कृष्णराज शर्मा
तेह्र–तेह्र बर्षको फरकमा मेरो विदेश भ्रमण हुने कस्तो संयोग जुरेको हो बुझ्न सकेको छैन । ०४८ र ०६१ मा म पूर्वी एशियाली मुलुक कोरिया र जापान पुगि सकेको थिएँ । फेरी ठ्याक्कै तेह्रै बर्षपछि अमेरिका पुगें । तर दुःखको मानु खानु र सुखको मानु खानुमा फरक परे जस्तै श्रमिक बजारमा घुम्नु र पर्यटन बजारमा रम्नुमा आनको तान फरक परे जस्तै भयो अमेरिका घुमाई । घुमाईमा तात्विक फरक रह्यो । हाम्रो ग्रामीण समाजमा श्रमजीवी किसान बनेर जीवन धान्नु पर्दा र खाना खाँदा पनि दुःखको मानु र सुखको मानु खाएको मानिन्छ । आजपनि यो परिवेष हराएको छैन । बिहानको खाना दुःख परिश्रम गर्न खाने होभने बेलुकाको खाना आरामले खाने हो भन्ने चलन यद्दपि ग्रामिण जीवनमा जस्ताको तस्तै छ । हुन त अहिले शहरबजार भित्रपनि यस्ता जीवनहरू धेरै नै भेटिन्छन् । छोराछोरी पढाउन र रोजगारको लागि शहरबजारमा पसेर बस्नेहरूलाई गाउँमा भन्दा बढी दुःखको खाना चपाउनु परेको बग्रेल्ति देख्न पाईन्छ । त्यस्तै जस्तो मैले यसपाली दुःखको भ्रमण गर्दै थिईन, आरामको भ्रमण गर्दै थिएँ । छोराको परिश्रममा मैले सुख लिदैं थिए । साँच्चै भनौं यसपाली वैयक्तिक रूपमा अमेरिकामा मेरो सुखको भ्रमण हुँदै थियो । यहि मेसोमा यतै दशैं आइपुग्यो त म के गरूँ !
हामी अमेरिका आएकै यसपालीको दशैं छोरासंगै बसेर रमाउने र मनाउने भन्ने नै थियो । यसपाली मेरो लागि ०७४ सालको दशैं पनि विदेशमा मनाईने पाँचौ दशैं हुनेवाला थियो । दशैं सेप्टेम्वर ३० तारेखमा थियो । सेप्टेम्बर ८ मा अमेरिका पुगेका हामीलाई दशैं यति छिट्टै आईदियो कि पत्तै भएन । नौलो ठाउँ नौलो परिवेषमा सुक्खको घुमाईले गर्दा समय गएको पत्तै पाईएन । यसपालीको दशैं विशेष बन्ने त त्यसै थियो, उसमाथी बीस बर्षपछि भेट हुन लागेका आफन्तको पनि दशैंमा साथ रहने हुनाले झनै रोमाञ्चक लाग्दो थियो । मेरो जेठान दाज्यू नारायण गौतम संग बीस बर्षपछि भेट हुँदै थियो । त्यो पनि हामी बसेको ठाउँभन्दा निक्कै टाढाको राज्य क्यालिफोर्नीयामा । हामीले नेपालदेखि नै यो योजना तयार गरेका थियौं । लागेको थियो, राज्य फरक भएपनि हवाईजहाजको सहारा लिनु पर्दैन । सबैलाई सहजै भेट होला ! भेट्न मन लागेका थुप्रै साथीभाइ अमेरिकामा छन् । आजकल सजिलो पनि छ सामाजिक सञ्जालले को कहाँ पुगिराखेको छ थाहा हुन्छ । लोकेशन मिल्यो र चासो रहनेसंग सहजै भेट पनि भयो । कतिले चासो राखेनन् । किनकि अमेरिकामा बस्नेको आफ्नो व्यवसाय बाट फुर्सद निकाल्न गाह्रो छ । कतिपय त ईज्जतिलो काम गरेको छु भन्ने कुरा नेपालमा गर्दै आएका तर भेट्नेले सबै आन्द्राभुँडी देख्लान कि भन्ने तर्सो हुने पनि रहेछ । नबुझेकाले त्यसो गर्ने हो बुझेकाले त्यसो गर्नु पर्दैन । हामीकहाँ पुर्ख्यौली पैत्रिक सम्पत्तिको धाकमा उपरखुट्टी लगाएर र हात बाँधेर बस्ने मान्छेलाई ठूलो मान्छे मान्छौं । सम्मान गर्छौं । अझ असतको धनले पुरिएकालाई अभिनन्दन नै गर्छौं । तर धनी मुलुकमा भने काम गर्ने सम्मानित हुन्छ, ठूलोमान्छे हुन्छ,खाली बस्ने तुच्छ मानिन्छ । ती देश काम गरेकैले धनी भएका हुन् । त्यसैले कामको सम्मान हुने ठाउँमा काम जुनसुकै होस् लुकाउनु जरूरी छैन । कर्म गरेर खान लजाउनु पर्दैन । कुकर्म गरेर खान पो लाज मान्नु पर्दछ । टिपेर खान नसक्नेले अँगुर त अमिलो रहेछ भन्छन’नि, किन पीर मान्ने ? यसकारणले गर्दा सबै साथी ईष्टमित्र भेट्न मिल्दो रहेनछ ।
फेरी माथीकै प्रसंगमा म आएँ । पुगेपछि मात्र थाहा भयो कि करिब छ घण्टाको हवाई यात्रा बाट मात्र क्यालिफोर्नियाको पुग्न सकिने रहेछ । स्थलमार्ग हाम्रो लागि संभवै बनेन । स्थलमार्गबाट लगभग दश दिनको यात्रा तय गर्नु पर्ने रहेछ क्यालिफोर्नियाको लसएञ्जलस् पुग्न । एकल ड्राइभमा गुडेर पुग्न असंभवै रहेछ । जहाँ–जहाँ पुगियो आमा छोरा र म को तीन जनाको समुह भएर पुगियो । तीनजना सँगै भएर कहिल्यै साईत नगर्नु भन्ने बाजे बज्यैदेखि बाबाआमाले भन्दै र सुन्दै आएको हुँ । जतागयो यही भनाईले सताउँथ्यो मलाई । कोठाबाट निस्कँदा होस् वा होटलबाट निस्कँदा मैले मिलाउँथें । एकजना पहिल्यै, दुईजना पछाडी वा दुईजना पहिल्यै र एकजना पछाडी आमा छोराले पत्तै नपाउनेगरि मिलाउँथें । आमा छोराले यसको सुईंको पनि पाएनन् । हुनपनि घरबाट अमेरिकाको साईत गरेपछि कुनै बिघ्नबाधा केही नभै र हाच्छ्यूँ पनि नगरि जस्ताको तस्तै घर फर्केका हौं । मलाई पृथ्वीको जुन कुनामा लगेपनि पीता पुर्खाका सँस्कार त्याग्न सक्दिन । यो दह्रो विश्वास गढेर बसेको छ म मा । यति मान्दैमा मेरो केही बिगार पनि हुँदैन । आजभोली हाम्रो समाजमा खुबै आधुनिक बनेर चोकचोकमा जादूको छडी घुमाएर आजको आजै समाज रूपान्तरण गरि आधुनिक समाज निर्माण