परम्परागत रुपमा मनाइँदै आएको माघेसङ्क्रान्ति मेला यसवर्ष पनि म्याग्दीमा महिला उद्यमीहरुको आयोजनामा मनाउन सुरु गरिएको छ । कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण गर्ने उद्देश्यसहित महिला उद्यम विकास समितिको आयोजनामा सोमबारदेखि माघेसङ्क्रान्ति मेला सञ्चालन गरिएको हो ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको मूल आयोजना र जिल्लास्थित स्थानीय तहहरुको सह–आयोजनामा माघेसङ्क्रान्ति मेला लगाइएको छ । ‘नेपाली संस्कृतिको संरक्षण गरौं, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने माघेसङ्क्रान्ति मेलाको नारा तय गरिएको छ । दुई दिनसम्म चल्ने मेलामा म्याग्दी जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिनुका साथै बिक्री वितरण गरिने बताइएको छ ।
स्थानीय उत्पादनहरुको प्रचारप्रसार तथा बजारीकरण गर्न माघेसङ्क्रान्ति मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो । मेलामा म्याग्दीमा उत्पादित सिस्नोको पाउडर, टिम्मुरको चट्नी, मुनाको धजरा, जौ तथा फापरको पिठो, भाङ्गो, भटमास लगायतका थुप्रै स्थानीय उत्पादन र ढाका कपडाका उत्पादनहरु प्रदर्शनीमा राखिएको छ । म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइरहेको सन्दर्भमा भ्रमण वर्षलाई समेत सघाउन आयोजित माघेसङ्क्रान्ति मेलामा जिल्लास्थित विभिन्न जातजातिहरुले आ–आफ्नो मौलिक भेषभूषा प्रर्दशन गरेका छन् ।
भ्रमण वर्षको अवसरमा आयोजित मेलामा ओझेलमा रहेका जिल्लाका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको फोटो तथा भिडियो प्रर्दशनी र प्रचारप्रसार गरिने जनाइएको छ । एकल नृत्य प्रतियोगिता, खुल्ला लोकगीत प्रतियोगिता, महिला÷पुरुष अन्धनिशान, छेलो तथा लठो तान्ने प्रतियोगिताहरु आयोजना गरिएको उक्त मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकको भनाइ छ ।
माघेसङ्क्रान्ति मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेकी छिन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा म्याग्दी महोत्सव आयोजना गर्दै आइरहेको छ भने महिला उद्यम विकास समितिले सडक खाना महोत्सव र माघेसङ्क्रान्ति मेलाको आयोजना गर्ने गरेको छ । मेलाको अवसरमा अल्लो कपडा उद्यमी मनकुमारी पुन, हिरा जुग्जाली र कराँतेमा स्वर्णपदक विजेता निर्मल केसीलाई दोसल्ला ओढाई सम्मानपद्वारा सम्मान गरिएको छ ।
Previous Articleभवन निर्माणमा म्याग्दीकाली सहकारी
Next Article जित्न सकेन घरेलु टोलिले