कृष्ण कुमार शैजु
आजको भागदौड पुर्ण र ब्यस्त दिनचर्या अनि बेपर्वाह खानपानको कारणले उच्च रक्तचाप विश्वब्यापी रूपमा दिन प्रतिदिन बढिरहेको छ । एक अध्ययनको अनुसार समग्रमा मानव जातिमा देखीने समस्यामध्ये ५०५ समस्याहरू उच्च रक्तचापको कारणले हुने गरेको देखाईएको छ । सामान्यतया रक्त प्रवाह हुँदा रक्तनलीहरूको भित्तामा रगतले पार्ने असरलाई नै रक्तचाप भनिन्छ । यसलाई रबरको बन्धक प्रयोग गरेर नाप्न सकिन्छ, जसलाई पाखुरामा बेह्रेर रक्त चाप नाप्ने उपकरणमा जोडिएको हुन्छ । यसबाट दुई प्रकारको नाप निस्कन्छ । जस्तैः १२० र ८० अघिल्लो संख्यालाई सिस्टोलिक रक्तचाप भनिन्छ किनभने यसले मुटुको धड्कन (सिस्टोल) हुँदाको रगतको चापलाई देखाउँछ र दोस्रो संख्यालाई चाहिं डायास्टोलिक रक्तचाप भनिन्छ । किनभने यो मुटु आराम (डायास्टोल) अवस्थामा हुँदाको रक्तचाप हो । रक्तचाप पारोको मिलिमिटरमा नापिन्छ र रक्तचाप १४० र ९० नाघेको खण्डमा त्यस्तो बिरामीलाई चिकित्सकहरू उच्च रक्तचाप भएका बिरामीहरू भन्छन् ।
केले रक्तचाप बढाउँछ ?
मानिलिनुहोस्, कि तपाईं बिरूवामा पानी हाल्दै हुनुहुन्छ । तपाईंले बेगसित निस्किरहेको पानीको धारा खोल्नु हुँदा वा पच्का हान्ने वा पाइपलाई विस्तारै बन्द गर्नु हुँदा पानीको चाप बढ्छ । रक्तचापमा पनि त्यस्तै हुन्छ । रगतको प्रवाह बढ्दा वा रक्तनलीहरूको प्वाल सानो हुँदा रगतको चाप बढ्छ । उच्च रक्तचाप हुनुको कारण के हो ? यसमा थुप्रै कुराहरू समावेश छन् ।
तपाईंको नियन्त्रण बाहिरका कुराहरू
कुनै व्यक्तिको उच्च रक्तचाप भएका नातेदारहरू जस्तैः बाजेबजा, आमाबुबा छन्भने तिनलाई भाबी सन्ततिहरूलाई पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ भनेर अनुसन्धाताहरूले पत्ता लगाएका छन् । तथ्यांकहरूले पृथक जुम्ल्याहा बच्चाहरूमा भन्दा दुरुस्तै देखिने जुम्ल्याहा बच्चाहरूमा उच्च रक्तचाप हुन सक्ने खतराको संकेत देखाएको छ । एउटा अध्ययनले देखाएअनुसार ‘धमनीय उच्च रक्तचाप जीनहरूको संरचनाले गर्दा हुन्छ’ र यसले नै उच्च रक्तचाप गराउने वंशानुगत तत्व छकि छैन भनेर नि¥र्कयौल गर्छ । असामान्य ढंगमा रक्तचाप बढ्दै जाने खतरा उमेर ढल्कँदै जाँदा बढ्दै जान्छ र यो प्रायजसोः श्याम वर्णका पुरुषहरूमा हुन्छ भन्ने कुरा थाह लागेको छ ।
तपाईंले नियन्त्रण गर्न सक्ने तत्वहरु
भोजनमा ध्यान दिनुहोस् ! नुनले (सोडियम) विशेष गरी मधुमेहका रोगी, गम्भीर उच्च रक्तचाप भएका मानिसहरू, वृद्ध तथा केही श्याम वर्णका मानिसहरूमा रक्तचाप बढाउन सक्छ । रक्तसञ्चार प्रणालीमा बोसोको मात्रा धेरै भएको खण्डमा रक्तनलीहरूका भित्री सतहहरूमा कोलेस्ट्रोल अर्थात् चिल्लो पदार्थहरू थुप्रिन सक्छ र यसले रक्तनलीका प्वालहरु (आथेरोस्क्लेरोसिस) बिस्तारै बन्द गरेर रक्तचाप बढाउँछ । आफ्नो शरीरको हुनुपर्ने