बागलुङ, १८ बैशाख–
जुम्लाको विकट गाउँ सिजामा जन्मिएका रामकृष्ण आचार्य सानैदेखी नेपाली गीत संगीतको क्षेत्रमा चासो राख्ने सर्जक हुन् । उनी सानो छँदा गाई बाख्रा चराउँदादेखी विद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा समेत आफ्नो प्रस्तुतीको लागि तम्सिने गर्दथे । सानो छँदा उनमा रहेको चासो र जवानीमा रुचीको बिषय बनेका कारण अहिले उनको दैनिकीको आधा समय नेपाली गीत सँगीतले ओगट्ने गरेको छ । भावनात्मक शव्दको चयनमा निकै माहिर आचार्यले नेपाली गीत संगीतको बजारमा आफ्नो राम्रै उपस्थिती देखाउँदै आएका छन् । आचार्य पछिल्लो समय नेपाली लोकगीत, संगीत र आधुनिक गीतको क्षेत्रमा चर्चामा रहेका सर्जक हुन् । गत बर्षको तिज ताका ‘दिदीभाई’ नामक एल्बम बजारमा ल्याएर एकाएक चर्चा कमाएका आचार्यले हालसम्म आधा दर्जन बढि एल्बमहरु बजारमा ल्याएका छन् । हिउँदको सिजनमा बागलुङ, पर्वत म्याग्दी लगायतका बजारमा कपडाको ब्यापार गर्ने आचार्य सिजन सकिएपछि गीत संगीतको क्षेत्रमा लाग्ने गरेका छन् । फुर्सदमा आफ्नो रुचीरहेको बिषयमा कलम चलाउने र सिजनमा व्यापार गरेर संगीतको क्षेत्रमा लगानी गर्न र पेट पाल्नका लागि कमाई गर्ने गरेको आचार्यले बताए । व्यापारबाट नाफा निक्लेको रकम संगीतको क्षेत्रमा खर्च हुने गरेको भएपनि आचार्य नेपाली गीत संगीतमा गरेको लगानीबाट भने सन्तुष्ट रहेको बताउँछन् ।
माईत हिँड दिदी अब भाई लिन आ’को छु ।
पोहोर साल नि नआउँदा दुःख पाको छु ।
गत बर्षको तिजको समयमा बजारमा आएको कारुणिक शब्द समेटीएको यो गीतले बजार मात्रै तताएन् तिज गीत अवार्ड २०७३ समेत जित्न सफल भएको थियो । उत्कृष्ट शव्द लेखनमा तिज गीत अवार्ड जितेको यो गीतले सानो मेहेनतले मुनाफा नपाईने गीत संगीतको क्षेत्रमा थप मेहेनत गर्न आफुलाई प्रेरणा प्रदान गरेको आचार्यले बताए । दिदीभाई तिज गीत, ‘जुम्लाहुँदै जाउँला रारा ताल’ दोहोरी गीत र ‘दुःखीको कर्म’ नामक दशैं गीत बजारमा ल्याएका आचार्यका जाउ मायाँ जाउ, नचिनी माया नलाउनु रैछ र तिमी आउँदा मेरो सामु लगायतका चर्चित गीतहरु बजारमा सार्वजनिक भएका छन् । शव्द लेखन, संगीत संयोजन र मोडलिङमा समेत राम्रो दख्खल राख्ने आचार्यले चर्चामा रहेका अधिकांश गीतमा मोडलिङ गरेका छन् । लोकगीतमा खुमन अधिकारी, मिठु भण्डारी, स्मृति तिमल्सेना लगायतका चर्चित कलाकारको साथ लिएका आचार्यले आवाजकै लागि आधुनिक गीतमा भने स्वरुपराज आचार्यको साथ लिएका छन् ।
नचिनी माया नलाउनु रैछ यो स्वार्थी जगत
तिम्लाईनै खुसी दिलाउँला भन्थे बेचेर रगत ।
माया प्रेमका कारुणिक कहानी र सामाजिक परिवेश साथै प्राकृतिक सौन्दर्यताको बयान गरेर शव्द चयन गर्ने गरेका आचार्यले समाजको यथार्यलाई प्राथमिकतामा राखेको बताए । आर्थिक हिसाबमा संगीतको बजार राम्रो नभएको जानकारी हुँदाहुँदै पनि बचपनको रुचीले आँफुलाई संगीतमै हराउन बाध्य बनाएको आचार्य बताउँछन् । ‘सिजनमा व्यापार गरेर कमाउने अनि बेसीजनमा संगीतमा रमाउने काम भएको छ’ आचार्य भन्छन्– ‘गीत संगीत भनेको नशा रहेछ यो लतबाट निस्कीन गाह्रो छ ।’ गत बर्षको तिजमा बजारमा आएको गीतले नसोचेको सफलता हात पारेपछि यो बर्षको तिजको गीतको लागि तयारी भैरहेको उनले बताए । ‘दिदीभाई एल्बमको भाग दुई बजारमा ल्याउने तयारी थालेको छु’ उनले भने– ‘शब्द, स्वर र संगीतको संयोजनले सामाजिक यथार्थलाई सबैको माझमा पस्किने हो ।’ आचार्यले सोखको रुपमा अपनाएको व्यवसायले पनि आफ्नो दैनिकीको आधा समय लिईरहेको बताए ।
–तारानाथ आचार्य/बागलुङ