बागलुङ, २० फागुन– राजनीतिक रुपमा नेपाल संघिय संरचनामा गएर केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन समेत सम्पन्न भएको छ । संघियता कार्यान्वयनको पूर्ण अभ्यास शुरु भैसकेपनि शिक्षा क्षेत्रमा भने अझै दिर्घकालिन खाका बनेर स्थानीय तह सम्म शिक्षाको नीति बन्ने र कार्यान्वयनमा जाने समय भएको छैन । यो बिषय संघियतामा देश जानु अघिनै बहस र छलफलको बिषय बन्नु पथ्यो । त्यस्तै आवस्यक निष्कर्ष निकालेर राज्यले शिक्षा क्षेत्रको व्यवस्था गर्नु जरुरी थियो । तर अवको एक महिना भित्रै जिल्ला शिक्षा र शिक्षा बिभाग समते खारेज हुने निर्णय भैसकेको छ । कसरी र कसलाई हस्तान्तरण गरेर यी कार्यालयहरु खारेज हुन लागेका हुन् भन्ने अझै प्रष्ट छैन । हाल स्थानीय तहमा शिक्षा हेर्ने अधिकृतको रुपमा एकएक जना खटाएको छ । तर सबै तहमा अझै कर्मचारी पुगिसकेका छैनन् ।
त्यस्तो अवस्थामा सिंगो शिक्षा बिभाग र जिल्ला तहका कार्यालयले हेरेको अधिकार कार्यान्वयन गर्ने संभावना कति छ ? यो बिषय बढी संवेदनशिल छ । जिल्ला शिक्षामा मात्र विद्यालय प्रशासन, अनौपचारिक शिक्षा, बिकास तथा कार्यक्रम, लेखा प्राविधिक तथा तथ्यांक लगायतका धेरै शाखा रहेका थिए । बिना योजना खारेजीमा पुग्दा धेरै सम्पत्ति हिनामिना हुने र स्थानीय तहमा अझै संरचना समेत तयार नभएको अवस्थामा शिक्षा क्षेत्र अस्तव्यस्त हुने बढी संभावना रहेको सरोकारवाला बताउँछन् ।
धौलागिरी बहुमुखी क्याम्पसको समाजशाष्त्र मानवशाष्त्र बिभागले शनिवार संघिय संरचनामा शिक्षाको प्रारुप कस्तो हुने भन्ने बिषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दा पनि अधिकांस सरोकारवालाले यो बिषयमा चासो र चिन्तन गरेका थिए । सहभागि मध्ये ३० जनाले आवस्यक सुझाव दिएर शिक्षालाई व्यवहारिक, शिपमूलक र आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनीहरुले हरेक स्थानीय तहले आफ्नो माटो सुहाउँदो शिक्षा नीति बनाएर शैक्षिक बेरोजगार उत्पादन गर्ने स्थलबाट रोजगारमूलक दक्ष जनशक्ति उत्पादनको स्थान शिक्षालयहरु बनाउनुपर्ने सुझाव पनि दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले शिक्षा मुलुकको मेरुदण्ड भएको भन्दै उत्पादनमा जोड्ने शिक्षा नीति चाहिएको बताए । उनले अवको लगानी शिक्षामा बढी हुनुपर्ने भन्दै त्यस्तो लगानी प्राविधिक जनशक्ति उत्पादन र स्वदेशमै खपत हुने खालको बनाउनुपर्नेमा पनि जोड दिएका थिए । ‘राजनीतिक रुपमा जसरी परिवर्तन आएको छ त्यो परिवर्तन र जनताले चाहेको अधिकार संरक्षण गर्न सक्ने गरी नीति बनेर कार्यान्वयनमा आउनुपर्छ’ ढुंगानाले भने, ‘राजनीतिक अगुवा र कर्मचारीतन्त्रको उपल्लो तहमा चिन्तममा ल्याउने परिवर्तनबाट मात्र शिक्षामा परिवर्तन संभव छ ।’ उनले रोजगारी बढाउनेगरी शिक्षालाई जोड्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीय श्रोत र उत्पादनको आधारमा नीति बनाएर पालना गर्न सुझाव पनि दिए । हाल बागलुङ नगरपालिकाले शिक्षा नीति बनाएको उल्लेख गर्दै ढुंगानाले हतार गरेर भन्दा फुर्सदमा बनाएपनि दिर्घकालिन फाइदा पुग्ने बनाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष गणेश थापाले नगरले दिर्घकालिन शिक्षा नीति र कार्यक्रम ल्याउने बताए । उनले परंपराबादी सोचाईलाई अन्त्य नगरे सम्म कार्यक्रम सफल नहुने भन्दै शिक्षामा सबैको चासो र चिन्तनको आवस्यकता भएको पनि बताए । