बागलुङ, ५ चैत– राज्यको सेवा सुविधा पाउनका लागि अपांगता भएका व्यक्तिहरुलाई सचेतनाको अझै अभाव रहेको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका निकायहरु उत्तरदायी भएपछि मात्र अधिकार पाउन सक्ने बताए । गैरसरकारी संस्थाले क्षमता विकास तथा सचेतना अभियान चलाएपनि सरकारी तहकै अगुवाई आवस्यक भएकोमा उनीहरुले जोड दिए । आईएनएफको सहयोगमा अपांगता सरोकार केन्द्रले जिल्लाका ६ वटा वडामा संचालन गरेको कार्यक्रमको प्रभावकारिताबारे आयोजित अन्तरक्रियात्मक छलफलमा सहभागीले अझै धेरै अपांगहरुले राज्यको सेवा सुविधा पाउन नसकेको धारणा राखे ।
आर्थिक रुपमा विपन्न, परिवारमा अपांगता भएका तथा परिवारका सदस्य गुमाएर पिडित भएकाहरुको जीवन अझै कष्टकर भएको अध्ययनले देखाएको एक प्रतिवेदन सार्वजनिक समेत गरेको हो । कार्यक्रममा आईएनएफका सिविआर अधिकृत सूर्यबहादुर कुँवरले सन् २०१४ को तुलनामा कार्यक्रम संचालित वडामा आएको परिवर्तनबारे बताएका थिए । तित्याङ, सिगाना, रेश, लेखानी, बिहुँ र तंग्राममा रहेका ४ सय २० अपांगको क्षमता बिकास गर्दै आयमूलक व्यवसायमा लगाउन तीन बर्षसम्म कार्यक्रम संचालन गरिएको संघका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले बताए । उक्त अभियानपछि अपांगता भएका व्यक्तिहरुको रोजगारीमा वृद्धि भएको भेटिएको हो । छोटो समयमा केही परिवर्तन आएपनि कार्यक्रम सकिएकोले दिगो बनाउन स्थानीय तहलाई सहभागि बनाउन पहल गरिएको हो । अपांगता भएका बालबालिकाले विद्यालय तहमा अपमान खेप्नुपर्ने, ठूलो भएपछि सामाजिक क्षेत्रमा सक्रिय बन्न नसक्ने भएकोले समयमै उपचारका लागि पहल गर्न स्थानीय तहको अगुवाई आवस्यक पर्ने कुँवरले बताए ।
संघले केही व्यक्तिको उपचार, अपरेशन लगायतमा सहयोग गर्दै समाजमा पुनस्थापना गर्न पहल गरेको तथ्यांक पनि सार्वजनिक गरिएको थियो । ‘उपचार सहित समाजमा पुनस्थापना गर्ने काम जटिल छ’ कुँवरले भने, ‘उपचार खर्च नलागेपनि अगुवाई गर्ने तत्परता भने चाहिन्छ ।’ संघले तत्परता लिने गरी ६ वटा वडामा १५ वटा समूह गठन गरेको छ । उनीहरुलाई साधन श्रोत सम्पन्न बनाउन सकेमा अपांगहरु समेत सक्रिय बन्न सक्ने समेत उनले बताए । संघकी अध्यक्ष चिजा श्रीषको अध्यक्षता र कार्यक्रम संयोजक रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ नारायण पाण्डेयले अपांगता भएका व्यक्तिप्रतिको व्यवहार समान बनाउने, उनीहरुलाई रोजगार दिने र समानताको वातावरण तयार गर्ने काम जटिल भएकोले सबैको साझा पहलको अवास्यकता रहेकोमा जोड दिएका थिए ।
साथै संघको अगुवाईमा सबै अपांगता भएकालाई सहकारीमा समावेश गरेर हालसम्म संकलित रकमलाई व्यवस्थित गराउन पहल थालेको छ । लिड्स नेपालले गठन गरेको संरक्षक सहकारीलाई अपांगहरुको अपनत्व महसुस हुने गरी अगाडि बढाउन लागेको घिमिरेले बताए ।