बागलुङ, २० फागुन– रंगबिनाको होली ? झट्ट सुन्दा जो कोहीको मनमा प्रश्न उब्जन्छ । पुष्प (फूल) को होली कस्तो होला ? यो अनुभव शुक्रबार अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) बागलुङ पुग्नेले मात्र गर्न पाए । भगवान्को आराधना, मधुर संकीर्तन, दिव्य प्रवचन साथमा ‘पुष्प होली ।’ भगवान् श्रीकृष्णका प्रेमावतार चैतन्व महाप्रभुको जन्मोत्सव भक्तहरूले पुष्प होली खेलेर मनाए । वर्षेनी गौर पूर्णिमाका दिन विशेष पूजाआजासहित पुष्प होली गर्ने चलन रहेको संघका प्रमुख परमेश्वर अच्युत दासले बताए ।
गौराङ्ग भनेरसमेत चिनिने चैतन्य महाप्रभुलाई भगवान् कृष्णकै रूपमा लिइने उनको भनाइ छ । “गौराङ्ग प्रभुकै नामबाट गौर पूर्णिमा रहन गएको हो”, प्रवचकसमेत रहे का दासले भने । उनका अनुसार संघले विगत वर्षदेखि नै गौर पूर्णिमालाई विशेष रूपमा मनाउँदै आएको छ । पूर्णिमाका दिन खेलिने पुष्प होलीले भक्तहरूको मन जितेको उहाँको अनुभव छ । “रंग खेलेर मनाएझैँ हामीले पुष्पको प्रयोग गरेर होली खेल्छौँ”, उनले भने । हरिनाम संकीर्तनको साथमा भक्तहरूले एकापसमा फूलका पत्रहरू छर्केर, बर्साएर पुष्प होली मनाउने गरेका छन् । पहिलोपटक कार्यक्रममा पुग्नुभएका नारायण रिजालले पुष्प होली नौलो र आकर्षक लागेको प्रतिक्रिया दिए ।
उनले रंग खेल्दाझैँ फूल प्रयोग गर्दा अर्कै अनुभव भएको सुनाए । पुष्प होली खेल्नुपूर्व भगवान् श्रीकृष्णको मन्दिरमा विशेष पूजाआजा गरिएको थियो । “दिनभरजसो विविध कार्यक्रम ग¥यौँ, मुख्य आकर्षक पुष्प होली र भगवान्को अभिषेक थियो”, संघका प्रमुख दासले भने । दासले भक्तहरूमाझ वैदिक शास्त्रका रोचक विषयमा प्रवचन दिएका थिए । यस्तै, संघमा आबद्ध भक्तहरूले नाटक, गीतलगायतका प्रस्तुति राखेका थिए । भगवान्को उपवास बसेका भक्तहरूले भगवान्को अभिषेक गर्ने मौकासमेत पाएका थिए । घ्यू, महलगायतले भगवान्को प्रतिमालाई अभिषेक (नुहाइदिने) गर्ने र पछि त्यसलाई चरणामृतका रूपमा बाँड्ने चलन छ । अभिषेकपछि भगवान्लाई विशेष रूपले चढाएको पुष्प (फूल) लाई नै पछि भक्तहरूले पुष्प होलीमा प्रयोग गर्ने गरेका छन् ।
भगवान् कृष्णका अनुयायी माझ पनि पुष्प होली विशेष चाखलाग्दो हुने गरेको भक्त सावित्री खड्काले बताइन । “पुष्प भन्नेबित्तिकै हामीले पवित्रताबारे सोँच्छौँ”, उनले भनिन, “पुष्प होली स्वच्छ र रोमाञ्चक छ ।” पुष्प होलीका बारेमा वैदिक शास्त्रहरूमा पनि उल्लेख भएको संघका प्रमुख दासको भनाइ छ । “जसरी रंगलाई खुसी, विजयसँग जोडिन्छ, पुष्प पनि उस्तै हो”, उनले भने । देशभर फागु पर्व (होली) को उल्लास छाइरहेका बेला कृष्ण भक्तहरूले खेलेको पुष्प होलीले पनि धेरैको ध्यान खिच्यो । वैदिक हिन्दू धर्मको प्रवद्र्धनसँगै हरेकृष्ण अभियानमा जुटेको संघले बागलुङमा विविध कार्यक्रम गर्दै आएको छ । धर्म प्रचारमात्र नभएर अन्य सामाजिक र सेवामूलक काममा पनि संघको सक्रियता छ । संघकै लगानी र व्यवस्थापनमा बागलुङमा वैदिकखालको शाकाहारी भोजनालय पनि सञ्चालित छ ।
Previous Articleदुर्घटनाको भयावह यो रुप
Next Article रेडक्रस सोसाइटी बागलुङको जिल्लासभा