राजेशचन्द्र रा.भ
२६ बर्षसम्म बन्द हुन पुगेको बागलुङको बलेवा बिमानस्थल संचालनमा आएको एक महिना पनि पुगेको छैन । अहिले फेरि विमानस्थल चल्ने र बन्द हुने जस्तो बिबादास्पद हल्ला चलाउन शुरू भएको छ । कहिँ नभएको जात्रा हाडी गाउँमा भनेझै अहिले बागलुङ काठमाडौ हवाई सेवा शुरूवात भएकोलाई सकारात्मक रूपमा भन्दापनि यसलाई यतिबेला नकारात्मक कोणबाट उठाउन थालिएको छ । हामी कहाँ सकारात्मक कुरालाई नकारात्मक रूपमा उठाउने परम्परा कायमै छ । हिजोका दिनमा यात्रु सुनिश्चित नभएको कारणले बन्द हुन पुगेको बागलुङको बलेवा एअरपोर्ट फेरि चलाउने बारे बागलुङ सदरमुकाममा निकै पटक चर्चा परिचर्चा छलफल अन्तक्रिर्या कार्यक्रम नभएको हैन । तर पनि हिजोको दिनमा एअरपोर्ट संचालन हुन नसकेको हो ।
एकपटक माओबादी मन्त्री दिनानाथ शर्मा र लोकेन्द्र बिष्ट मगरले काठमाडौदेखि बागलुङ बलेवा एअरपोर्टमा हवाईजहाज चढेर आउनु भयो अनि बलेवा हवाई मैदानमा बागलुङे जनताको माझ अब दिनहुँ हवाई जहाज उड्ने छ । कति चढ्ने अब बागलुङबासीले हवाई जहाज भन्ने तर त्यो कुरा भाषणमै सिमित रह्यो । बागलुङ नगरपालिकाले नेपाल एयरलाइन्स र तारा एयरलाइन्ससंग सम्झौता गरि हप्ताको दुईवटा फ्लाइट गर्न शुरूवात भएको छ । यसलाई बागलुङको पर्यटन प्रबर्द्धनमा थप सफलता हो भन्नेमा कुनै शंका छैन । अहिले काठमाडौ बागलुङको हवाई भाडा दर नेपाल एयरलाइन्सको ६३०० रूपैयाँ र तारा एयरलाइन्सको ६५०० रूपैयाँ कायम गरिएको छ । जुन भाडा दर अहिले चलन चल्तीको बजारमा केही महंगो देखिन्छ । बागलुङ नगरपालिकाले काठमाडौ बागलुङ र बागलुङ काठमाडौको हवाई यात्रामा १२ र १२ सिटको भाडा ग्यारेन्टी गरिदिएपछि मात्रै एयरलाइन्स कम्पनीले उडान भर्न सहमत भएको हो । जहाँसम्म भाडाको कुरा छ त्यो पछि निर्धारण गरिएको हो । बागलुङको लागि त्यो भाडा दर केही प्रतिशत महंगो हो भन्ने जन गुनासो सुन्न थालिएको छ ।
त्यसलाई सकारात्मक सोच मान्नुपर्छ तर अहिले भाडा महंगो भएको कुरा उठाएर जनताप्रति सहानुभूति देखाए जस्तो गरेर बागलुङ नगरपालिका कार्यालयलाई प्रहार गर्न खोजेको देखिन्छ । बागलुङ जिल्लामा १५ जना सांसदहरू छन् ३ दर्जन भन्दाबढी राजनीतिक दलको केन्द्रीय नेताहरू छन् । तर पनि अरू जिल्लाभन्दा हामी किन पछि परिरहेका छौ । त्यसको हेक्का राख्न जरुरी छ । हामी आफ्नो ठाउँको लागि विकासको लागि एकजुट छैनौं भन्ने कुरा अहिलेको घटना क्रमले देखाइसकेको छ । हिजो २६ बर्षसम्म एअरपोर्ट बन्द हुदा कसैले पनि जोखिम उठाउन चाहेनन् । हिजो पनि हाम्रो जिल्लामा निर्वाचनबाट आएका