ईश्वर पोखरेल
रत्नसितको मित्रतासँगै मैले जीवनलाई नयाँ किसिमले बुझ्न थालेको थिएँ । रत्नसित सँगै बस्नथालेपछि उहाँले आफ्नो जीवनसित गाँसिएका थुप्रै घटना–प्रसङ्ग सुनाउनुभएको थियो । आफ्नो पारिवारिक पृष्ठभूमि र वर्ग–स्रोत, आफ्ना पिताको पुलिस सेवा र व्यारेकको जीवन, त्यहाँ आफूले प्राप्त गरेको प्रारम्भिक शिक्षा र आधारभूत सुरक्षा सम्बन्धी तालिमको जानकारी, पिताले अवकाश प्राप्त गरेपछिको अवस्था, घरायसी दुःख–पीडा, आमा र भाइ–बहिनीले गर्नुपरेको मिहिनेत, आफू स्वयं पनि पढाइका लागि धरानका आफ्नै नाता पर्नेको घरमा कामदारका रूपमा रहेर गर्नुपरेको दुःख, त्यहाँ सहनुपरेको अपमान र त्यसलाई सहन गर्न नसकेर गरेको आत्महत्याको असफल प्रयास आदि सबै कुरा उहाँले सुनाउनुभयो । मलाई यी सबै कुरा सुनाइरहँदा उहाँको अनुहार निकै गम्भीर देखिन्थ्यो । उहाँका आँखा टाढातिर हेरिरहेका हुन्थे । आफ्नै जीवन–कथाका प्रसङ्गसुनाइरहँदा रत्न स्वयं पनि अतीतमा हराइरहेजस्तो लाग्थ्यो । उहाँका कुराहरू सुनिरहँदा एउटा अनौठो र संघर्षशील जीवन यात्रामा गुड्दै गरेको गाडी छेउमा उभिएजस्तो लाग्थ्योमलाई ।
यस्ता कुराहरू गरिरहँदा रत्नले भन्ने गर्नुहुन्थ्यो–‘बुझ्नुभो गुरू! विगतका ती सबै कुराले मलाई दुःख सहन सिकायो,थप मिहिनेती बनायो, हिम्मत र साहस पनि बढेर आयो । अहिले त जस्तासुकै अप्ठ्याराको पनि सामना गर्न सक्छु जस्तो लाग्छ ।’ ‘क्यान्सरबाट पीडित बनेर आमा मृत्युको काखमा पुग्नुभयो । हामी पीडामा छटपटाइरहेकी आमालाई टुलुटुलु हेरेर बस्न बाध्य बन्यौँ …..।’
यी शब्दहरू बोलिरहँदा रत्नका आँखामा आँसु बगेको मैले देखेको थिएँ । उहाँका कुरा सुनिरहँदा म पनि भक्कानिएरै रोएको थिएँ । म जतिजति रत्नको जीवनसित गाँसिएका दुःख,पीडा र संघर्षका कथाहरू सुन्थेँ उहाँले सहनुपरेका पीडा र अपमानका व्यथाहरूलेमलाई पनि आक्रान्त पार्थे । म आफैँ पनि पीडाले छटपटाउँथेँ । म स्नेहका साथ उहाँका हातहरू समाउँथेँ । अत्यन्त गाढा मित्रभाव र सम्मानसहितको आदरभावले मेरो मन छचल्किनपुग्थ्यो । त्यतिखेरै पनि रत्नकुमार बान्तवालाई सघर्षले खारिएको दृढताको साक्षत प्रतिमूर्तिठानेको थिएँ मैले ।
लेखक ईश्वर पोखरेल र रत्नकुमार वान्तावा ।
यस्तै पृष्ठभूमिका कारणले हुनसक्छ,जुनसुकै बेला जस्तासुकै अप्ठ्यारा कामका लागि पनि तत्पर भइहाल्ने रत्नको बानीबाट म साह्रै प्रभावित बनेको थिएँ । हामी आपसमा आफ्नै कथा–व्यथाहरू एकअर्कालाई सुनाउँथ्यौँ । कतिपय अवस्थामा रात छिप्पिँदै गर्दा कालिमाटीको डेराबाट निस्केर वाग्मती र विष्णुमतीको दोभानमा कुनै ऐतिहासिक कालमा तपस्या गर्ने नेमुनिको तपस्यास्थलमा पुग्थ्यौँ । त्यहाँको ढिस्को परेको ठाउँमा रात गाढा बन्दै जाँदा पनि हामीले घन्टौँ बिताएका थियौँ ।
