बागलुङ, ६ बैशाख– ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले सरकारी बिद्यालयलाई अंग्रेजी माध्यम तथा बिद्यालयमा सकारात्मक सुधार गर्न सके पढ्नका लागि शहर पसेका बिद्यार्थीहरु गाउँ फर्कन सक्ने बताएका छन् । नपाले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वि सम्बन्धि प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले यो शैक्षिक सत्रबाट सम्पुर्ण बिद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन गराउन निर्देशन दिँदै अटेर गर्ने बिद्यालयलाई तलब रोक्का लगायत अन्य कारवाही गर्ने चेतावनी दिए ।
सबैभन्दा बढी रकम शिक्षामा बिनियोजन गरेपनि अझै अपुग भएकाले यसलाई छिट्टै ब्यवस्थापन गर्ने बताउदै उनले दरबन्दी मिलानको कार्य पनि छिट्टै टुंग्याउने विश्वास दिलाए । अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले शिक्षा सम्बन्धी नीति नियम तथा कार्यान्वयनबारे प्रकाश पार्दै सिँहंदरबारको अधिकार, काम र कर्तब्य सबै स्थानिय तहमा आएको हुँदा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरपालिकाको २८ करोड बजेटमध्ये १६ करोड शिक्षा क्षेत्रमा बिनियोजन गरिएकाले ती योजनालाई सहि तरिकाले सम्पन्न भएको छ की छैन भनेर अनुगमन समेत गरिने उनले बताए ।
कार्यक्रममा विभिन्न बिद्यालयका प्रअ तथा बिब्यस अध्यक्षहरुले दरबन्दी मिलान लगायतका समस्याबारे जिज्ञासा राखेका थिए । सोही अवसरमा बिद्यार्थी भर्ना अभियान अन्र्तगत बुधबार बुर्तिबाङमा प्रभातफेरी गर्ने, ढोनपा र सामुदायिक बिद्यालयका प्रअबीच भएको कार्यसम्पादन सम्झौता कडाईका साथ लागु गर्ने, साबिका प्रअ तथा बिद्यालय ब्यबस्थापन समितीले अभिभाबक भेला गरी बिद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया गर्ने, बिद्यालय ब्याबस्थापन समिती गठन नभएका तथा समिती भएर म्याद समाप्त भएका बिद्यलायले ब्यबस्थापन समिती गठन गर्ने तथा बिद्यालयलाई हराभरा बनाउन परिसरमा बृक्षारोपण गर्ने निर्णय गरेको छ ।