मंगल ग्रहबारे विस्तृत अध्ययन गर्न नासाले पठाएको रोबोट मंगलबार बिहान मंगल ग्रहको सतहमा उत्रिएको छ। मंगलको विस्तृत अध्ययन गर्न नासाले करिब सात महिनाअघि मेमा रोबोट पठाएको थियो।
४५.८ करोड किलोमिटर दूरी पार गरेर रोबोट मंगल ग्रहको सतहमा उत्रिएको हो। रोबोट मंगल ग्रहको भूमध्य रेखा नजिकैको एलिसियम प्लानिसिया नामक एक फराकिलो मैदानमा उत्रिएको छ। यसलाई वैज्ञानिकहरू मंगलको सबैभन्दा ठूलो पार्किङ क्षेत्र भनेका छन्।
अब यो रोबोटले रातो ग्रह उपनामले चिनिने मंगलको जमिनभित्र के छ भनी खोजी गर्नेछ। मंगल ग्रहबारे धेरै जानकारी जुटाउने उद्देश्यले रोबोट पठाइएको हो।
रोबोटले आफू अब काम सुरू गर्न तयार भएको सन्देश पृथ्वीमा पठाएको छ। सूर्यको प्रकाशबाट चार्ज हुनका लागि रोबोटसँग आफ्नै सोलार प्यानल छ। नासाका इनसाइट प्रोजेक्ट म्यानेजर टम हफम्यानले भने- अब इनसाइटले आरामसँग काम गर्न सक्छ। उसले आफ्नो ब्याट्री चार्ज गरिरहेको छ।
यस्ता छन् अहिलेसम्म थाहा भएका मंगल ग्रहबारेका तथ्य
मंगल ग्रह सौर्य मण्डलमा भएकामध्ये सूर्यबाट चौथो टाढाको दूरीमा छ। मंगल र सूर्यबीचको दुरी १४.२ करोड माइल छ भने सूर्य र पृथ्वीको दूरी ९.३ करोड माइल छ।
पृथ्वीको तुलनामा मंगल ग्रह झन्डै आधा सानो छ। पृथ्वीको व्यास ७,९२६ माइल छ भने मंगलको व्यास ४,२२० माइल छ। तौल भने पृथ्वीको भन्दा मंगलको दश गुणा बढी छ।
सूर्यको परिक्रमा गर्न मंगललाई ६८७ दिन लाग्छ। यसका आधारमा पृथ्वीभन्दा झन्डै दोब्बर समय लगाएर मंगलले सूर्यको परिक्रमा गर्छ। यहाँ ६८७ दिनको एक वर्ष हुन्छ।
मंगलमा एक दिन (जसलाई सोलार डे भनिन्छ) २४ घन्टा ३७ मिनेटको हुन्छ। जीवनका लागि मंगलको भौगोलिक अवस्था राम्रो भएको मानिन्छ। यद्यपी यहाँ थुरथुर काम्ने जाडो, धुलो भरिएको आँधी पृथ्वीभन्दा धेरै हुन्छ।
गर्मीमा तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्छ भने जाडोमा शुन्यबाट घटेर माइनस १४० डिग्री सेल्सियससम्म पुग्छ। पृथ्वीमा जस्तै मंगलमा पनि वर्षमा चार ऋतु हुन्छन्। सूर्यलाई घुम्न लामो समय लाग्ने भएकाले यहाँ ऋतु पनि पृथ्वीभन्दा दुई गुणा लामो समय चल्छन्।
पृथ्वीभन्दा मंगल ग्रहको गुरूत्वाकर्षण फरक छ। पृथ्वीमा १०० पाउन्ड तौल भएको व्यक्ति मंगलमा जाँदा ३८ पाउन्डको हुन्छ। मंगलसँग दुईटा चन्द्रमा छन्, फोबोस र डेमियोस। फोबोसको व्यास १३.८ माइल छ भने सानो डेमोयोसको व्यास ७.८ माइल छ।
पृथ्वीजस्तै मंगल पनि चार पत्रमा बनेको छ। तर मंगलको बनौटबारे विस्तृत अध्ययन भइसकेको छैन।
मंगल ग्रहको वायूमण्डलमा झन्डै ९६ प्रतिशत कार्बनडाइअक्साइड छ। १.९३ प्रतिशत आर्गन र ०.१४ प्रतिशत अक्सिजन र २ प्रतिशत नाइट्रोजन छ। न्यूनमात्रामा कार्बनमोनोअक्साइड पनि पाइएको छ।