हामी रातको निष्पट्ट अँध्यारोमा बसेर परपर क्षितिजमा उज्यालो खोजिरहेका हुन्थ्यौँ । कुनै रात हामी काठमाडौँ सहरभित्रका अग्लाअग्ला देवलहरूमा बसेर गम्भीर छलफल गर्नेगथ्र्याैँ । जीवनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा योजना बनाउँथ्यौँ । सबै कुरा त्याग्ने, गरिब जनता र समाजको सेवा गर्ने भावना जागेको थियो हामीमा । त्यससँगै हाम्रो मनभित्र बिस्तारै विद्रोेहको आगो पनि सल्किरहेको थियो ।
आमरूपमा साहित्य, अझ खासगरी कम्युनिस्ट साहित्य, हामी दुवैजना खोजीखोजी पढ्थ्यौँ ।खल्तीमा पैसा पर्नासाथ भोटाहिटीमा रहेको निरञ्जनगोविन्द वैद्यजीको पसलमा हामी पुगिहाल्थ्यौँ । त्यहाँ प्रगतिशील साहित्यका पुस्तकहरू पाइन्थे । हप्तामा कम्तीमा पनि एकपटक हामी त्यो पसलमा पुग्थ्यौँ ।
त्यहाँ पुग्यो कि केही न केही पुस्तक किनेर ल्याएकै हुन्थ्यौँ । ल्याएका किताबहरू पढिसक्ने एक किसिमले होडनै चल्थ्यो हामीबीच । लेनिन र माओत्सेतुङका रचनाहरू, क्रान्तिकारीहरूका जीवनीहरू, कम्युनिस्ट आन्दोलनको इतिहास, प्रेरक प्रसङ्गहरू भएका अन्य कुनै पनि किताबहरू हाम्रारूचिका विषय थिए ।यसरी किनेर ल्याइएका किताबहरू हामी दुबैका साझा सम्पत्तिका रूपमा हामी राख्थ्यौँ । यी बाहेक अन्य साहित्य खासगरी उपन्यास र कथाहरू पनि रूचिमा पर्ने विधा थिए । यो रूचिलाई पूरा गर्न कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका नेपाली भाषाका कथा, उपन्यास, कविता आदि प्रायः सबै पढिसिध्याउने अठोट हामीले गरेका थियौँ ।लेखक ईश्वर पोखरेल र रत्नकुमार वान्तावा ।
हामी हप्तामा तीन–चारओटा किताब पढिसक्थ्यौँ । हाम्रो यो रूचिलाई कतिले अनौठो पनि मान्थे । यदुनन्दन उपाध्याय र रघुनन्दन उपाध्यायद्वारा लिखित पुराना साहित्यदेखि भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पारिजात, दौलतविक्रम विष्ट, तुलसीराम कुँवरसम्मका किताब हामीले पढ्न बाँकी राखेनौँ । भूपी शेरचनका कविता हाम्रालागि प्रिय थिए । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ हामीलाई साह्रै मन परेको किताब थियो । उनका धेरै कविता हामीले कण्ठै गरेका थियौँ । नेपाली भाषाका सामयिक प्रकाशनहरू प्रायः हामी सङ्कलन गथ्र्यौं । त्यसबेला जतिसक्यो बढी किताब किन्ने, किताब सङ्कलन गर्नेर पढ्ने एउटा अचम्मकै धून चढेको थियो हामीमा ।
रत्नकुमार बान्तवा एउटा प्रतिभाशाली युवा हुनुहुन्थ्यो । एकैपटक धेरै काम गर्नसक्ने क्ष्ँमता र प्रतिभा थियो उहाँमा ।पढ्ने र लेख्ने काम सँगसँगै गर्नसक्ने क्ष्ँमता उहाँमा थियो । एउटा मोटै किताब पढ्दै गर्ने र त्यहीबेला कुनै अर्को किताबको नोट बनाउने वा अन्य मौलिक कुनै रचना पनि तयार गर्न सक्ने अनौठो क्ष्ँमता थियो उहाँमा । उहाँ दुवै हातले झन्डैझन्डै उस्तैउस्तै गतिमा लेख्न सक्नुहुन्थ्यो । पृथक् पृथक् विÈयमा दुइटा हातले एकैपटक लेख्नसक्ने क्ष्ँमता हुनु साँच्चै अनौठो कुरा थियो । उहाँ मन छुने गीत र कविताहरूको रचना गर्नुहुन्थ्यो । तिनलाई लयात्मक ढङ्गले वाचन गर्ने र अत्यन्त सुमधुर स्वरमा गाउने पनि गर्नुहुन्थ्यो ।
‘लक्ष्य भेदन गर्ने एउटै ताँदोबाट छुटेका हामी तीरहरू…!’