तौलभन्दा ३० प्रतिशत बढी वजन हुने मानिसहरूलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । अध्ययनहरूले देखाएअनुसार भोजनमा पोटासियम र क्याल्सियमको मात्रा बढाउँदा रक्तचाप कम हुन सक्छ । धूम्रपान गर्दा आथेरोस्क्लेरोसिस, मधुमेह, हृदयघात तथा मस्तिष्कघात जस्ता खतराहरू हुन सक्छन् । फलतः धूम्रपान र उच्च रक्तचाप दुवै मिलेर मुटु तथा रक्तनली सम्बन्धी खतरनाक रोगहरू निम्त्याउन सक्छ । प्रमाण अलि विरोधाभासपूर्ण भएतापनि कफी, चिया र कोला पेय पदार्थहरूमा पाइने क्याफिन र मानसिक तथा शारीरिक तनाउले पनि उच्च रक्तचापलाई बढाउँछ । साथै, मादक पेय पदार्थहरू अचाक्ली वा सधैं सेवन गर्ने बानी अनि शारीरिक व्यायाम छैनभने पनि रक्तचाप बढ्न सक्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
स्वास्थ्यकर जीवन शैली
उच्च रक्तचाप भएपछि मात्र उपचार गर्नु ठूलो भूल हुनेछ । सानो उमेरदेखि नै स्वास्थ्यकर जीवन शैलीबारे चासो लिनुपर्छ । अहिले नै राम्ररी हेरविचार गरेको खण्डमा भविष्यमा स्वस्थ जीवन बिताउन सकिन्छ । मोटो मानिसहरूका लागि अनुसन्धाताहरूले चिल्लो कम भएका सन्तुलित भोजन खाने, छोटो समयमै तौल कम पार्ने कथित ‘चमत्कारी’ भोजन सेवन नगर्ने बरु उचित शारीरिक व्यायाम गर्ने कार्यक्रम कायम राख्न सुझाउ दिए । नुनको सम्बन्धमा चाहिं तिनीहरूले दिनको छ ग्रामभन्दा कम वा एक चिया चम्चा मात्र नुन प्रयोग गर्ने सल्लाह दिए । यसको अर्थ, खाना पकाउँदा नुनको मात्रा कम गर्ने र टिनमा प्याक गरिएका खानाहरू, पाकिसकेका चिसो खानाहरू (सलामी, हाम, ससेज र अन्य) अनि सेकेका खानाहरू खान कम गर्नु हो । खाना खाने बेला नुन थप्ने नगरेर अनि प्याकेटका खानाहरूमा नुनको मात्रा कति छ भनेर खोलमा हेरेर पनि नुन कम गर्न सकिन्छ । बिज्ञहरूले खानामा पोटासियमको मात्रालाई बढाउने सुझाउ पनि दिएको छ किनभने यसले ‘रक्तचाप कम’ गर्न सक्छ । त्यसैकारण स्वास्थ्यकर भोजनमा सिमी, गाढा हरियो सागसब्जी, केरा, खर्बुजा, गाजर, चुकन्दर, गोलभेडा र सुन्तलाजस्ता ‘सोडियमको मात्रा कम र पोटासियमको मात्रा बढी पाइने खाना’ समावेश हुनुपर्छ । मादक पेय पदार्थहरू पनि ठिक्क मात्रामा मात्रै सेवन गर्नु महत्वपूर्ण छ । केही अनुसन्धाताहरूले औंल्याएअनुसार उच्च रक्तचाप भएका पुरुषहरूले हरेक दिन ३० मिलिलिटरभन्दा बढी र आइमाईहरू वा कम तौल भएका व्यक्तिहरूले १५ मिलिलिटरभन्दा बढी मद्य पिउनु हुँदैन । नियमित रूपमा शारीरिक व्यायाम गर्नाले रक्तचाप कम हुन्छ र त्यसले धमनीको रक्तचाप हुने खतरादेखि जोगाउँछ भनेर अनुसनधानकर्ताहरुले निष्कर्ष निकालेको छन् । लगभग ३० देखि ४५ मिनेट हिंड्ने, साइकल चलाउने र पौडी खेल्नेजस्ता सामान्य एरोबिक व्यायाम हप्ताको तीनदेखि पाँचपल्ट गर्नु लाभप्रद हुन्छ । अझ स्वास्थ्यकर जीवन शैलीसित सम्बन्धित अन्य