राजेन्द्र ढकाल
राम्रो फूल देखे भने हेर्ने हजार हुन्छन्,
झुक्याएर अंगालोमा बेर्ने हजार हुन्छन्,
जहाँ पायो त्यहिँ मुस्कुराउनु हुँदैन प्रिया,
लोभीहरु भमरा बनी घेर्ने हजार हुन्छन् ।
बिर्सिदेऊ जे भयो रिस–रागको कुरा नगर,
फेरी पनि अस्मिताको दागको कुरा नगर,
बिगतमा जस्तो नचाहिँदो लिंडी ढिपी गर्दै,
उस्तै–उस्तै जवानीको मागको कुरा नगर ।
खुलेन आकास पनि तारा नउदाएको रात,
ढलेन अन्धकार पनि नजर नजुधाएको रात,
हरायो जिवनको अस्तित्व तिम्रो मौनतामा,
रहेन अर्थ जवानीको चित्त नबुझाएको रात ।
तिम्रो मौनताको परिभाषा अनौठो छ,
न बोल्छौ न बोलाउँछौ, आशा अनौठो छ,
नजरको तिर बनि मुटुमा प्रहार गर्छौ,
हेरी मात्र रहन्छौ तमासा अनौठो छ ।