म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माणकार्य सुरु गरेको जनाएको छ । बेनी नगरपालिका–७, मंगलाघाटमा निर्माण हुन लागेको भवनको सोमबार संस्थाका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले एक कार्यक्रमका बीच संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । एक करोड रुपैयाँको लागतमा चारतले भवन निर्माणकार्य आगामी २०७६ साल मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको संस्थाका प्रवन्धक धु्रवराज सुवेदीले जानकारी दिएका छन् ।
म्याग्दीकाली सञ्चार सहकारी संस्थामार्फत म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्ज, म्याग्दीकाली केबुल नेटवर्क र इन्टरनेट सेवा प्रदान भैरहेको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्था हाल बेनीको न्युरोडस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । म्याग्दीमा एफएम, दैनिक तथा साप्ताहिक पत्रिका र अनलाइन सञ्चालनमा छन् ।
Previous Articleमगर विद्यार्थी संघको संगठन विस्तार
Next Article महिला उद्यमीहरुको आयोजनामा माघेसङ्क्रान्ति मेला सुरु