बागलुङ, ५ चैत– जुनसुकै समयमा आउन सक्ने बिपदलाई व्यवस्थापन गरेर सुरक्षित जीवनयापन गर्नका लागि नगरपालिका र सबै वडा तहमा बिपद व्यवस्थापन समिति गठन गर्ने तयारी गरिएको छ । विद्यालय, समुदाय र वडा तहमा गठन हुने ती समितिले बिपदको समयमा हुने जोखिम घटाउन काम गर्नेछन् । प्लान नेपाल, सेभ द चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले संचालन गरेको विद्यालय सुरक्षा तथा विपद जोखिम न्युनिकरण कार्यशालामा सहभागि नगर कार्यपालिकाका सदस्यहरुले सबै वडा, विद्यालय र समुदायमा अभियान लैजाने प्रतिवद्धता जनाएका हुन् ।
आगामी असार मसान्त सम्ममा समिति गठन गरी आवस्यक कामको थालनी समेत गर्ने गरी छोटो समयको कार्ययोजना पनि बनाइएको प्लान नेपालका कार्यक्रम अधिकृत कपिल सिलवालले बताए । यो अभियान अन्र्तगत सबै विद्यालय भौतिक रुपमा सुरक्षित बनाउने, जोखिमको समयमा सुरक्षित रहने उपाया बुझेको जनशक्ति तयार गर्ने तथा खोजी र उद्दारका लागि सामाग्री र उद्दारकर्ता उत्पादन गर्ने गरी योजना बनाइएको हो । नगर योजना, विद्यालय सुधार योजना र वडा तहका सबै निर्माणका कार्यक्रममा बिपद जोखिम न्युनिकरणका सूचकलाई ध्यान दिएर अगाडि बढ्ने उनीहरुले प्रतिवद्धता पनि जनाए ।
नगर प्रमुखसहित सबै कार्यपालिका सदस्यहरुले त्यसरी बनाइने योजनाबाट भूकम्प, आगोलागि, बाढी पहिरो लगायतका बिपदमा सहज अवतरण गर्न सक्ने अवस्था सिर्जना गर्ने बताएका हुन् । ‘हाम्रा विद्यालय कति सुरक्षित छन् भन्ने अध्ययन गरेर बालबालिकालाई जोखिमको समयमा पनि सुरक्षित बनाउन यो अभियानले सहयोग गर्छ’ वडा नं. २ का अध्यक्ष जीवन आचार्यले भने, ‘पूर्वाधारसँगै सुरक्षित रहने अन्य ज्ञान दिन भेला र स्थानीय योजना पनि बनाइनेछ ।’ २०७२ साल बैसाख १२ गते गएको भूकम्पपछि यस्ता बिपद जोखिम न्युनिकरणका लागि सचेतना अभियान शुरु भएका छन् ।
विद्यालय सुधार योजनामा पनि यस्ता जोखिमको न्युनिकरण योजना समावेश गर्ने अभियान शुरु भएको हो । बागलुङ नगरका १ सय १८ विद्यालयमा छुट्टाछुट्टै समिति र जोखिम अध्ययन गरेर सुरक्षा अभियान संचालन गरिने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । भूकम्प र अन्य जोखिमबाट क्षति भएका तथा हुन सक्ने संरचनामा रेक्ट्रो फिटिङ प्रविधि प्रयोग गर्नका लागि दक्ष प्राविधिकको सल्लाह लिने, अब बन्ने सबै संरचनामा सरकारले जारी गरेको संहिता पालना गर्ने तथा वडा तहमा दक्ष उद्दारकर्मी उत्पादनका लागि रेडक्रस, सेना र सशष्त्र प्रहरीको सहयोग माग्ने तयारीसहित योजना निर्माण भएको सिलवालले बताए ।
Previous Articleअपांगलाई सुविधा सहज बनाउन पहल
Next Article रायडाँडामा बालरोगको एकीकृत व्यवस्था गोष्ठी