आमिर खानले फिल्म ठग्स अफ हिन्दोस्तान बक्स अफिसमा फ्लप भएको विषयमा पहिलोपटक प्रतिक्रिया दिएका छन् ।
आमिरले सोमवार मिडियासँग कुरा गर्दै भने, ‘फिल्म ठग्स अफ हिन्दोस्तान दर्शकहरूलाई मन परेन । म यसको पूर्ण जिम्मेवारी लिन्छु । हामीहरू गलत रहेछौं । हामीले कोशिश त राम्रै गरेको हो । तर कतै न कतै हामी चुक्यौं ।’
तर केही मानिसलाई फिल्म मन पनि परेको हो ।
आमिरले ती मानिसलाई धन्यवाद दिँदै भने, ‘फिल्म मन पराउने केही मानिसलाई धन्यवाद दिन्छौं । तर ती मानिस एकदमै कम छन् । धेरैजसोलाई फिल्म मन परेन । हामीले यो सत्य स्वीकार गरेका छौं । कतै न कतै हामी चुक्यौं । म यसको पूर्ण जिम्मेवारी लिन्छु ।’
आमिरले थपे, ‘दर्शकहरू एक आशाका साथ फिल्म हेर्न गएका थिए । म उनीहरूसँग माफी माग्छु । मैले उनीहरूलाई मनोरञ्जन दिन सकिनँ । मलाई यसमा खेद लागेको छ ।’
अमिताभ बच्चन, कट्रिना कैफ र आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तान नोभेम्बर ८ मा रिलिज भएको हो ।
फिल्मले पहिलो दिन कमाइको रेकर्ड तोड्यो । उसले पहिलो दिन ५२ करोड भारु कमायो ।
तर त्यसपछि उसको कमाइमा आरोलो लाग्यो ।
आज १९ दिनमा आइपुग्दा फिल्मले १५० करोड भारु बल्लबल्ल कटाएको छ ।
बलिउडको सबभन्दा महंगो यो फिल्म बनाउन ३०० करोड भारु खर्च गरिएको थियो तर त्यो पैसा उठ्ने लक्षण देखिएको छैन ।
एजेन्सी