कृष्ण कुमार शैजु
हेपाटाइटिस ए र ई दिसाको माध्यमबाट सर्ने यस रोगले विद्यालय जाने बालबालिका, जवान, वृद्धवृद्धा सबैलाई आक्रमण गरेको पाइन्छ । यी दुई महामारीमूलक हेपाटाइटिस गर्मी मौसममा बढी देखिन्छन् । ढलनलको उचित प्रबन्ध नहुनु, शुद्ध खानेपानीको अभाव, अशुद्ध खाना, स्वास्थ्य चेतनाको अभाव आदि यसका प्रमुख कारण हुन् । शरीरमा हेपाटाइटिस ए विषाणु प्रवेश गरेको २–४ हप्तामा र हेपाटाइटिस ई विषाणु प्रवेश गरेको २–८ हप्तामा जन्डिस लगायतका लक्षण तथा चिह्नहरु देखिन थाल्दछ । सरसफाई राम्रो नभएको विकासोन्मुख देशका ९० प्रतिशत बालबालिका दश वर्षको उमेर नपुग्दै संक्रमित भएको पाइन्छ ।
लक्षणहरु तथा चिन्हहरू
पहिलो अवस्था (१ देखि २ हप्ता) खानामा रुची घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु, पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् । दोस्रो अवस्थाः पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ । यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेंलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेंलोपना बढ्दै जान्छ । तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरु हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।
उपचार तथा सजगता
बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपाईंहरुलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरु कलेजोको माध्यमबाट पच्ने हुन्छ । व्यक्तिगत शुद्धता र सरसफाई विशेष गरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनु पर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरु राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा बिसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झर्यो भन्ने कुसँस्कार एकदमै गलत हो ।
हेपाटाइटिस बी
हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब २ करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छभने यसका विभिन्न असरबाट प्रत्येक वर्ष ६ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ । एउटा मननयोग्य कुरा के छभने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अङ्गग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मँदा, लागूऔषधको लागि सुईको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ । स्वास्थ्यकर्मीहरु जस्तैः सर्जन, ल्याबमा काम गर्ने व्यक्तिहरु उच्च जोखिममा पर्दछन् । खाना तथा पानीको माध्यमबाट हेपाटाइटिस बी सरेको पाइएको छैन । शरीरमा विषाणु पसेको करिब ३० देखि १ सय ८० दिनमा यसले लक्षण तथा चिह्नहरु देखाउन थाल्दछ ।
लक्षण तथा चिह्नहरु
प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरु देखिँदैन । कसै–कसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरु देखाउँछन् तर केही व्यक्तिमा भने दीर्घ रुपमा कलेजोको संक्रमण भई कलेजोको सिरोशिस तथा क्यान्सर हुन्छ । मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमण चाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बी बाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा निको हुन्छ ।
उपचार
हेपाटाइटिस बी को उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बी बाट संक्रमित दीर्घरोगीहरुलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरु प्रयोग गरिन्छ । अल्पविकसित देशहरुमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुने गर्दछ । विकसित देशहरुमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरु गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।
सजगता
हेपाटाइटिस बी को भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले आफ्नो खोप कार्यक्रममै यो भ्याक्सिन समावेश गरेको छ । सन् १९८२ देखि १ करोडभन्दा बढी हेपाटाइटिस बी भ्याक्सिन प्रयोग भइसकेको पाइन्छ ।
हेपाटाइटिस सी
झन्डै–झन्डै हेपाटाइटिस बी को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब १ करोड मानिस हेपाटाइटिस सी को शिकार भइसकेका छन्भने ३ लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् । यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अंग प्रत्यारोपण र सुईमार्फत लागूऔषध प्रयोगबाट तथा जन्मिने क्रममा आमाबाट बच्चामा यो भाइरस सर्न सक्दछ । यो खाना तथा पानीबाट सर्दैन ।
लक्षण तथा चिह्नहरु
शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरु देखिन्छन् । करिब ८० प्रतिशतमा भने लक्षणहरु नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रङ्गको पिसाब हुनु, खैरो रङ्गको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।
उपचार तथा सजकता
सबै हेपाटाइटिस सी को उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल ओषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरु सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा विरामीमा प्रयोग गर्न सकिन्न । यसको आफ्नो भ्याक्सिन नभएकोले सचेतता अपनाउनुपर्दछ । आवश्यकता विना र असुरक्षित रुपमा सुई प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सी जन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागूऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरुको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने, एक्युपन्चर, नाक–कान छेंड्नेमा विशेष ध्यान पुयाउनुपर्दछ ।
Previous Articleबिशेषज्ञ सेवा सहित निःशुल्क मुटु परिक्षण शिविर हुँदै
Next Article मंगला गाउँपालिकाद्वारा ११ विधेयक पारित