भैरव रिसाल
अहिलेजस्तो एक दिनमै दशैंको सबै तयारी गरौंला भन्ने हुँदैनथ्यो त्यो बेला । उमेर पुगेका मान्छेलाई दशैंको चटारो हुन्थ्यो । नौरथा लागेदेखि फूलपातीसम्म घरका सबै मान्छे ब्यस्त हुन्थे । दशैंमा चिउरा कुट्ने चलन हुन्थ्यो । चिउरा कुट्ने मिल त पछि आएको हो । त्यसबेला उर्गल भन्थे, एकदम मोटो काठको एकातिर ओखल खोपेर त्यसैमा चिउरा कुटिन्थ्यो । उसिनेको धानलाई हाँडीमा भुटेर ओखलमा घान हाली लुसीले चिउरा कुट्ने चलन थियो । ढिकीमा काठको मुसल हालेर पनि चिउरा कुटिन्थ्यो । धान अहिलेजस्तो धेरै हुँदैनथ्यो । दशैंमा चिउराका लागि किसानहरु घैया खेती गर्थे । बारी फल्ने धानजसतै हुन्थ्यो घैया । हामी केटाकेटीलाई सबैभन्दा बढी दशैंमा चिउरा कुट्ने र त्यो चिउरा कहिले खान पाइएला भन्ने ब्यग्रता बढी नै हुन्थ्यो । चिउरा भनेको उत्कृष्ठ खाना थियो । भर्खरै कुटेको मगमग बास्ना आउने चिउरा खुब मीठो पनि हुन्थ्यो ।
दशैं आएपछि गाउँमा कमेरोले घर पोत्न थाल्थे । गाँउका घर सेतै कमेरोले टल्किन थालेपछि दशंै आएको थाहा हुन्थ्यो । चिउराको बास्ना पनि आउन थालेपछि दशैं झनै नजिक आएको थाहा हुन्थ्यो । घरमा चिउरा भित्र्याउँदा केटाकेटी फुरुङ्ग पर्थे । चिउरा भित्र्याउने काम प्रायः नौरथाको समयमा हुन्थ्यो । नेवारका घरमा ओखल हुन्थे, त्यसलाई फिही भन्थे । त्यही ओखलमा घर घरका मान्छेले पालो लगाएर चिउरा कुट्थे । ओखलमा चिउरा कुट्ने पनि सिप चाहिन्छ । त्यो एउटा कला नै हो । एउटा ओखलामा दुई जना मान्छेले मुस्ली चालेले आवाज निकालेर चिउरा कुट्थे । एउटाले उचालेको बेला अर्कोले त्यसमा कुट्नु पर्ने । हरेक सेकेण्डको ताल मिलाएर ओखलबाट धान उचाल्ने र अर्काेले मुस्लीले कुट्ने गर्थे । कस्तो कला हुन्थ्यो भने मुस्ली नठोकाइकन काम गर्ने आमा दिदीहरुको त्यो सिप साँच्चै हेर्न लायकको हुन्थ्यो । मलाई त्यो चिउरा कुट्दा आउने आवाज पनि लाग्थ्यो । नौरथा लाग्दा लाग्दै चिउरा घरमा भित्रिसक्दा पनि फूपातीमा नचढाइकन खान पाइन्नथ्यो । घरमा मगमग बास्ना आउने चिउरा खाने दिन हामी मुख मिठ्याउँदै कुथ्र्याैं । चिउरा कुट्ने धान उसिन्नु पथ्र्याे । केटाकेटीहरु दशैं आएको खुसीमा बाबुआमालाई त्यस्ता काममा सघाउँथे ।
मेरो गाँउ भक्तपुरको दधिकोट हो । भक्तपुरको नालाछाप भन्ने ठाँउमा मामाघर थियो । घरबाट दश, बाह्र किलोमिटर टाढा पर्छ मामाघर । मामा घर जाँदा हामी हिंडेर जान्थ्यौं । दशैंमा सबै भन्दा खुसीे नयाँ लुगा लगाउने, मासु खाने, मामाघर जाने कुराले लाग्थ्यो ।
मामाघर जाँदा बाटोमा भक्तपुर सहर पथ्र्यो । शहर भनेको दुई चार घर बढी थिए त्यत्ति हो । त्यहाँ मिठाइ पसल पाइन्थ्यो । मन फुरुङ्ग हुथ्यो । मिठाई पसलमा दुई पैसाको पेडा पाइन्थ्यो, त्यसको स्वाद अहिले पनि मेरो मुखमा छ । मामा घरमा टीका लगाएर दुई पैसा दिनुहुन्थ्यो । त्यो दुई पैसा कति हो कित ठूलो हुन्थ्यो । टीका लगाएर दक्षिणा दिने बेला हामी केटाकेटीका आँखा पैसातिर लाग्थे । जव टीका लगाएर दुई पैसा दिन्थे गोजी नै भरिएजस्तो लाथ्यो । त्यो बेला चाँदीका डबल हुन्थे । एक पैसा तामाको हुन्थ्यो ।
त्यो समयमा लुगा किन्ने भनेको दशैंमा एक पटक मात्रै हो । लुगा किनेर ल्याएपछि गाउँमा दमाईलाई चटारो हुन्थ्यो । दशैंका बेला सबैले लुगा किन्ने भएकाले अर्को चटारो खप्ने भनेको दमाईंले नै हो । गाँउमा एकजना दमार्इं हुन्थे । ती त्यो गाँउको सबैका बालीघरे हुन्थे । सबैका लुगा एकै पटक सिलाउनु पर्ने हुनाले सिलाउन भ्याउन्नथे । हामीलाई दशैंमै नयाँ लुगा लगाउनु पर्ने । नयाँ लुगा किनेर ल्याएपछि दमाईं दाइको घरमा धर्ना नै बस्न जान्थ्यौं हामी । आज गयो, सिलाईसकियो दमाई दाइ, भनेर सोध्यो । उनले सिलाएको छैन भन्थे । फेरि एक छिनमा गयो । यसैगरी छिन छिनमा गएर त्यो लुगाको रेखदेख गरिन्थ्यो । कहिले काही दशैंमा दमाई दाइले लुगा सिलाउन नभ्याएर हामी पुरानै लुगा लगाएर रुँदै रुँदै मामा घर जान्थ्यौं ।
दशंैको बेला हामी केटाकेटी अति नै स्वतन्त्र महसु गथ्र्याैं । दगुर्ने, रमाउने त्यो समयमा मलाई बुबाले नौरथा लागेपछि जजमानकोमा नवमीसम्म पूजा गर्न पठाउनु हुन्थ्यो । साथीहरुलाई छोडेर पूजा गर्न जानु मलाई सबै भन्दा बढी पीडा महसुस हुने कुरा थियो ।
हाम्रोमा पिङ हाल्ने चलन थियो । पिङ हाल्न गाँउका सबै जुट्थे । एउटा बस्ती एउटा पिङ हुन्थ्यो । पिङ हाल्ने समयमा गाँउका दाइ दिदीहरु जम्मा हुन्थे । कसैले बाँस ल्याउने, कसैले बाबियो ल्याउने कोही बाट्ने । कोही काम्रो बनाउने र सबै मिलेर पिङ हाल्ने गथ्र्याैं । पिङमा सबैले खुट्टा राख्नु पर्छ भनेर गाँउका सबैजसो त्यहाँ पुग्थे ।
मामा घर जाँदा टीका लगाउन आउनेजाने मान्छे बाटोमा अलि अलि भेटिन्थे । अहिले गाडी छन् सहरमा, त्यसबेला गाडी थिएनन् । साइकल चाहीँ कसै कसैले कुदाउँथे । त्यो देख्दा पनि हामी कसरी कुदाएको होला भनेर परसम्म आँखाले देखुञ्जेल हेर्न जान्थ्यौं । अहिलेको रकेट जस्तै थियो साइकल त्यो बेला । रेडियो त २००७ साल पछि मात्र आएको हो । अहिले सम्झन्छु , गोर्खापत्र पनि हप्ताको दुई दिन छापिन्थ्यो । त्यसैले बाहिर के हुँदैछ त्यो कुरा मान्छे मान्छे हुँदै सुनिएर आउँथे । पत्रिका पढेर थाहा पाउने जमाना त्यो थिएन ।
त्यो बेला दशैंको समयमा हैजा आएर मान्छे धेरै मरेको मलाई थाहा छ । एउटै घरमा तीन चार जना सम्म मर्थे । मान्छेहरु अत्यधिक खान्थे, त्यसैले दशैंको समयमा नै हैजा ल्याउँथ्योे । त्यो बेला चर्पी भन्ने कसैका घरमा थिएनन् । सार्बजनिक ट्वाइलेट हुने कुरै भएन । काठमाडौमा पनि बाटो बाटो जताततै दिशा पिसाब हुन्थ्यो । यसैले हैजा ल्याउँथ्यो र मान्छे भटाभट दशैंकै समयमा मर्थे । एउटा घाट लगेर आएको छैन फेरि अर्को मर्ने यस्तो अबस्था पनि आएको म सम्झन्छु ।
अहिलेको काठमाडौं सहर भएको सबै फाँटमा धमनबाली हुन्थ्यो । अलि ढिलो दशैं परेको वर्ष फाँट खाली हुन्थ्यो । धानका निहिन सुकाइएको र पराल सुकाइएको काठमाडौंको फाँट ज्यादै राम्रो देखिन्थ्यो । असन, ज्याठा, ठमेललाई मात्र सहर भनिन्थ्यो । डिल्लीबजारतिर घर भएकाहरु मेरो घर पर गाँउमा हो भन्थे ।
त्यसबेला हामी च्याङग्राको मासु खान्थ्यौं । हिमाली क्षेत्र र तिब्बत तिरबाट भोटेहरुले च्याङग्रा लिएर आउँथे । रानीपोखरी भएको ठाँउमा ठूलो चौर थियो । त्यही चौरमा आ–आफ्ना च्याङ्ग्रा भकारी बनाएर बेग्ला बेग्लै रङ लगाएर बेच्न राख्थे । बेला बेला ल नम्बर लाग्यो भनेर मान्छे कराउँथे । त्यो भन्या एउटा खसीको होल सेलमा यति भनेर मोल तोक्ने हो । बबुवाले आठ मोहरमा एउटा च्याङ्ग्रा लगेको मलाई थाहा छ । फेरि केहीबेरमा ल ६ मा भर्यो भनेर मान्छे कराउँथ्यो । त्यसरी च्याङ्ग्रा बेच्ने चलन थियो ।
बिबाह गरेपछिको हाम्रो दशैं पनि खुब रमाइलो थियो । त्यो बेला पनि म सानै थिएँ । त्यसबेला पोलिस्टर आएको थिएन । हर्बना, खाँडी, फलाटिनको लुगा हुन्थ्यो । केटीले त्यही कपडाको माथिदेखि तलसम्म छोप्ने जामा जस्तो घाँघर भन्ने लगाउँथे । पछि पछि हुँदै गएपछि बाक्लो खालको सारी लगाउँथे । त्यसपछि माथि लगाउनेको नाम आएन । तल फ्रक लगाएर त्यसभित्र सुरुवाल जस्तो लगाउँथे । त्यसपछि त लगाउने कुरा के के आयो के के ।
केटाहरुले चाहीँ दौरा सुरुबाल स्टकोट र पटुका बाँध्ने चलन थियो । पटुका त सबैले बाँध्थे । पछि कमिज सुरुवाल लगाउन थाले । त्यसपछि पाइजामाको चलन आयो । तर, त्यो धेरै फुमार्सी कुरा थियो । पाइन्ट त धेरैपछि हिजो अस्तीको कुरा हो । २०२० सालतिर मात्र हो । चप्पल लागाइन्थेन । छालाको जुत्ता हुन्थ्यो । त्यो पनि नेपाली छालाको जुत्ता । त्यसलाई तीनदेखि पाँच मोहोेर पथ्र्यो । धेरै गरिवले त त्यो पनि लगाउन सक्दैनथे । त्यो जुत्ताले दुखाउँथ्यो । ससुराली जाँदा घरबाट निस्कने बेलामा जुत्ता लगाएर निस्के पनि बाटोमा गएर खोल्ने अनि ससुराली पुग्ने बेलामा मात्र लगाउने गर्थे । सबैले ससुराली पुग्ने बेला मात्रै जुत्ता लगाउँथे । त्यसबेला जुत्ता लगाउन दिनु भनेको सजाय दिनु जस्तै थियो ।
सार्कीले काँचो छालाबाट जुत्ता बनाउँथे । सबैले जुत्ता किनेर लगाउन सक्ने कुरा भएन । धेरै त खाली खुट्टा नै हिंड्थे । अहिले भन्यो भने होइनहोला जस्तो हुन्छ । तर त्यो जुत्ता नलगाउनु चाही सजिलो हुन्थ्यो । जुत्ताले काटेर खुट्टा रक्ताम्मे हुन्थ्यो । र पनि लगाउनु पर्ने हुन्थ्यो ।
जाडो बढीसकेको हुन्थ्यो । तर पनि हामी पिङमा रातीसम्म हुन्थ्यौं । केटी–केटी, केटा–केटा दोहोरी पिङ खेल्थे । हाम्रो समयमा पिङमा केटा र केटी दोहोरी खेल्ने चलन थिएन । माया पिरती लगाउनेहरु पनि आँखा जुधाएर आँखाको चालले कुरा गर्थे । गाँउ सानो भए पनि पिङमा चाहीँ ठूलो हल्ला खल्ला हुथ्यो । साँच्चै भन्दा सबैतिरका समाचार सुन्ने ठाँउ पिङ हुन्थ्यो ।
फलफूल काठमाडौमा पनि पाइन्थ्यो । तर, फलफूल खाने चलन धेरै पछि आएको हो । पछि पनि बिरामी बाहेक अरुले फलफूल खाने चलन थिएन । कसैकोमा टीक लगाउन जाँदा घरमा भएकै कुरा नभए घरमै उब्जिने दाल चामल कोसेली बोकेर जान्थे ।
पहिले र अहिलेको दशैंमा आकाश जमिन फरक छ । पहिले गाँउमा सबैले बराबरी दशैं मान्थे । कसैको घरमा दशैं मान्ने पैसा र खाने कुरा छैन भने गाँउका अरु सबै मिलेर सहयोग गर्थे । तर अहिले मान्छे आफू बाहेक अरुको मतलव गर्दैनन् । अहिले त दशैं आफ्नो रवाफ देखाउने चाड भएको छ । यो असी नब्बे बर्षमा मान्छेमा परिर्बतन आएको एउटै कुरा भनेको स्वार्थ हो । अरु सबै उस्तै छ ।
(वरिष्ठ पत्रकार भैरव रिसालसँग पत्रकार बिनु पोखरेलले ८० वर्ष अघि उनको वाल्यकालीन समयमा मनाइने दशैंबारे गरेको कुराकानी)
Previous Articleस्मृति : नयाँ जीवनको खोजी
Next Article २५ बुँदे दिल्ली सहमतिको आठ बामपन्थीद्वारा विरोध