बागलुङ, १ कात्तिक – ६ बर्ष अघि गाउँलेले ६० लाख रुपैयाँ नगद चन्दा र श्रमदान खर्चेर बनाएको सडक मर्मत खर्च अभावमा हरेक बर्ष बर्षातमा अवरुद्ध बन्दै आएको छ । गत बर्षातदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।
सदरमुकाम देखि ३४ कोष पश्चिमको तमान जोड्ने ‘ओखरबोट, सोलेडाँडा, लाम्मेला तमान’ सडकमा सवारी चल्न नसक्दा स्थानीयले पैदल हिड्न बाध्य भएका छन् । उनीहरुले म्याग्दीको दरवाङदेखि खाद्यान्न खच्चरमा बोकाएर लैजान बाध्य छन् ।
सिधा यातायात नजोडिएकोले बुर्तिवाङ देखि खुंगा हुँदै तमान पुग्ने सडक निर्माणको क्रममा छ । ट्रयाकले तमान जोडिएपनि यतिबेला खुंगा सम्म मात्र नियमित सवारी चल्न सक्छन् । तमानमा म्याग्दीको दरवाङ देखि ओखरबोट पुगेको सडकलाइ गाउँलेले चन्दा उठाएर जोडेका थिए । १६ किमी सडक मर्मत गर्दा लागेको ऋण अझै तिरेर नसकेको स्थानीयको गुनासो छ । अहिले उनीहरुले सदरमुकाम आउन एकतर्फी एक हजार पाँचसय रुपैयाँ सवारी भाडा तिरेर थप चारघण्टा पैदल हिड्न बाध्य भएका छन् । म्याग्दी तर्फको बाटो आएपनि ५ देखि ६ घण्टा पैदल हिड्न बाध्य भएको तमान ४ की दुर्गा बुढा मगरले बताइन् । बिहान ७ बजे हिडेर दिउसो १ बजे मात्र दरवाङ आइपुगेको उनले बताइन् ।
गाउँलेले सामान्य आम्दानी भएकालाइ ५ हजार र अन्यलाइ ५० हजार रुपैयाँ सम्म चन्दा लगाएर उक्त सडक बनाएका थिए । मर्मतका लागि जिविसले विनियोजन गरेको २० हजार रुपैयाँले मर्मत नपुग्ने भएपछि काम अगाडि बढ्न नसकेको स्थानीय जोकलाल बुढाले बताए । ‘बागलुङ तर्फको बाटो तिहार सम्म खुलाउने प्रयास गर्दैछौं’ उनले भने, ‘बजेट नभएपछि स्थानीयले श्रमदान र चन्दा समेत लगाउनुपर्ने भएको छ ।’ म्याग्दी तर्फको बाटो भने हिउद लागेपछि मात्र संचालन हुने अनुमान छ । दूइ जिल्लाको सिमाना भएकोले दुवै तर्फको बजेटमा उपेक्षा परेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला भित्रबाट यात्रा गर्दा ज्यादै महंगो परेपछि उनीहरुले म्याग्दी तर्फ सडक जोडेका थिए । ‘२२सय देखि २६ सय मीटर उचाइ भएकोले तरकारी फलाएपनि स्थानीय बासिन्दा चामल र दाल भने शहरबाटै ढुवानी गर्न बाध्य छन् । विनियोजित रकम लिनका लागि समेत सदरमुकाम आउजाउमा हजारौं खर्च हुने भएपछि स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन् । सोलेडाँडा दुइ जिल्लाको सिमानामा रहेको अग्लो र अनकन्टार पहाड हो । उक्त पहाड पार गरेर चन्दाकै भरमा बनाइएको बाटोमा हिउदमा मात्र ट्रयाक्टर र जीप चल्दा खाद्यान्न ढुवानी गर्न पाइन्छ । ‘हामीले भारी खेपेर खान बाध्यछौं जिल्लाबाट चासो दिएको पाईदैन’ उपभोक्ता समितिका अध्यक्ष तिलबहादुर सिउठानीले भने,‘जनताको रगत पसिना बगेको सडकलाइ राज्यले सौतेनी व्यवहार गरेको छ ।’