रत्नले कति अर्थपूर्ण शीषक लेख्नुभएको थियो यो कविता ! चित्रकारितामा उहाँ त्यत्तिकै सिद्धहस्त हुनुहुन्थ्यो । हाम्रो कोठामा रत्नले बनाएको चिलीका निर्वाचित कम्युनिस्ट राष्ट्रपति एलेन्डे (जसलाई अमेरिकी साम्राज्यवादीहरूको षड्यन्त्रमा हत्या गरिएको थियो, जो साम्राज्यवादी दलाल हत्यारा जत्थासित लड्दा लड्दै मारिएका थिए)को जीवन्त तस्बिर टाँगिएको थियो । हाम्रो कोठामा पाब्लो नेरूदा, माक्सिम गोर्की,लु स्युन, भानुभक्त,मोतीराम, लक्ष्मीप्रसाद आदिका तस्बिरहरू टाँगिएका थिए ।
तस्बिरहरूले भरिएको थियो हाम्रो कोठा । क्रान्तिकारीहरू, सहिदहरू, आन्दोलनमा उत्रिएका जनसमुदायको विशालपङ्क्ति, पसिना बगाउँदै श्रममा जुटिरहेका श्रमिकहरू आदि रत्नको चित्रकारिताका विषय थिए । यिनका अलावा प्रेम र अनुरागका अनुपम दृश्यलाई पनि जीवन्त रूपमा चित्रमा उतार्नुभएको थियो रत्नले । उहाँ बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो– ‘जीवनको यो पाटोलाई पनि देख्न सक्नुपर्छ, बुझ्न सक्नुपर्छ ।’
एकदिन रत्नले एउटा ठूलो बन्द खाम मलाई दिनुभयो । मैले त्यो खाम खोलेर हेरेँ ।त्यसमा एउटा ठूलो कागज थियो । त्यो कागजमा चित्रकला थियो । त्यो चित्रकलामा मेरो अनुहार हुबहु उतारिएको थियो । म अचम्ममा परेँ– कसरी यस्तो जस्ताको तस्तै, मैजस्तो स्केच बनाउनुभयो रत्नले? म वास्तवमै आश्चर्यमा परेँ । उहाँले ‘मित्रताको उपहार’ भन्दै त्यो चित्रकला मलाई दिनुभयो । मलाई के बोलौँ, के बोलौँ जस्तो भयो । मैले श्रद्धा र सम्मानका साथ उहाँको अनुहारमा हेरिरहेँ ।
बाँसुरीबाट निस्किएका सुमधुर धुनमा रत्न छताछुल्ल भएर पोखिने गर्नुहुन्थ्यो । बाँसुरीको त्यति मीठो धून मैले बिरलै मात्र सुनेको छु । रात छिप्पिँदै गएपछि कोठाको झ्याल खोलेर बाँसुरी बजाउने बानी उहाँको थियो । रत्न बाँसुरीको धूनसँगै परपर क्षितिजमा आफ्ना कथाव्यथासहित पुग्ने कोसिस गरिरहेजस्तो लाग्थ्यो मलाई । मादल र हार्मोनियम साँच्चै बेजोडले बजाउनुहुन्थ्यो रत्नले । सुन्नेहरू मन्त्रमुग्ध हुन्थे, ताली बजाउँथे र कति त नाँच्थे पनि । बच्छे बाजा (माउथ हार्मोनियम), बिनायो बजाउनमा पनि उहाँको त्यत्तिकै रूचि थियो । विनायोका बारेमा उहाँ भन्ने गर्नुहुन्थ्यो– ‘पहाडको ग्रामीणक्षेत्रका मौलिक र प्रिय बाजा ! यो हाम्रो बाजा हो ।’ बिनायो बजाउन थालेपछि उहाँ लोकगीतको वाक्य पनि दोहोर्याउन थाल्नुहुन्थ्यो– ‘रिटिङ रिटिङबजायो बिनायो, बिनायोले लौ मन छिनायो…. !’