गर्ने गफ हाँक्नेहरू पनि खुसुक्क ज्योतिष सँग लहसिने गरेको प्रशस्तै देखेको छु । त्यस्तै रूढीवादी कुरा मान्दिन भन्ने उरण्ठेउला आस्तिकहरू पनि पारिवारिक जञ्जालमा पसेपछि बिस्तारै केहीगर्न लाग्दा साईत हेर्न छोड्दैनन् । राजनीतिक दलका स्वार्थी कार्यकर्ता राजनीति नसप्रे पछि,दलका ठेकेदारहरू ठेक्का बिग्रे पछि वा दलको पछि लागेर जनतन ‘एमए’ पास भएका विद्यार्थी नेताले जागीर नपाए पछि ज्योतिषीका दैलो खोज्दै हिंडेको देखेको छु । अनि राजनीतिमा हावा खाएपछि अमेरिकाको डिभी चिट्ठा भरेर ज्योतिषीलाई देखाउनेहरू पनि देखेको छु । तर म बचपनदेखि नै यो कुराको विश्वासबाट पछि हटिन । र लोकका अगाडी आधुनिक बनेर त्यसरी नक्कली विश्वास जित्न पनि खोजिन । त्यसैले अमेरिका पुगेपनि मेरो सँस्कारगत मान्यताबाट भाग्न सकिन। यसोगर्दा केही फरक परेको पनि छैन ।
हामी हिन्दुहरू लोभलालचमा फँसेर अधर्मको पक्षमा लाग्दा पनि हिन्दुत्व भुल्दै भुल्दैनौं । घाऊ चोट लाग्दा बाबा आमा सँझन्छौं । तर विपत्तिनै आईलाग्दा भगवानलाई भुल्दैनौं । राम राम भन्छौं । हरे कृष्ण हरे कृष्ण भन्छौं । बहत्तर बैशाख बाह्रको भूकम्प जाँदै गर्दा स्वधर्म छाडेर गएकाहरूलाई आपत पर्यो । धर्म छाडाका गुरूले प्रभुको पुकार गर केही हुन्न,बाहिर नभाग भन्दाभन्दै पनि राम ! राम ! राम ! भन्दै भित्रै पुरिएर रामको शरणमा पुगेको सबैलाई थाहा छ । धर्मले केही काम गर्ने उछारमेलो दिन्न,धर्मले प्रगतिमा बाधा पुर्याउँछ, भन्नेहरू पनि भित्र भित्रै पाकेर पीप निकाल्छन् तर आफ्नो स्वधर्म बाट पर हुन सक्दैनन् । हाम्रा धर्म सँस्कार रितिरिवाज मास्नु पर्दछ भन्नेहरू पनि ऐन मौकामा बोकाको बलिको त कुरा छोडौं गाईको पूजा गरेर पनि नभएर भैंसीको समेत पूजाआजा गर्छन् । त्यसैले त हाम्रा अग्रजले भनेका होलान्– “साईतले दिने अरू केहीले पनि दिन्न ।’’ साईत हेरेर हिंड्नु पर्छ । साईत हेरेर काम थाल्नु पर्छ । नकाम गरेको भएपनि प्रायश्चित पूजा गर्नु पर्दछ । खेलाँची कहिल्यै नगर्नु साईतमा ! बुढा पुरानाका यिनै र यस्तै कथन(कुथन मनमा खेलाउँदै अन्ततः त्याहाँको आन्तरिक उडान (कउष्चष्त बष्चष्लिभक) को विमान बाट लसएञ्जलस् पुगियो ।
