रुप्से दैनिक
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला, सामाजिक लेखापरीक्षण, प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गत शैक्षिक सत्र २०७४÷७५ को लेखा परीक्षण सार्वजनिक गरी अनुमोदन गरिएको छ । विद्यालयका लेखा शिक्षक यामप्रसाद श्रेष्ठले एक करोड तीनलाख ६० हजार रुपैयाँ बराबरको आम्दानी एवं खर्चको विवरण सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले प्रगति र शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर बानियाँले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बेनी नगरपालिका–५ का अध्यक्ष लक्ष्मण बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभिभावक बलराम बानियाँ, टिकाराम दर्जी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा प्रथम त्रैमासिक परीक्षामा सहभागी कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, शिक्षक रेशम बानियाँको सञ्चालन र शान्ति शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको पुलाचौरबाट विद्यालयका शिक्षक चिरञ्जीवी सुवेदीले जानकारी दिए ।