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसित सम्बन्धित साहित्यहरू मात्र होइन, देशभित्र सञ्चालित जनताका संघर्षका विवरण पनि हामी जम्मा गथ्र्यौं । युवा विद्यार्थीका विस्तारवाद–साम्राज्यवादविरोधी देशभक्तिपूर्ण आन्दोलन, देशका विभिन्न ठाउँमा सञ्चालित जमिन्दार तथा जालीफटाहाविरोधी किसान जनताका संघर्षलाई हामीहरू विशेष महत्वका साथ हेथ्र्यौं । यीमध्ये झापा सङ्घर्ष हाम्रा लागि विशेष प्रेरणाको स्रोत बनेको थियो । झापा संघर्षका क्रममा र त्यससित सम्बन्धित हस्तलिखित दस्तावेजहरूलाई हामीहरू विभिन्न जुक्ति बुद्धि लगाएर प्राप्त गथ्र्यौं, तिनको अध्ययन गथ्र्यौं र आफूनजिकका अत्यन्त विश्वसनीय साथीहरूलाई सार्न र अध्ययन गर्न दिन्थ्यौँ ।
यी सबै काम जनताको सेवामा समर्पित भएर लागिरहने हाम्रो चाहना र सङ्कल्पलाई साकार बनाउने दिशामा हाम्रा व्यावहारिक प्रयत्न थिए । त्यस्ता साथीहरूसित हामी आफ्ना कोठामा मात्र होइन, कहिलेकाहीँ पिकनिक खाने र घुमफिर गर्ने निहुँमा सुन्दरीजल,पशुपति र गुह्येश्वरीका जङ्गलमा पुगेर हस्तलिखित दस्तावेज आदान–प्रदान गथ्र्यौं । कतिपय विषयमा तात्तातो बहसपनि गर्नेगथ्र्यौं । यिनै अभ्यासका क्रममा हामीबीच एउटा वैचारिक समूह नै बनिसकेको थियो ।
दाङका वामदेव शर्मा, चितवनका विष्णु घिमिरे,ओखलढुङ्गाका श्याम श्रेष्ठ, खोटाङका खगेन्द्र जोशी, म्याग्दीका शेरचनजी आदि साथीहरूका बीचमा लगभग नियमितजस्तै यी काम भइरहेका हुन्थे ।
यी गतिविधिले हामीहरू सङ्गठित रूपमा अगाडि बढ्न खोज्दै गरेको कुरालाई सङ्केत गरिरहेका थिए । हामी सबै ग्रामीण क्षेत्र गएर गरिब किसानलाई सचेत बनाउने र सङ्गठित गर्ने उत्कट चाहना र योजनामाथियौँ । तर, यस सम्बन्धमा कुनै ठोस योजना र कार्यविधि भने हामीसित थिएन । क्रान्तिकारी भावनाको उर्लंदो छालले हामीलाई तरङ्गित बनाइरहेको थियो ।
असन्तुष्टि र विद्रोहको जगमा ढकमक्क फुलेका सपनाका सुन्दर फूलहरू हाम्रा मनभरि–आँखाभरि फक्रिरहेका थिए । गाउँवस्तीका जनताका बीचमा पुगेर हामी सपनालाई साकार पार्न चाहन्थ्यौँ । सोचाइको यही शृङ्खलामा दसैँको लामो छुट्टीमा घर नगई झोला बोकेर सुदूर ग्रामीणक्षेत्रकाे भ्रमणमा रत्न र म निस्कियौँ । काठमाडौँको