रुप्से दैनिक/‘आजको बचत, भोलिको आधार’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन एवं संस्था स्थापना दिवसको अवसर पारेर सहकारीमा आबद्ध ज्येष्ठनागरिक र शेयर सदस्यका मातापितालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नन्दप्रसाद बुढा, धनमाया पुन, चन्द्रप्रसाद श्रेष्ठ, मनकुमारी राम्जाली, बिलबहादुर थापामगर, हसुलीकुमारी श्रेष्ठ, पार्वतीकुमारी श्रेष्ठ, भद्रकली थापा, रुपीमाया थजाली, शान्तिनारायण श्रेष्ठ, सन्तप्रसाद बज्राचार्य र दलप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुलाई सहकारीका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष राजेश शाक्य, सल्लाहकार नैनकुमार श्रेष्ठ र मिना चोखालले फुलमाला लगाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सहकारीका प्रवन्धक लोकबहादुर पुन लोकेशलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । त्यस्तै साधारणसभाको अवसरमा सहकारीले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरु गरेको डेढ करोड अक्षयकोष पु¥याउने अभियानमा नगद दुईलाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संस्थाले २५ हजार र अध्यक्ष शाक्यले एकलाख ७५ हजार थपेर सहयोग गरेको सहकारीले जानकारी दिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहेका श्रेष्ठले सहकारीमार्फत युवा स्वरोजगारका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । उनले स्वदेशमै रोजगारको सिर्जना गरी युवालाई उद्यमी बनाउनुपर्ने बताउँदै बढ्दो विदेश पलायनलाई रोक्नुपर्ने बताए । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष शाक्यले सहकारीले आर्थिक तथा सामाजिकसहित विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक कारोबार बढाएको बताएका थिए ।
कुल १९२ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड २१ लाख ९७ हजार ८००, लगानी २८ करोड ६८ लाख २३ हजार ३४४ र बचत २५ करोड ८४ लाख ८४ हजार ५८९ रुपैयाँ रहेको छ । सहकारीले कृषि, व्यापार, पशुपालन, वैदेशिक रोजगार, गृह निर्माणलगायत सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष सुन्दरकुमार शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिएभने सल्लाहकार नैनकुमार श्रेष्ठ, शेयर सदस्य मिना राम्जाली र सम्मानित व्यक्तित्व शान्तिनारायण श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत, सचिव विनय श्रेष्ठको सञ्चालन र कस्तुरी मनी ट्रान्सफर प्रालिका अध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।
Previous Articleजनकल्याण माविमा अभिभावक भेला
Next Article रितुङ माविमा अस्थायी टहरा निर्माण