रुप्से दैनिक
उत्तरी म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका–८, दुलेखर्कस्थित रितुङ माध्यमिक विद्यालयमा अस्थायी टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थायी टहरा बनाइदिएका हुन् ।
वन जङ्गलको काठ र त्रिपालको प्रयोग गरेर चारवटा अस्थायी कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिए । सदरमुकाम बेनीबाट पौडेलको नेतृत्वमा गएका १५ जना विद्यार्थी, स्थानीयवासी र युवा क्लबका पदाधीकारीहरुले बुधबार संविधान दिवसको अवसरमा श्रमदान गरेर अस्थायी कक्षाकोठा भवन निर्माण गरेका हुन् ।
भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रितुङ माविको तीनवटा भवनको सातवटा कक्षाकोठा र शौचालय बगाएको थियो । भवन बगाएपछि दुई हप्ताका लागि बन्द भएको पठनपाठन सूचारु गराउन अस्थायी टहरा निर्माण गरिएको हो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् ।
यसैबीच बाढी र पहिरो प्रभावित दुलेखर्क, खरिबोट, घ्याँसीखर्क, दुवाडी क्षेत्रको स्थलगत अनुगमन र स्थानीयवासीहरुको समस्याको बारेमा जानकारी लिन प्रदेश सांसद विनोद केसीको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । सांसद केसी, जिसस प्रमुख देवेन्द्र केसी, वडा अध्यक्ष गमान छन्त्यालको टोली जिल्ला विपद् व्यवस्थापन समितिको राहत सामग्रीसहित कुईनेमङ्गलतर्फ गएको हो ।