन बोण्डबाट आएको छ । कांग्रेसलाई ५ करोड भारु यही बोण्डमार्फत प्राप्त भएको छ । यो महिनाको शुरुमा एडीआरले एक अर्को रिपोर्ट जारी गरेको थियो जसमा राजनीतिक दलहरुबाट प्राप्त हुने २० हजारभन्दा बढीको चन्दाको विश्लेषण गरिएको थियो ।
उक्त रिपोर्टमा यी ज्ञात स्रोतहरुबाट प्राप्त चन्दाको पनि ठूलो हिस्सा भाजपाको हिस्सामा गएको देखिएको थियो । भाजपाले ज्ञात स्रोतबाट कुल ४.६९ अर्ब भारु प्राप्त गरेको छ । यो निर्वाचन आयोगका पार्टीहरुद्वारा बताइएको चन्दाको ९३ प्रतिशत हो ।
ताजा रिपोर्टमा एडीआरले भारतका राष्ट्रिय पार्टीहरुलाई प्राप्त चन्दाको तुलना गरेको छ । यो रिपोर्टमा निर्वाचन आयोगलाई दिइएको ज्ञात स्रोतहरुको जानकारी, अन्य ज्ञात स्रोतहरुबाट प्राप्त चन्दा र अज्ञात स्रोतहरुबाट प्राप्त चन्दालाई समीक्षा गरिएको छ ।
भाजपालाई सम्पत्तिको बिक्री, सदस्यता शुल्क, बैंक ब्याज र साहित्यको बिक्रीबाट १.३६ अर्ब भारु प्राप्त भएको छ । यो संयुक्त विश्लेषणबाट भारतीय राजनीतिक पार्टीहरु यो आर्थिक वर्ष प्राप्त चन्दाको सटिक जानकारी प्राप्त हुन्छ ।
एडीआरको रिपोर्टअनुसार आर्थिक वर्ष २०१७–२०१८ मा भाजपाको आय १०.२७ भारु छ । यो रकमको ५३ प्रतिशत हिस्सा अज्ञात स्रोतहरुबाट आएको छ । एडीआरको पछिल्लो रिपोर्टमा बताइए अनुसार बीएसपीले निर्वाचन आयोगलाई उसले विगत १२ वर्षमा आफूले २० हजार भारुभन्दा बढीको चन्दा कहिले पनि प्राप्त नगरेको बताएको छ ।
आफ्नो ताजा रिपोर्टहरुमा बीएसपीले सन् २०१७–१८ मा उसलाई ५१ करोड ६९ लाख भारु चन्दामा प्राप्त भएको बताएको छ । यसको २० प्रतिशत अज्ञात स्रोतहरुबाट आएको छ । एनसीपीको आयको ६५ प्रतिशत हिस्सा अज्ञात स्रोतहरुबाट आएको देखिन्छ । यो पार्टीको कुल आय ८ करोड १५ लाख भारु छ ।
तृणमुल कांग्रेसको कूल आम्दानी ५ करोड १६ लाख भारु छ, जसको २ प्रतिशत अज्ञात स्रोतहरुबाट आएको छ । त्यस्तै सीपीआईको कुल आम्दानी १ करोड ५५ लाख भारु छ । त्यसमा १ प्रतिशतभन्दा कम अज्ञात स्रोतहरुबाट प्राप्त भएको छ ।
६ राष्ट्रिय पार्टीहरुको कुल १२.९३ अर्ब भारुको चन्दामा ५३.३२ प्रतिशत अज्ञात स्रोतहरुबाट आएको छ । यसमा भाजपाको कूल आय, सबै ६ राष्ट्रिय दलहरुको कूल आम्दानीको ८० प्रतिशत छ ।