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले संघियतामा माध्यामिक तहको शिक्षा स्थानीय तहलाई दिएपनि विश्व विद्यालय केन्द्र शासित हुने बताए । केन्द्र शासित भएपनि स्थानीय आवस्यकतालाई ध्यान दिएर शिक्षाको गुणस्तर बिकासमा ध्यान दिने पनि बताए । सहायक जिल्ला शिक्ष अधिकारी कुश्मराज उपाध्यायले केन्द्रीय राजनीतिमा शिक्षा सधै ओझेलमा परेको भन्दै स्थानीय तहले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । तर अहिले शिक्षालाई अझै वेवास्तख गर्न खोजेको अनुभव भएको पनि उनले बताए ।
नेपालमा अहिले शिक्षाको बजेट घटी रहेको भन्दै उपाध्यायले विद्याय बाहिर रहेका १ प्रतिशत भन्दा थोरै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन ठूलो लगानी गर्नुपर्ने बताए । हाल नेपालमा ७२ प्रतिशत साक्षरता, कक्षा १ देखि ८ का बालबालिकाको शिक्षामा पहुँच ९० प्रतिशत तथा सिकाई उपलब्धी ६२ प्रतिशत रहेको बताए । कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले नीतिमा केही कडाई र परिवर्तन गर्न खोज्दा अहिले देखिनै अवरोध हुन थालेकोले चाहेजस्तो परिवर्तन हुन नसकेको पनि बताए । कार्यक्रममा लेखन नेपालका अध्यक्ष भीमसेन वन, विद्यामन्दिर माविका प्रअ जगन्नाथ आचार्य, नागरिक समाजका अगुवा काजी गाउँले, शिक्षक महासंघका अध्यक्ष कृष्ण आचार्य, प्याब्सनका महेशचन्द्र प्रधान, एन प्याब्सनका नेत्र न्यौपाने, शिक्षक संघकी उपाध्यक्ष हुमा रिजाल, शिक्षक संगठनकी पार्वती शर्मा, माओवादी निकट शिक्षक संगठनकी प्रतिनिधि लोकमाया केसी, विद्यार्थी नेताहरु हरिहर शर्मा, सागर कुँवर, सामाजिक अगुवाहरु देवबहादुर श्रेष्ठ, केवी राना लगायतले बोलेका थिए । त्यस्तै फरक ढंगले विद्यालय संचालन गर्दा नमूना रुपमा गनिएका धारा माविका प्रअ मित्रदत्त ढकाल, गणेश माविका प्रअ चुडामणी सुवेदी र जनप्रेम माविका प्रअ नईन्द्र गुरुङले बोलेका थिए । उनीहरुले शिक्षक र अभिभावक मिलेर संयुक्त पहल गर्दा विद्यालयमा सफलता प्राप्त भएको दावी समेत गरेका थिए । स्थानीय सरकारले पनि शिक्षक अभिभावकलाई अपनत्व दिएर शिक्षाको बिकास गर्ने अवसर दिएमा सबै सफल हुने तर्क पनि उनीहरुले गरेका थिए ।
कार्यक्रमका लागि प्राध्यापक डा. ओम गुरुङले पठाएको समावेशी शिक्षा तथा संघियतामा शिक्षा नीति बिषयमा लेखिएको आलेख समाजशाष्त्रकी विद्यार्थी गीता थापाले पढेर सुनाएकी थिइन् । समाजशाष्त्र मानवशाष्त्र विभागका प्रमुख विश्वबन्धु अधिकारीको अध्यक्षता पत्रकार प्रकाश बरालको संचालन र विभागकै शिक्षक सरोजराज पन्तको स्वागतमा सम्पन्न कार्यक्रममा विभागका सदस्य प्रकाश प्रसाद सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए । जिल्ला तहमा संघिय व्यवस्थामा शिक्षाका प्रारुप बारेमा गरिएको यो पहिलो कार्यक्रम भएको समेत सहभागिले बताएका थिए ।