अमेरिकाको यही घरेलु विमान सेवाद्वारा दशैंको दुई दिन पहिले नै हामी क्याफोर्नियाको लसएञ्जलस विमानस्थलमा उत्र्यौं । यहाँ पुग्दा विमानले हामीलाई कहिल्यै नबिर्सिने नमिठो यादगार क्षण उपहार दिएको छ । हामी सवार विमानमा अधिकाँश यात्रु दक्षिण कोरियन थिए । उनीहरूसंगै हामी पनि थियौं । विमानको झ्यालबाट तल्लो आकाशमा विजुली चम्केको देख्दा गज्जबै अनुभुति हुन्थ्यो । माथी आकाशमा बिजुली चम्केको देखेका हामीले तल आकाशको बादल भित्र झिलिक्क–झिलिक्क बिजुली चम्केको देख्दा अचम्म मान्थ्यौं । हाम्रो जहाजसंगै अरू जहाजहरू पनि तल बादल माथि झल्याक् झुलुक गरेका देखिन्थे । एक अर्कालाई जित्न प्रतिष्पर्धामा उत्रेका जस्ता अघिपछि भैरहन्थे । अन्तरिक्ष भन्दा तल धर्ती भन्दा माथीबाट देखिने यो अनुपम दृश्य देखेर हामी मोहीत हुँदै गन्तव्यको नजिकै पुगिसकेका थियौं । यसैवीच अचानक जहाजको ककपीटबाट यौटा ध्वनि आयो । अँग्रेजीमा क्याप्टेनले आवाज बोले । हामी बादलमा पस्दैछौं सिटबेल्ट लगाउनु होला भन्दै आवाज बन्द भयो । एक्कासि यहि बेला जहाज ह्वात्तै तल खस्यो । सबै यात्रु चिच्च्याए । विपदमा चिच्चाहटको भाषा फरक नहुँदो रहेछ । सबैले बुझ्ने भाषा त्यस्तो पो हुँदोरहेछ ! हेराहेरमै भावना साटासाट भए । विमानस्थलमा विमान अबतरण हुनुभन्दा लगभग दश मिनेट पहिला यस्तो हुन पुगेको थियो । दश मिनेटको अबधिमा दुईचोटी विमान आकाशमै खस्यो । आकाशमै उड्यो । यतिबेला सबैले पक्कै पनि आ–आफ्ना देऊता संझे । विमान भित्र कोलाहल भयो । एक प्रकारको रूवाबासी भयो । यदाकदा जहाज चढ्दा यस्तो हुने गरेको अरूको अनुभव सुनेको पनि हो तर, आफ्नै अनुभवमा बल्ल थाहा भयो कि उनीहरूको अनुभव सुनेर हाँस्नु गलत भएको रहेछ । दोहोर्याएर यस्तो अनुभव बटुल्न पनि नपरोस, सुन्न पनि नपरोस् । जेहोस् केहीबेर पछि सकुशल विमानस्थलमा उत्र्यौं । सबै यात्रुले खुशीले ताली बजाए । नयाँ जीवन पाए झैं खुशियाली मनाए । उसै त सुन्दरी कोरियनहरू श्रृङ्गारले गर्दा बाल्टिमोरदेखि नै धपधपी बलेका थिए । तर,जस्तोसुकै चम्के पनि विपदको सामना गर्दा त ति बलेका अनुहारहरू पनि चामचुम्म निभेका थिए । हुन त हामी पनि ननिभेका होईनौं । पछि गएर सबै संगै हामी पनि फेरी बलेका थियौं । त्यसरी एक्कैछिन अघिसम्म निभेका सबै अनुहारमा धप्प बत्ति बलेको थियो । खुशियाली छाएको थियो । जीवनका थुप्रै हवाईयात्राहरूमा यो जस्तो भयावह यात्रा कहिल्यै बनेन । यो जस्तो अविष्मरणीय हवाईयात्रा जीवनमा शायदै अरू होला !
