डा. जयराज आचार्य
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जुन त्रिपक्षीय संयुक्त भेट भएको खबर र तस्वीरहरू सार्वजनिक भएका छन्, यस्तो खालको भेट यसअघि भएजस्तो लाग्दैन । त्यस अर्थमा यसलाई दुर्लभ भेट नै मान्नुपर्छ । यस्तो खालको भेट संयोग पनि हुनसक्छ । ‘डिजाइन’ पनि हुनसक्छ । तर मलाई यो भेट नेपालको पहलमा भएजस्तो लाग्दैन । भारत र चीनको पहलमा भएको जस्तो लाग्छ किनभने भारत र चीनको सम्बन्ध बढ्दो छ ।
ब्रिक्स पनि भारत र चीन बढी सक्रिय भएको सम्मेलन हो । गोवामा भइरहेको उक्त सम्मेलनकै सन्दर्भमा भएको यो त्रिपक्षीय वार्ताबाट खासगरी भारत र चीनले छिमेकमा एक आपसमा सहयोगको वातावरण बनाइरहेका छन् भन्ने सन्देश विश्व समुदायलाई दिन खोजेको हुनसक्छ ।
त्यस्तो सन्देश प्रवाह गर्दा यी दुवै देशको सामर्थ्य अझै बढ्ने र शक्तिशाली देशको रूपमा चिनाउन सहयोग पुग्ने समान दृष्टिकोण भारत र चीनको हुनसक्छ । चीन र भारत शक्तिशाली मुलुक हुन् । शक्तिशाली मुलुकले कतिपय गतिविधि कमजोर मुलुकलाई थाहै नदिई सम्पन्न गर्छन् । जस्तो यो भेटमा पनि भारतीय पक्ष वा चिनियाँ पक्षले नेपालका प्रधानमन्त्रीलाई थाहा नदिएको हुन सक्छन् ।
भारतीय पक्षले चिनियाँ पक्षलाई नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भइरहेको छलफलमा भारतीय प्रधानमन्त्री प्रवेश गर्ने कुरा पहिले नै जानकारी गराएको हुनसक्छ । जानकारी नै नगराई अप्रत्याशित र अनपेक्षित रूपमा भारतीय प्रधानमन्त्री भेटघाट चलिरहेको बैठक कक्षमा प्रवेश गर्ने कुरै आउँदैन । त्यस्तो सम्भव नै हुँदैन ।
भारतीय पक्षले चिनियाँ पक्षलाई दाहाल र सि जिनपिङबीच भेटघाट चलिरहँदा प्रधानमन्त्री मोदी प्रवेश गर्नसक्ने कुरा पहिले नै जानकारी गराएको अवश्य हुनुपर्छ । किनभने प्रधानमन्त्री मोदी अप्रत्याशित र अनपेक्षित रूपमा बैठकमा प्रवेश गर्ने कुरा आउँदैन ।
शक्तिशाली देशले आफूले चाहेको गरेरै छोड्छन् । र कमजोर देशलाई कतिपय सन्दर्भमा जानकारी समेत गराउँदैनन् वा गराउन आवश्यक ठान्दैनन् । कमजोर देश त्यस्तो परिस्थिति भोग्न बाध्य पनि हुन्छन् । त्यस्तो बाध्यता कमजोर देशहरूका सामु हुन्छ । जस्तै, कालापानीको मुद्दामा पनि चीन र भारतीय पक्षबाट नेपाललाई सोध्ने काम भएन । भारत र चीनका अधिकारीबीच जे जति कुरा हुन्छन् ती सबै विषयमा नेपाललाई जानकारी दिइरहनुपर्छ भन्ने जरुरी छैन, त्यो तपाईंहरूले अेपक्षा पनि नगर्नुहोस् भनेर धेरैपटक नेपाली अधिकारीहरूलाई चीन र भारतका अधिकारीले भन्ने गरेको मैले पाएको छु । स्पष्ट भाषमा चीन र भारतका अधिकारीले नेपाली अधिकारीलाई त्यो भन्ने गरेको मैले सुनेको छु ।
अब जहाँसम्म नेपालका प्रधानमन्त्रीलाई उनले चिनियाँ राष्ट्रपतिलाई भेटिरहँदा भारतीय प्रधानमन्त्री मोदीको प्रवेश हुने÷नहुने सम्बन्धमा पूर्वजानकारी गराइएको थियो कि थिएन भन्ने सवाल छ, हाम्रा प्रधानमन्त्री फर्कनासाथ मिडियाले यो प्रश्न उनीसँग सोध्छ होला । र प्रधानमन्त्रीले नै त्यसको यथार्थ जानकारी गराउँदा राम्रो हुन्छ ।
यो भेटमा अर्को एउटा अर्थपूर्ण सन्दर्भ र सन्देश पनि छ । त्यो हो चिनियाँ राष्ट्रपतिले लगाएको रातो रंगको ज्वारीकोट । प्रधानमन्त्री मोदी पनि ज्वारीकोटमै देखिनुहुन्छ र चिनियाँ राष्टपतिले पनि रातो रंगको ज्वारीकोट लगाउनुभएको छ । यो अर्थपूर्ण छ । यसलाई सामान्य रूपमा लिन मिल्दैन ।
चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री मोदीले जस्तो किन ज्वारीकोट लगाए ? त्यसले अर्थ राख्छ । चिनियाँ राष्ट्रपतिले ज्वारीकोट लगाएर उपस्थित हुनुभएको उल्लेखनीय कुरा हो । हाम्रा प्रधानमन्त्रीले पनि राष्ट्रिय पोशाक लगाउनुभएको भए राम्रो हुन्थ्यो । यो भेटको दीर्घकालीन महत्व वा प्रभावको कुरा गर्दा त्यो खासगरी भविष्यले देखाउने नै छ । तर चीन नेपाली भूभागलाई छिचोलेर भारतसम्म सडक सञ्जाल विस्तार गर्न र जोड्न चाहन्छ ।
त्यसो गर्दा चीनलाई नेपालको साथ चाहिन्छ नै । भारत र चीनबीच एक आपसमा धेरै कुरा अघि बढिरहेका छन् । यस अर्थमा चीन र भारत कुनै न कुनै हिसाबले नेपाललाई साथमा लिएर अघि बढ्न खोजिरहेका देखिन्छन् । त्यस अर्थमा जुन त्रिपक्षीय भेट भयो यसलाई अस्वाभाविक र अनपेक्षित पनि भन्न मिल्दैन । नेपाल भारत र चीनबीचको आपसी सहयोग र समन्वयमा हुने विकास निर्माण र आपसी सहयोग एवं समन्वयमा यो त्रिपक्षीय भेट प्रस्थान विन्दु पनि हुनसक्छ ।
(संयुक्त राष्टसंघमा नेपालका स्थायी प्रतिनिधि (राजदूत) भएर काम गरेका परराष्ट्रविद् डा. जयराज आचार्यसँग गरेको कुराकानीमा आधारित)
दाहाल, सि र मोदीबीचको वार्ता ‘डिजाइन’ हुनसक्छ-परराष्ट्रविद् आचार्य
Previous Articleधान ढल्यो, कृषक चिन्तित
Next Article मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन