बालकृष्ण सुवेदी
बागलुङ, ८ कात्तिक – जिल्लाको रिघा गाविसमा निर्माणाधिन बौद्ध बिहारका लागि प्रवासी नेपालीले लाखौं सहयोग गरेका छन् । एनआरएन युरोप संयोजक सोम सापकोटाको नेतृत्वमा संकलित २२ लाख ८० हजार १ सय २१ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
आईतबार बागलुङ बजारमा आयोजित एक कार्यक्रममा एनआरएन युरोप संयोजक सोम सापकोटाले उदय रिघा बौद्ध बिहारका अध्यक्ष शेरबहादुर काउचालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अभियानकर्ता सापकोटाले जिल्लाको धार्मिक पर्यटन प्रर्वदनका लागि आफुले अभियान चालेको बताए । उनले भने, ‘रिघाको पर्यटकिय र रमणिय स्थलमा निर्माण गर्न लागिएको बौद्ध बिहार स्थलमा राम्रो धार्मिक पर्यटनको सम्भावना छ, त्यसैले प्रवासमा अभियान चलाईएको हो ।’
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बागलुङ जिल्ला पर्यटकिय दृष्टिले महत्वपुर्ण भएकाले पर्यटकिय पुर्वाधार निर्माण गर्न सके जिल्लाबासीको आयआर्जनमा बृद्धि हुने बताए । बैदेशिक रोजगारीको क्रममा प्रवासमा रहेका जिल्लाबासीको आम्दानीको केहि हिस्सा पर्यटन क्षेत्रमा लगानी गर्न सके जिल्लाको भविश्य उज्वल रहने प्रजिअ पाण्डेले बताए ।
२०६८ सालदेखि स्थानिय बौद्ध अनुयायी शेरबहादुर काउचाको नेतृत्वमा रिघा बौद्ध बिहार निर्माणको अभियान थालिएको थियो । हालसम्म गाबिस, जिल्ला विकास समिति, पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय तथा ब्यक्तिगत सहयोगबाट प्राप्त करिब १५ लाखको लागतमा जग्गा ब्यबस्थापन र स्तुपा निर्माण गरिएको छ ।
बिहारमा गजुर राख्न, चैत्य निर्माण, पोखरी, पार्किङ स्थल, आश्रम, धम्महल, पिकनिक स्पोर्ट लगाएतका संरचना निर्माण गर्न करिब १ करोड खर्च लाग्ने समितिले जनाएको छ । रिघा–१ स्थित उच्च रमणिय स्थलमा उदय रिघा बोद्ध बिहार पुण्य स्थलको निर्माण सकिए लगत्तै धार्मिक पर्यटकको आकर्षण बन्ने समितिले अपेक्षा गरेको छ ।
Previous Articleमहायज्ञको पाँचौ दिन २७ लाख संकलन
Next Article समृद्व नेपालका लागि एमालेः नेता थापा