बौद्धबाट पैदल हिँडेका हामी लगातार उत्तरतिर लाग्दै काठमाडौँ र सिधुपाल्चोकका अनेकौँ गाउँ–वस्ती छिचोल्दै गोसाइँंकुण्ड पुगेका थियौँ । हामीले औलो उन्मूलनका लागि गाउँगाउँमा फिल्डमा खट्ने कर्मचारीले पिठ्यूँमा बोक्ने पहेँलो रङको झोला, झोलाभित्र भात पकाउने अल्मुनियमको भाँडो,खाने एउटा–एउटा थाल र चार किलोजति चामल अनि आ–आफ्ना झोलामाथि एउटा–एउटा कम्मल बोकेका थियौँ ।
दुईजनाको खल्तीमा रहेको पैसा हिसाब गर्दा जम्माजम्मी ५५रुपैयाँ थियो । बाटोमा जहाँ गाँस र बासको आवश्यकता पथ्र्यो, हामी त्यहीँ बस्थ्यौँ । साथमा रहेको भाँडामा भात पकाउँथ्यौँ । भात पकाइसकेपछि थालमा खन्याएर त्यही भाँडोमा तरकारी पकाउँथ्यौँ । नजिकैको धारा वा कुवाबाट पानी ल्याउने कुनै अर्को भाँडो थिएन । भात पकाउने भाँडो बोकेर त्यहाँ पुग्थ्यौँ र पानी हाल्थ्यौँ । सिङ्गो यात्रा हामीले यसरी नै बितायौँ । हाम्रो त्यस्तो पारालाई देखेर गाउँले जनता हामीलाई सहानुभूतिपूर्वक केही दिएर सहयोग पुयाउँथे ।
त्यसक्रममा हामीले जनतालाई कहिले कथा सुनायौँ, कहिले गीत सुनायौँ । हाम्रागीत र कवितालाई जनता बडो रमाइलो मानेर सुन्थे र हामीलाई अनेक कुरा सोध्थे । त्यो यात्राभरि रत्नले आफूसित बोकेको सानो डायरीमा अनेक कुरा नोट गरिरहनुभएको थियो । म पनि केही केही कुरा त टिप्थेँ तर रत्न भने धेरै मसिनो गरी टिप्ने गर्नुुहुन्थ्यो । त्यस भ्रमणमा हामीले पूरै १५ दिन बितायौँ ।
भ्रमण सकेर काठमाडौँं फर्केपछि भ्रमण गरेका गाउँ–ठाउँको वर्गीय स्थिति, जाति, भाषा,धर्म, संस्कृति, जनताले भोग्नुपरेका दुःख तथा शोषण–दमनका बारेमा विस्तृत रिपोर्ट तयार गरेका थियौँ । हामीसित क्यामरा थिएन, त्यसैले चाहेर पनि फोटो खिच्न पाएनौँ । तर, रत्नले यात्रालाई झल्काउने थुप्रै स्केच बनाउनुभएको थियो । हिमाल,पहाड,उकाली,ओराली,झोला बोकेर हिँड्दै गरेका हामी दुई भाइ । ती स्केचहरूमा हाम्रो यात्राको जीवन्त चित्रण थियो । हामी हाम्रो आफ्नै नयाँ संसारको खोजीमा हिँडिरहेका थियौँ। कुनै एक दिन मात्र छुट्टीको अनुकूल पर्दा पनि हामी काठमाडौँवरिपरिका गाउँहरू हेर्न–घुम्न जाने गथ्र्यौं । हामीलाई गाउँजान र गाउँका जनतासँग कुरा गर्न राम्रो लाग्थ्यो ।
पूर्वको रातो ताराबाट