सांसद थिए । समानुपातिकबाट आएका सांसदहरू थिए । तर किन बागलुङको बलेवा एअरपोर्टमा हवाई जहाज ल्याउन सकेनन् त भन्ने कुराको पनि गम्भीर रूपमा समीक्षा हुनुपर्छ । खाली खोक्रो नारा र भाषणले जिल्ला विकास हुने हैन । त्यसको लागि सबैको मन बिचार पबित्र हुनुपर्छ । सबैले आफ्नो गाउँको लागि आफ्नो ठाउँको लागि लागि पर्नु जरुरी छ । हिजो काठमाडौमा हवाई जहाज ल्याउनेबारे छलफल हुँदा हवाई जहाज ल्याउने काम मैले गरेको हो भनेर जस लिन हानथाप चलेको थियो जुन कुरा बागलुङबासीले मात्रै हैन दुनियाँले थाहा पाए ।
अहिले फेरि बागलुङ काठमाडौबाट आउने यात्रु कम भएको बिषयमा बागलुङ नगरपालिकाले जनताको करको पैसा हवाई कम्पनीलाई तिरेर बर्बाद गर्दैछ भनेर चर्को नारा लगाउन शुरू गरेको छ । अहिले बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले कमिशन खाएको जस्तो घटिया कुरा गर्न समेत पछि परेका छैनन् । साँच्चै भन्ने होभने हवाई सेवालाई सबै सर्बसाधारणले चढ्ने बनाउनुपर्छ । त्यो कुरामा पुरै सत्यता छ । तर सबै कुरा हामीले भने जस्तो भने अबश्य पनि छैन । जहाँसम्म अहिले चर्को भाडा हो यसलाई सरकारले समायोजन गर्न सक्छ भने बागलुङ जिल्लामा बिकास गर्छु भनेर कसम खाएका जनताबाट निर्वाचित सांसदहरूले किन त्यो पहल नगरीकन बसिरहेका छन् त ? प्रश्न उठीरहेको छ । तारा एयरलाइन्सले एकजना यात्रुको ६ हजार ५ सय भाडा कायम गर्दा नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्सले मात्रै २ सय कम गरेर ६ हजार ३ सय भाडा तोक्यो त साँच्चै अहिले बागलुङको बलेवा विमान स्थललाई फेरि बन्द गराउने षड्यन्त्र शुरू भएको होभने हामी धौलागिरिबासी सचेत हुन जरुरी छ । बागलुङको हवाई मैदान हवाई जहाज आउन शुरू भएपछि अहिले सुर्खेतमा पनि सेवा शुरूवात भएको छ । छिमेकी जिल्ला गुल्मीमा पनि हवाई जहाज चलाउने तयारी गरिरहेका छन् ।
यसले अरू ठाउँमा सुस्ताइरहेका जनतालाई जगाउने काम बागलुङले गरेको मान्नुपर्छ । अहिले २ र ४ फ्लाइट मै हामीसंग यात्रु भएन भनेर आत्तिहाल्नु पर्ने अबस्था भने छैन जस्तो लाग्छ । अहिले काठमाडौ बागलुङको हवाई टिकट अनलाइनमार्फत किन्ने प्रबन्ध हुन सकेको छैन । यसलाई पनि ब्यबस्थीत गर्न जरुरी छ । अहिले १२ सिटको ग्यारेन्टी गरे पुग्ने भए अहिले भएको भाडा ६ हजार ५ सयको दरले एक फ्लाइट ७८ हजार हुन्छ जसलाई १८ सिट क्षमताको हिसाबले भाग गर्दा ४४ रूपैयाँ हुन जान्छ । बागलुङ आउने जाने यात्रुलाई ४४ सयमा यात्रा गराउने ब्यबस्थापन गरेमा सधै–सधै हवाई जहाज प्याक हुने नगरपालिकाले आर्थिक भार