नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय नियम अनुसार सञ्चालन गर्नुपर्ने बेला भएकोले वित्तीय क्षेत्र वैदेशिक नियमानुसार चल्नुपर्नेमा जोड दिएका छन् ।
आर्थिक पत्रकार समाज सेजनले नेपाल फाइनान्स रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) बारे छलफमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय क्षेत्रको पारदर्शिता नै अहिलेको अपरिहार्यता भएको बताएका हुन् । उनले भने, ‘आगामी दिनमा सम्पूर्ण नयाँ विधि अनुसार बैंकहरू चल्नुपर्छ । बैंकहरूले प्रतिवेदन साधारण, सरल, सहज भाषामा तयार पार्नुपर्छ । पत्रकारले पनि अनि मात्र समाचार स्पष्ट बुझिने भाषामा लेख्दा सर्वसाधारणले समेत बैंकको रिपोर्टिङ पाउँछन् ।’
एक प्रसङ्गमा गभर्नर नेपालले बैंक र व्यवसायीहरूले समयअनुसार कुरा फेर्ने गरेको बताए । नेपालले भने, ‘पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र अधिक तरलताको अवस्था व्यहोरे । दुबै परिस्थतिमा व्यवसायी र बैंकर दुवैले परिस्थिति अनुकुल कुरा मात्रै गरिरहे । बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरेपनि व्यवसायीले लगेनन् । अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गर्दैछन् । यो प्रवृत्ति समेत फेरिनुपर्छ ।’
कार्यक्रममा नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ब्याजदर घट्न चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म कुर्नुपर्ने भएकाले निक्षेपको ब्याजदर पनि घट्ने संकेत गरे । उनले भने, ‘ऋणको ब्याज घट्ने भन्दैमा घटी हाल्ने होइन समय चाहिन्छ ।’