अमेरिकाले जापानको शहर हिरोशिमा र नागासाकीमाथि दोस्रो विश्वयुद्धमा गरेको परमाणु बम आक्रमण सम्झेर युद्धपीडितहरू अहिले पनि तर्सिने गरेका छन् ।
अमेरिकी वायुसेनाले सन् १९४५ को अगस्ट ६ तारिखमा हिरोशिमामा बम खसालेको थियो । त्यसको तीन दिनपछि नागासाकीमा पनि बम खसाइएको थियो ।
नागासाकीमा बम खसाउनुको कारण थियो अमेरिकाका एक मन्त्रीको हनीमून ।
अमेरिकाका युद्धमन्त्री हेनरी एल स्टिमसनले अन्तिम समयमा क्योटोको ठाउँमा नागासाकीलाई बमको लक्ष्य बनाउने स्वीकृति दिएका थिए । क्योटोमा उनले हनीमून मनाएकाले त्यो शहरप्रति उनको लगाव थियो । त्यसैले उनले क्योटोलाई बम खसाल्ने शहरको सूचीबाट हटाइदिएका थिए ।
परमाणु बम एक बमवर्षक विमानमा जापानसम्म लगिएको थियो । विमानको नाम थियो एनोला गे ।
अमेरिकी वायुसेनाले बमबाहेक विमानमा साइनाइडका १२ चक्की राखेको थियो । जापानविरुद्ध अमेरिकाको यो मिसनका पाइलटहरूलाई भनिएको थियो – केही गलत भएमा वा शत्रुले पक्रेमा सबैले साइनाइडको चक्की खानुपर्थ्यो ।
परमाणु बमलाई जोडजाड गर्न सजिलो हुँदैन । अलिकति मात्र गल्ती हुँदा पनि त्यो बम अमेरिकामै विस्फोट हुन सक्थ्यो । त्यसैले शत्रुको क्षेत्रमा पुगेर बमलाई जहाजमा जोडजाड गरिएको थियो ।
अमेरिकाले जापानका शहरमाथि आक्रमण गर्ने योजनाअनुसार सूची बनाएकोमा नागासाकीको नाम थिएन । सूचीमा कोकुरा, हिरोशिमा, योकोहामा, निगाटा र क्योटो थिए । पछि क्योटोको ठाउँमा नागासाकी राखियो ।
एजेन्सी