पनि बोक्न नपर्ने देखिन्छ भन्ने बागलुङबासी आम धौलागिरिबासीले भनिरहेका छन् । यो विकल्पको बारेमा पनि छलफल गर्दा केही समाधान निस्कन्छ कि । अहिले काठमाडौ पोखराको हवाई भाडा अधिकंतम ४८ सयसम्म छ । बागलुङ, पर्बत र म्याग्दीका जनता अहिले पोखरासम्म यात्रा गरिरहेका छन् । यसलाई हामीले बागलुङ सम्मकै यात्रा गराउने बाताबरण बनाउन जरुरी देखिन्छ । अहिले शुरूको चरणमा हप्ताको दुई फ्लाइट भएपनि पछि यो क्रमिक रूपमा बढेर जाने निश्चित देखिन्छ । यसले बागलुङ नगरपालिकाबासीले बढीभन्दा बढी फाइदा लिने छन् । नियमित हवाई सेवा संचालनसंगै यस क्षेत्रमा रहेको घर घडेरीको मुल्यमा पनि सुधार आउने देखिन्छ । कालिगण्डकी कोरिडोर र एडिबि सडक संजालको कारणले पनि भोलिका दिनमा सहज देखिन्छ । अहिले जसरी हुन्छ बागलुङ काठमाडौको हवाई सेवालाई नियमित गराउने काम सबैले गर्न जरुरी छ ।
हामी काठमाडौ जानुपर्ने भए बागलुङको बलेवा एअरपोर्टबाटै जानुपर्छ । अहिले त्यहाँसम्म जान आउने यातायात सेवा निशुल्क रूपमा धौलागिरि अन्चल बस ब्यबसायी समिति धौलागिरि अन्चल जिप ब्यबसायी समिति बागलुङ, भगवती यातायात ट्याक्सी ब्यबसायी, समिति बागलुङ उद्योग बाणिज्य संघ र होटल ब्यबसायी समितिले जुन महत्वपूर्ण भुमिका खेलेको छ यसलाई सकारात्मक मान्नुपर्छ । अहिले सबै क्षेत्र बाट यसरी नै सहयोग र समर्थन हुन जरुरी छ बागलुङको विकास बागलुङेले नै गर्ने हो प्रदेश नम्बर ४ को प्रमुख ब्यापारिक केन्द्र बागलुङलाई ब्यबसायिक रूपमा बिकास गर्न पनि बागलुङको बलेवा एअरपोर्टलाई नियमित संचालन गर्न जरुरी छ । एक बर्षभित्र एअरपोर्ट कालोपत्रे सडक कालोपत्रे गर्ने अभियानलाई अगाडि बढाउनु पर्छ । अहिले बागलुङको बलेवा बिमानस्थलमा हवाई जहाज आएको छ । यसलाई सबैले मिलेर निरन्तरता दिन जरुरी छ ।
भाडा समायोजन गर्ने बिषयमा छलफल गरेर टुंगो लगाउनु पर्छ भरसक सबैको पहुँचमा पुग्ने बनाउन जरुरी छ । बागलुङ नगरपालिकाले जुन जोखिम उठाउने काम गरेको छ त्यसको लागि धन्यवाद दिनुपर्छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, सांसदहरू दिनानाथ शर्मा, सुर्य पाठक एमालेका कार्यबाहक अध्यक्ष कृष्ण पाठक सहितको टोलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रमुख सुगतरत्न कंसाकारलाई भेटघाट गरेर भाडा समायोजन र बागलुङ नगरपालिकाले ब्यहोर्न पर्ने यात्रु भार २४ जनालाई एकमुष्टमा गर्न अनुरोध गरेको छ । यसपटक भएको छलफल र समझदारीले बागलुङ काठमाडौ हवाई सेवाको भाडा दरमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।