फि. कृष्ण कुमार सैजु
मुटुरोग उपचार क्लिनिकमा बिरामीहरु आ–आफ्नो पालो पर्खेर जँचाउनका लागि बसिरहेका थिए । डाक्टर कक्षामा बसेर बिरामीहरुका स्वास्थ्य सम्बन्धी पीरमर्काहरु एक–एक गर्दै सुन्दै थिए । साँझको ६ बजिसकेको थियो । एकाएक बजेको मोबाइल फोनको घण्टीले डाक्टरको एकाग्रता भङ्ग गर्यो । फोन उठाउना साथ चिरपरिचित एक जना नियमित बिरामी श्रवनजीको आत्तिएको स्वर सुने । ‘डाक्टर सा ब !’ मलाई छाती दुखेर अप्ठेरो भइरहेको छ । तपाईलाई भेट्न आउँदै छु । कृपया लाइनमा कुर्न नपरोस् । डाक्टरलाई डर लागिरहेको थियो । छिटो जाँचिदिनु होला हैं ।’ यति भन्दै फोन राखे । एकैछिनमा हस्याङफस्याङ गर्दै आइपुगेका श्रवनजी छातीको बीच भागमा हात राख्दै डाक्टरको अगाडी रहेको मेचमा थचक्क बसे । श्रवनजी एकदमै आत्तिएका थिए । डाक्टरले श्रवनजीलाई केही पनि नसोधी तुरुन्त ई.सी.जी. परिक्षण गराए । ई.सी.जी. रिपोर्ट हातमा परेपछि उनलाई हृदयघात अर्थात् Heart attack भएको थाहा भयो ।
छाती दुखेको आधा घण्टा मात्र भएको उनले बताए । डाक्टरले त्तकाल एम्बुलेन्सको व्यवस्था मिलाई तुरुन्त वीर अस्पतालको सी.सी.यू. (मुटुरोगको सघन उपचार कक्षा) मा उपचारका लागि पठाए । त्यहाँ उनलाई ‘स्ट्रेप्टोकाइनेज’ नामक इनजेक्सन दिइयो । त्यसपछि उनको छातीको पीडा कम भएर गयो, उनी खतरामुक्त भए । उनी भर्खरै मात्र ४२ वर्ष उमेर पुगेका व्यस्त व्यापारी हुन् । कामको टेन्सन ज्यादै नै हुन्छ । त्यसमाथि ब्लडप्रेसर र कोलेस्ट्रोल पनि बढेको छ । औषधिको सेवन गर्न एकपल्ट प्रेमपूर्वक गाली पनि गरेको थिए । ‘हार्ट अट्याक भएर थला पर्नुहोला है’ सम्झाउने गर्थे । नभन्दै हृदयघातको पीडा भोग्नु पर्यो । तर उनी भाग्यमानी रहेछन् । उनले तुरुन्त जँचाउन पाए । समयमै रोग पत्ता लाग्यो । संयोगवश सी.सी.यू. मा बेड पनि तुरुन्त मिल्यो । उपचार पनि भने अनुसारको पाए । यसकारण उनको ज्यान बाँच्यो । यी सबै कार्य समयमै नहुँदो हो त उनको ज्यान खतरामा पर्दथ्यो ।
करिब २ वर्ष अगाडिको यस्तै एउटा घटनाको मलाई याद भइरहेको छ । एक जना नेपालकै प्रतिष्ठित सक्रिय र सम्पन्न एक युवकलाई पेटको माथिल्लो भागमा पीडा भएर आयो । उनी तुरुन्त अस्पतालमा उपचारका लागि भर्ना भए । दुर्भाग्यवश चिकित्सकहरुको अथक प्रयासको बाबजुद उनको मृत्यु भयो । उनलाई हृदयाघात भएको थियो । यो असमामयिक मृत्युको खबर फैलिएपछि अस्पतालमा छाती दुखेर जँचाउन जानेहरुको संख्या ह्वातै बढ्यो । मुटुरोग विशेषज्ञहरुले भन्ने गर्छन्, ‘४० काटेपछि कुनै समस्या नभए पनि बर्सेनि मुटुको परीक्षण (कार्डियाक चेक अप) गराउनुपर्छ ।’ तर धेरैले यो सल्लाह मान्ने गरेका छैनन् । तर छाती दुखेर मृत्यु भएको हल्ला फैलिएपछि भने हृदयघातको ज्ञान भएको छ । मान्छेहरुमा केही मात्रमा भएपनि छाती दुख्दा तुरुन्त परीक्षण गराउनुपर्छ, साथै ४० वर्ष काटेपछि मुटुको परीक्षण गराउनुपर्छ भन्ने चेतनाको अभिवृद्धि अवश्य गराई दियो । यसकै एक उदाहरण थिए श्रवनजी । माथि उल्लेखित घटनाक्रमले छाती दुख्दा ढिलाई गर्नुहुँदैन । किनकि यो प्राणघातक हुनसक्छ भन्ने चेतना एउटा वर्ग विशेषमा आयो तर यो चेतना सबै वर्गमा आउन जरुरी छ ।
हाम्रो समाजमा धेरै मानिसलाई दैनिक व्यायाम गरी शरीरलाई फुर्तिलो राख्न अल्छी लाग्छ अनि डाक्टर कहाँ गएर स्वास्थ्य परीक्षण गराउँदा पैसा खर्च होला भनेर डराउने प्रवृत्ति छ । जतिसुकै अस्वस्थकर भएपनि जचाउन गह्रो मान्ने चलन छ, यो तितो यथार्थ हो । तपाइलाई हृदयघात वा यस्तो लक्षण देख्नासाथ उच्चित परामर्श तथा दक्ष चिकित्सक फेला नपर्न सक्छ त्यसैले समयमै सचेत हुनुहोस् र दिर्घ जिबन जिउनुहोस् । नेपालमा हृदयघात भएर मर्नेहरुको संख्या बृद्धि भइरहेको छ । एक तथ्यांकको अनुसार हृदयघात हुनेहरुको संख्या यस्तो छ सन् १९६०–१९६८ मा १५०, सन् १९९६–१९९७ मा ३००, सन् २००६–२००२ मा ६००, सन् २००३–२००४ मा ९००, सन् २०१३–२०१४ मा १९०० । हृदयघातका प्रमुख कारणहरु भनेकै १. धुम्रपान, २.उच्च रक्तचाप, ३.मधुमेह, ४.उच्च रक्त कोलेस्ट्रोल, ५.वंशानुगत, ६.उमेर ४५ वर्षमाथि, ७.शारीरिक व्यायामको कमी, ८.मोटोपन, ९. मानसिक तनाव हुन् ।
हृदयघात Heart attack को लक्षण, कारणः
विश्व स्वास्थ्य संघको एक प्रतिवेदन अनुसार सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरुमा मानव मृत्युको प्रमुख कारणहरुमध्ये हृदयघात एक नम्बरमा पर्न आउनेछ । विश्व स्वास्थ्य संघकै एक अर्को प्रतिवेदन अनुसार छिमेकी मुलुक भारतमा आज सम्पूर्ण मृत्युको २५ प्रतिशत हृदयघात देखिएको छ जुन झाडापखाला, न्यूमोनिया, क्षयरोग, कुपोषण आन्य सबै मिलाउँदा जम्मा हुन आउने संख्या भन्दा पनि बढि छ । यो तथ्यले नेपाल लगायत भारतीय उपमहाद्वीपमा बढ्दै गइरहेको हृदयघातको समस्याहरुलाई प्रस्ट्याउँछ । आखिर किन यस क्षेत्रमा आकिशिँदै गइरहेको छ यो प्राणघातक मुटुको रोग ? वास्तवमा यो आधुनिक सभ्यता र औद्योगिकीकरणद्वारा सिर्जित मानसिक तनाव र जीवनशैलीमा परिवर्तन, साथै धुम्रपान, अत्याधिक मद्यपान, उच्च रक्तचाप, मधुमेह, खाद्य पदार्थमा अत्याधिक चिल्लाको प्रयोग, दैनिक प्रयोग हुने खाद्यपदार्थमा अखाद्य बस्तु तथा रसायनको प्रयोग र शारीरिक व्यायमको कमी आदिको नतिजा हो । छोटकारीमा भन्ने हो भने यो अस्वस्थ्यकर जीवनशैलीको नतिजा पनि हो । हामी धेरै खान्छौं । धेरै चिन्ता गर्छौं । कम हिडँड्छौं । यसैकारण हृदयघात बढिरेहेछ । बदलिएको अस्वास्थ्यकर जीवनशैलीलाई स्वास्थकर बनाउनु नै हृदयघातबाट बच्ने उपाय हो । पछिल्लो १० वर्षमा नेपालमा मुटुका रोगीहरुको संख्या ६ गुणाले बढेको छ । यसै अनुपातमा हृदयघातबाट हुने मृत्यु पनि बढेको छ । समाजमा हृदयघातको त्रास पनि बढेको छ । विगतका अनुभवहरुबाट केही पाठ हामी सबैले सिक्नु जरुरी छ । छातीको बीच भागमा अथाव पेटको माथिल्लो भागामा उत्पान्न हुने पीडा र जलन हृदयघातको लक्षण हुनसक्छ । यो पीडालई सहेर बस्नुहुँदैन । ४० वर्ष उमेर काटेका व्यक्तिहरुलाई छाती दुख्दा हृदयघातको सम्भावना अत्याधिक रहन्छ । यसकारण तुरुन्त उपाचार गराइहाल्नुपर्छ ।
हृदयघातको कारण छातीको बीच भागमा दुखेको होभने १ घण्टाभित्र सुविधा सम्पन्न ठाउँमा उपचार गराए हृदयघातबाट पूर्णरुपले स्वास्थ्यलाभ गर्न सकिन्छ । ६ घण्टाभित्र पनि उपचार गराउन नसके बिरामी बचाउन कम सम्भावना रहन्छ । यसभन्दा पछि भडीको सुई जति धेरै घुम्छ रोगीको आयु पनि त्यत्तिकै घट्दै जान्छ । हाल नेपालमा हृदयघातको उपाचारको लागि धेरै नै सुविधा सम्पन्न अस्पतालहरु स्थापना भइसकेका छन् । हिजोसम्म उपचारका लागि विदेश जानुपथ्र्यो तर आज एन्जियोग्राफी, एन्जियोप्लाष्टी र वाइपास सर्जरी गर्न दक्ष चिकित्सकहरुद्वारा निर्धक्क साथ नेपालमै उपचार गराउन सकिन्छ । हृदयघातबाट हुनसक्ने मृत्युलाई उपचारले रोक्न सकिन्छ तर हृदयघात हुँदा १ घण्टाभित्र उपचार गराउनुपर्ने समयको महत्वलाई भने सबैले बुझ्नु जरुरी छ ।
हृदयघात रोकथामको मूल मन्त्र
धुम्रपान त्याग्ने, सुर्ती सेवन बन्द गर्ने । यसो गर्नसके ५० प्रतिशत हृदयघात घट्ने सम्भावना छ । दैनिक आहारमा चिल्लो, नुन र कोलेस्ट्रोलको मात्रा काम गर्ने । जस्तोः दैनिक खाद्य पदार्थको ३० प्रतिशतभन्दा कम चिल्लो खाने । दैनिक ५ ग्रामभन्दा कम नुन खाने । कोलेस्ट्रोलको मात्र दैनिक ३०० मि.ग्रा. भन्दा कम हुनुपर्ने । साथै सागसब्जी, फलफूल, गेडगुडी धेरै खाने गर्नुपर्छ । शारीरिक व्यायाममा ४ किलोमिटर प्रतिघण्टाको गतिमा हिड्ने–दैनिक ३० मिनेट हिड्ने अनि योगासन गर्ने । शारीरिक तौल ठीक राख्ने । ५. रक्सीको सेवन नगर्ने । सकारात्मक चिन्तन । माया–प्रेमको भावनामा वृद्धि । चिन्तामुक्ति । उच्च रक्तचाप लाई हरपल नियन्त्रन राख्न प्रयास गर्ने । कार्बोहाइड्रेड युक्त खाना कम खाने । हृदयघातको कमी ल्याउने मूल मन्त्र भनेकै हाम्रो जीवनशैलीमा परिवर्तन हो ।
Previous Articleउज्यालोका लागि मुस्ताङका जनप्रतिनिधि ताते
Next Article २०७४ चैत २ गते शुक्रबारको राशिफल