म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्लामा दुर्घटनाको न्यूनिकरण तथा ट्राफिक नियम पालनामा विद्यार्थीको सहकार्यलाई मध्यनजर गरी जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सोमबार क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीलाई लक्षित गरी नियमका बारेमा जानकारी गराएको हो ।
१८ औ अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा जिल्ला यूवा समितिको आयोजना गरेको कार्यक्रममा ट्राफिक कार्यालय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले नियमका पालना गर्न, सडक पेटी वा छेउबाट हिँडडुल गर्न, हतारमा सडक पार नगर्ने, सडकमा खेल्न नहुने, सवारी साधनको छतमा नबस्ने, सवारीसाधनको पछाडी बसेर यात्रा नगर्ने, बेनीबजारमा रहेको जेब्रा क्रसको प्रयोग लगाएत विविध विषयमा जानकारी गराएका थिए।
बढ्दो सवारी साधन दुर्घटना न्यूनिकरणको एक मात्र विकल्प ट्राफिक नियमको पालना भएकाले विद्यार्थीको सक्रियताले नियमनको पालनामा दवाव दिन सकिने पाठकको भनाई थियो । जिल्लाभित्र हुने दुर्घटनामा अधिकांस मोटरसाईकल तथा जरिवाना समेत मोटरसाईकलबाट हुनै गरेको बताइएको थियो । कार्यक्रममा जिल्लामा ट्राफिक सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यका बारेमा समेत विद्यार्थीलाई जानकारी गराइएको क्याम्पसका सहायक प्रमुख श्रीधर सुबेदीले बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दल बहादुर थापाले ट्राफिक नियमका बारेमा जानकारी हुन आवश्यक रहेको बताएका थिए । ग्रामिण क्षेत्रमा ट्राफिक प्रहरीको अनुपस्थितीमा विद्यार्थीले जनचेतनामुलक कार्यक्रमहरु मार्फत समेत समुदायलाई सचेत बनाउन सकिने बताउँदै विद्यालयस्तरमा समेत कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमको अध्यक्षता यूवा समितिका अध्यक्ष देविप्रसाद शर्माले गरेका थिए । जिल्लामा जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक व्यवस्थापन गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यार्थी, यातायात व्यवसायी, सवारीचालक र सर्वसाधारणलाई लक्षित गरेर ट्राफिक नियमबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।