बागलुङ, ८ कात्तिक – विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको पाँचौं दिन आइतबार २७ लाख १९ हजार २ सय ६० रुपैयाँ संकलन भएको छ ।
महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार उल्लेखित रकममध्ये १३ लाख ७५ हजार १ सय ८० नगद संकलन भएको छ । यस्तै वाक्दान अन्तर्गत बानपा–४ का जयन्ती हार्डवयरका दशरथ श्रेष्ठले जग्गा दान गरेका छन् । उनले १ आना १ पैसा २ दाम बराबरको जग्गा दान गरेका छन् ।
सो जग्गाको मूल्य १० लाख ७५ हजार भएको महासचिव डिल्लीराज गौतमले जानकारी दिए । श्रेष्ठले १ लाख ७५ हजार ५ सय २५ रुपैयाँ रकम पनि प्रदान गरेको छन् ।
यस्तै बानपा ३ का भीमसेन श्रेष्ठले १ लाख ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । महायज्ञमै व्यवसायी नवीन खड्काले आमा धर्मकुमारी खड्काको तर्फबाट मामाली हजुरबा नैनसिंह भण्डारी र हजुरआमा ईश्वरी कुमारी भण्डारीको स्मृतिमा १ लाख ५ हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।
महायज्ञमा पूर्वविद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम पनि सम्पन्न भएको छ । पुर्नमिलन कार्यक्रमका संयोजक बाबुलाल शाक्यका अनुसार ४५ सालदेखि ५० सालसम्मका विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम गरिएको थियो ।
महायज्ञका कार्यक्रम बिहान ५ बजेदेखि राति ११ बजेसम्म संचालन भइरहेको विद्यालयले जनाएको छ ।
१ हजार ८ शालिग्राम दर्शन, पञ्चेबाजामा भजनकीर्तिन लगायतका कार्यक्रमहरु भएका छन् । महायज्ञ कार्तिक १० सम्म संचालन हुनेछ ।
Previous Articleलोकमान सिंहपछि, लोकतन्त्र निलम्बित
Next Article बौद्व बिहारको लागि प्रवासीको सहयोग