बागलुङ, १८ बैशाख– धौलागिरीको पहिलो रेडियो धवलागिरी एफएम बागलुङको आयोजनामा आजदेखि एक हप्ते रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम सुरु भएको छ । तालिमको प्रतिनिधिसभाका सदस्य डा. सूर्य पाठकले उद्घाटन गरेका छन् । उद्घाटन पछि बोल्दै सांसद पाठकले पत्रकारितामा पछिल्लो समय नयाँ पुस्ताको आकर्षण र आगमन कम देखिएकाले तालिमले नयाँ जनशक्ति तयार गर्नमा महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गरे । सांसद पाठकले व्यवसायिक पत्रकारिताको विकास र सम्र्वद्धनका लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले धवलागिरी एफएमलाई नयाँ व्यवस्थापनका साथ धौलागिरीबासीको अपरिहार्य सञ्चार सारथी बनाउन सबै खालका पहल प्रयत्न गरिने बताए । सञ्चार माध्यममा राम्रो अवसर छैन र हुँदैन भन्ने गलत छाप समाजमा परे पनि अब दक्ष पत्रकार सञ्चारकर्मीलाई अवसर सहित पारिश्रमिक समेत प्रदान गरिने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा अविरलले मिडिया क्षेत्रलाई सम्मानित र व्यवसायिक बनाउन दक्ष जनशक्तिको अभाव खड्किरहेको अवस्थामा धौलागिरी एफएमको तालिमले रिक्तता पुरा गर्न मद्धत पुग्ने बताए । मिडियामा अवसर र चुनौती रहे पनि दक्षता प्राप्त जनशक्ति मिडियाबाट गुनासो गरेर पलायन हुन नपर्ने सचिव थापाले बताए ।
नयाँ बर्षको आरम्भसँगै नयाँ व्यवस्थापन सहित धवलागिरी एफएमले समाचार, कार्यक्रम र प्रविधिको विकास र विस्तारलाई समय सापेक्ष परिवर्तन गर्न शुरुवात गरिसकेको उल्लेख गर्दै श्रोताको माग, चाहना अनुसार अब अघि बढ्ने तयारीमा रहेको धवलागिरी एफएमका स्टेशन प्रमुख दिल शिरीषले बताए । आगामी बैशाख २३ गते सम्म चल्ने तालिमको सहजीकरण पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा एफएमका स्टेशन प्रमुख दिल शिरीष, पत्रकार महासंघका सचिव राम थापा ‘अविरल’, रेडियो पञ्चासे पर्वतका स्टेशन म्यानेजर गणेश पौडेल, बागलुङ जेसिजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी लगायतले गर्ने छन् । उद्घाटन कार्यक्रम धवलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, सचदेव क्षत्रीको स्वागत मन्तव्य र सह–सम्पादक नविन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleसिजनमा व्यापार, बेसिजनमा गीतकार
Next Article बेरुजुको ऋण किन बोक्ने गरीबले ?