म्याग्दी, ३ चैत-तिब्र गतिमा सडक स्तरउन्नति र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपनि निर्माण ब्यवसायीको पश्चिम म्याग्दी जोड्ने बेनी– दरवाङ सडक स्तरोउन्ति र कालोपत्रेको काममा ढिलासुस्ती गरेको छ । ठेक्का सम्झौता भएको करिव दश महिनासम्म पनि निर्माण ब्यवसायीले कामलाई तीब्रता दिन सरोकारवाला निकायको दवावलाई समेत निर्माणको जिम्मा लिएको लामा समानान्तर जेभीले बजेट अभावलाई कारण देखाउँदै सडक विस्तारलाई आलटाल गरेको छ । बेनी नगरपालिका हुदै पश्चिम म्याग्दीको मंगला, मालिका, धौलागिरी गाउँपालिका साथै छिमेकी जिल्ला बागलुङ र रुकुमलाई जोड्ने आयोजनाको काम सुस्त भएपछि स्थानीयबासी समेत आक्रोशित भएका छन् । २४ किलोमिटरको सडकखण्ड अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरे यता सडकमा दैनिक १० देखी २० जना कामदार, दुईवटा मेसिनले रहेपनि कामको प्रगति नभएपछि बेनी नगरपालिका, जिल्ला समन्वय समिति, तीनवटा गाउँपालिकाले सडक विभागलाई समेत दवाव दिएका छन् ।
‘सडकमा भइरहेको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन् ।चर्को दवाव विना काम गर्ने अवस्था देखिदैन्‘ जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले भने । उनका अनुसार ३० महिनामा सम्पन्न गर्ने सम्झैता गरिएपनि ब्यवसायीले बजेटको अभावलाई आधार बनाइरहेको बताए । सडक विस्तारका बारेमा तीनसता अगाडी जिल्ला प्रशासनमा भएको छलफलमा सडकमा मजदुर सहित आवश्यक तयारी गरिएको डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले बताएपनि निर्माणस्तरमा अहिलेसम्म तयारी गरिए अनुसारको काम भएको छैन् । यता निर्माण ब्यवसायीले बजेट प्राप्त नभई आन्तरिक ब्यवस्थापनले सडक बनाउन नसकिने बताएको छ । डिभिजनका कर्मचारी नै निर्माण ब्यवसायीको कमीकमजोरीलाई लुकाउने गरेकाले पनि सडक विस्तारमा समस्या भएको जनप्रतिनिधिको भनाई छ ।
‘रनिङ बिलको भुक्तानी दिने अवस्था छैन् । निर्माण ब्यवसायीलाई काम गरे अनुसारको खर्च दिन सक्ने अवस्था भए मात्रै दवाव दिन सकिन्छ’ डिभिजन प्रमुख खत्रीले भने । उनले आयोजनास्थलमा भइरहेको काम सन्तोषजनक रहेको बताउँदै निर्माण ब्यवसायीले अन्य क्षेत्रबाट सहजै मजदुर ल्याउन सक्ने बताए । पश्चिम म्याग्दीको भविस्य संग जोडिएको सडकखण्ड अन्र्तरगत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ । पहिलो चरणमा बेनी देखी बावियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ । पश्चिम म्याग्दी संगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनु गरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्ने तयारी भएको बताइएको छ । सडक विस्तार तथा स्तरउन्नतीले हाल करिव साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिव ३५ मिनेटमा पुरा गर्न सकिनेछ ।
Previous Articleप्रदेश ४ का मुख्यमन्त्री बने दुई विद्यार्थीको अभिभावक
Next Article विमान भाडा प्रकरणले जन्माएको प्रश्न