म्याग्दी, १४ बैशाख– मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरिएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो । गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका, कृषि ब्यवसाय प्रर्वद्धन ऐन, शिक्षा सम्बन्धि, गाउँपालिका स्तरिय कार्यक्रम तथा योजना व्यवस्थापन सम्बन्धि कार्यविधि पारित भएको उपाध्यक्ष सिर्जना केसीले बताईन । यसैगरी न्यायीक समितिले उजुरीको किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, प्राबिधिक कर्मचारी व्यवस्थान गर्ने सम्बन्धि कार्यविधि र जनप्रतिनिधि तथा कर्मचारीको आचारसंहिता सम्बन्धि बिधेयक पारित भएको छ । गाउँपालिका क्षेत्रमा अब भवन निर्माणका क्रममा अनिवार्य नक्सा पास गर्नुपर्ने निर्णय गरेको गाउँसभाले सडकहरुको मापदण्ड समेत कायम गरेको कार्यपालिकाका प्रवत्ता कविन्द्र रोकाले जानकारी दिए । संघीय सरकारले वि.स २०७२ मा तयार पारेको बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड लागु गर्ने निर्णय भएको हो ।
शिक्षा क्षेत्रको सुधारमा जोड दिएको गापाले आफ्नो पेशा र दायित्वप्रति जिम्मेवार बनाउन संघीय सरकारको कानुनमा भएको अस्पष्टतालाई हटाइएको अध्यक्ष रोकाले बताए । शिक्षकहरु कुनैपनि गैरसरकारी संघसंस्था, समितिमा बस्न नपाउने नितीगत व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न स्पष्ट व्यवस्था गरिएको हो । यसैगरी पालिका स्तरका साथै वडा तहमा पनि शिक्षा समिति गठन गर्ने नितीगत व्यवस्था भएको छ । गापाका उपाध्यक्ष केसीको नेतृत्वमा रहेको न्यायिक समितिलाई पूर्णता दिइएको छ । बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती र सदस्य चक्रलाल पाण्डे (राजु) न्यायिक समितिको सदस्यमा चयन भएका छन् । बैशाख ९ देखि ११ गतेसम्म तिन दिन बसेको कार्यपालिका बैठकमा विषयगत समिति र सरोकारवालाहरुसंग गाउँसभामा पेश हुने बिधेयकहरुको विषयमा छलफल भएको थियो ।
ऐन बनेपछि जनप्रतिनिधि र कर्मचारीलाई संबिधानले स्थानीय तहलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्न बैधानिक बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताए । जनप्रतिनिधिको तोक आदेश, कार्यपालिकाको बैठकको निर्णय र निर्देशन कुरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय तहले गति लिने प्रशासकीय अधिकृत पोडेलले बताए । यसैगरी मंगला गाउँपालिकाले डोजर खरिदका लागि बिनियोजन गरेको एक करोड एक लाख पचास हजार रुपैया बजेट अन्य योजना तथा कार्यक्रममा रकमान्तर गर्ने निर्णय गरेको छ ।