बागलुङ, २० फागुन– धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन स्ववियु पदाधिकारी र पत्रकारबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ । शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा दुवै तर्फबाट एकएक गोल भएको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा जानकारी दिन आयोजित पत्रकार सम्मेलनसंगै मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । खेलमा दुवैतर्फबाट एक—एक गोल भएपछि बराबरीमा सकिएको हो ।
निर्धारित ६० मिनेट खेलिएको खेलको पहिलो हाफमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मनबहादुर थापाले सुरुवाती गोल गरेका थिए । शुरुमै अग्रता लिएर १—० ले पछि परेको पत्रकार महासंघले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल फर्कायो । पत्रकार महासंघका लागि नन्दु बिष्टले गोल गरेका थिए । दोस्रो हाफमा महासंघले धेरै प्रयासलाई गोलमा परिणत गर्न सकेन । खेल अघिको पत्रकार भेटघाटमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा विभीन्न कार्यभक्रमको आयोजना गरिएको त्यसको प्रचार प्रसार तथा कार्यक्रमबारे जानकारी दिनका लागि मैत्रीपूर्ण खेल र पत्रकार भेटघाट कार्यक्रम गरिएको गरिएको स्ववियू अध्यक्ष थापाले जानकारी गराए ।
‘हामीले स्ववियू निर्वाचनका पहिलो वर्षगाँठलाई सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन गैरहेका छौं,’ उनले भने, ‘विशेष कार्यक्रममा रुपमा चार नम्बर प्रदेशका स्ववियू सभापतिहरुको सम्मेलन र साविक धौलागिरि अञ्चलका कलेजहरुबीचको फुटबल प्रतियोगिताको आयोजना गरेका छौं ।’ क्याम्पस प्राङ्गणमै फुटबल प्रतियोगिता गर्ने गरी मैदान तयार गरिएको उनले बताए । ‘ठाउँको समस्याले गर्दा हामीले विगतमा खेलकुदका कार्यक्रम गर्न सकेको थिएनौं, अहिले फुटबलका लागि क्याम्पस प्राङ्गणमै मैदान तयार गरेका छौं,’ उनले भने ।