क्यालिफोर्नियामा बाल्टिमोरदेखि नै होटल बुक गरेका थियौं एक साताका लागि । त्यसैगरि बाहनको पनि सोर गरिएकै थियो । विमानस्थलबाट बाहिरिए पछि हामीलाई लिन बजेट (द्यगमनभत) कंपनिको गाडी बाहिर प्रतिक्षारत रहेछ । हाम्रा लगेजहरू गाडीमा राखेर सिधै लसएञ्जलसको आर्टेसिया (ब्चतभकष्ब ) स्थित होटलमा पुग्यौं । होटलको नाम पनि थियो ( “भ्हतभलमभम क्तबथ ब्mभचष्अब’’ होटलको नाम अनुसार समय लम्वाएर बसौं–बसौं लाग्ने बाताबरण । त्यस्तै व्यबहार । यस्तो होटलको रूममा पसेपछि पनि जेट जहाजमा घटेको घटनाको भुतले छोडेको होईन । ह्याङगको थकानले छोडेको थिएन । उसमाथी प्लेनमा आएको गडबडीले अझै बढी थकानको महशुस भएको थियो । तर विस्तारै थकान कता उड्यो–उड्यो । त्यसै–त्यसै भाग्यो । अझ थकान मेटिनुको अर्को कारण थियो– अमेरिका भित्रको अर्को अमेरिका छिर्नु । विमानस्थल देखि क्यालिफोर्नियाको लसएञ्लस शहर भित्रबाट गुज्रँदा अत्यन्त रमणीयता थपिएको थियो । जे जति गाडीमा गुडेर देख्दै जान्थ्यौं,भोग्दै जान्थ्यौं त्यो सम्झेर पनि थकानलाई शुन्यमा पुर्यायौं ।
थकान उडेपनि भोकले जरै गाडेको थियो । दालभात नखाएसम्म खानै नखाएको लाग्ने हामी नेपालीलाई फरक खानाले सन्तुष्टी दिंदैन्थ्यो । जसरी भएपनि एकमुट्ठी अन्न पेटमा नहुलेसम्म नींदै नलाग्ने । होटलको कोठामा यावत् सुबिधा भेटेर पनि अन्नको चिन्ताले सताउँथ्यो । अजिंगरको आहारा दैवले जुटाउँछ भने झैं हाम्रो रूचीको विदेशी खाना छोराले लिएर आयो । कोठामा बाहेक बाहिर खाँदा यही खानामा स्वाद बसेको थियो । मेक्सिकनहरूले ‘चिपोट्ले’ नामका भोजनालय अमेरिका भरि चलाएर बसेका हुनेरहेछन् । हामीकहाँ थकाली भान्छा घर खोलेर थकालीहरूले स्वादिष्ट खानाको सेवा दिएजस्तै त्याहाँ मेक्सिकन चिपोट्लेको ‘बुरिटो’ धेरैको प्रीय भोजन बनेको रहेछ । हामीलाई पनि यही खाना सुहायो । मन पर्यो । छोराले मोवाईलमा अनलाईन सर्च गरिवरी यही खाना लिएर आएको रहेछ । ग्रीनपीसहरू, दुधेमकै तथा चिकेनका स(साना टुक्राहरू मिश्रित खानामा अतिरिक्त पाईने गोलभेडाको चट्नीले भरपूर स्वाद दिलायो । तर हामीकँहा थकालीका भान्छा घरहरू गिर्दो अवस्थामा छन् । थकालीका भान्छामा गैह्रथकालीका हात चल्छन् । पहिलाको थकाली स्वाद हराई सकेको छ । त्यतिमात्र होईन,थकालीको साईन बोर्ड किनेर गैह्र थकालीले ’थकाली भान्छाघर’ चलाउन थालेका छन् । त्यसो त थकाली समुदायले भान्छाघर भित्रै जीवन गुजार्नु पर्छ भन्न खोजेको होईन । त्यो समुदायले आफ्नो लोकप्रीय ‘ब्राण्ड’लाई सम्मानपूर्वक सुरक्षित राखिदिए हुँदो हो मात्र भन्न खोजेको हुँ । खानाले पनि देशको पहिचान दिन सकिने रहेछ भन्ने मेक्सिकोको ब्राण्डले गर्दा मैले बुझें । अमेरिकामा भने जुन शहरमा पुगेर मेक्सिकन ‘चिपोट्ले’मा पसेर ‘बुरिटो’ खाँदा पनि स्वादमा कत्ति भिन्नता नपाईने रहेछ । त्यही मीठो खाना खायौं । खाना– साना खाईवरी भोलीको दशैंलाई के कसरी मनाउने भन्ने गफ गर्दागर्दै भोलीको प्रतिक्षामा आराम पूर्वक विश्राम लियौं । क्रमशः