तत्वहरूमा धूम्रपान त्याग्नु, रगतमा चिल्लोपना बढ्न नदिनु (कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स) र मधुमेह नियन्त्रणमा राख्नु, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा लिनु र शारीरिक तथा मानसिक तनाव नियन्त्रण गर्नु पनि सम्बन्धित छ । नाक बन्द हुँदा लगाइने झोल औषधी, सोडियम बढी मात्रामा पाइने एन्टासिड, भोक कम गर्ने औषधी अनि टाउको दुख्दा दिइने क्याफिनयुक्त पेनकिलर औषधीले पनि रक्तचापलाई बढाउन मद्त पुर्याउन सक्छ । तपाईं पनि धमनीको उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने, तपाईंको भोजन तथा आनीबानीबारे व्यक्तिगत आवश्यकताअनुसार तपाईंको डाक्टरसितै सल्लाह लिनुभएर दिनचर्या परिवर्तन गर्दा बेस हुनेछ । तथापि, परिस्थिति जस्तोसुकै भएतापनि सुरुदेखि नै स्वास्थ्यकर जीवन शैली अपनाउनु उच्च रक्तचाप भएका मानिसका लागि मात्र होइन परिवारका सबै सदस्यहरूका लागि लाभप्रद हुनेछ । तपाईं नि ? सबै मानिसहरूले स्वास्थ्यकर जीवन पाएर ‘कुनैपनि बासिन्दाले म बिरामी परें’ भन्नुनपर्ने समय नआउन्जेल आफ्नो रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् ।
केही सुझावहरु
उपचारको छनौट गर्नु व्यक्तिगत निर्णयको कुरा भएकोले ब्यूँझनुहोस् । तपाईं धमनीय रक्तचाप वा मुटु, कलेजो वा मृगौलाका रोगी हुनुहुन्छ र औषधोपचार गर्दै हुनुहुन्छ भने दिनहुँ कति मात्रामा सोडियम र पोटासियम लिनुपर्छ भनेर आफ्नो चिकित्सकसित सल्लाह माग्नुहोस् । ३०मि.लि. मद्य पदार्थ राबर आसवन क्रियाद्वारा तयार पारिएका ६० मिलिलिटर पेय पदार्थ (ह्वीस्की, भोड्का तथा अन्य), २४० मिलिलिटर दाखमद्य वा ७२० मिलिलिटर बियर हुन्छ ।उच्च रक्तचाप नियन्त्रण गर्न मदत गर्ने केही तरिकाहरूः वजन घटाउनुहोस्, खानामा नुनको मात्रा घटाउनुहोस्, पोटासियम प्रशस्त मात्रामा पाइने भोजन धेरै खानुहोस्, मद्यपान कम गर्नुहोस्, नियमित तवरमा व्यायाम गर्नुहोस्, तनाव कम गर्नुहोस्, समय समयमा फुर्सद मिलाएर घुमफिर गर्ने गर्नुहोस्, चिल्लो, पिरो, अमिलो, भुटेको, तारेको, फ्रिजमा भन्डारण गरीएका खाध्य पदार्थ, आदी निएमित तथा धेरै प्रयोग नगर्नुहोस् । उच्च रक्तचाप नियन्त्रण गर्न मदत गर्ने अन्य केही तरिकाहरूः क्याल्सियम तथा म्याग्नेसियम भएको भोजन, रेशायुक्त साकाहारी भोजन, तनाव कम गर्ने उपचारविधि, नियमित योगा, प्रतिदिन ३०मिनेट जति दुबो तथा हरियो घाँसेमैदान मा हिन्डुल गर्नुहोस् ।
यसैसित सम्बन्धित कदमहरूः
धुम्रपान गर्न छोड्नुहोस्, कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नुहोस्, मधुमेहलाई नियन्त्रणमा राख्नुहोस्, रक्तचाप बढाउन सक्ने औषधीहरू प्रयोग गर्न छोड्नुहोस्, नियमित जाँच गराई रहनुहोस्, प्रतिदिन समय मिलायर ३–५ लि. स्वच्छ पानि पिउनुहोस, दिनचर्याको निश्चित समय बनाउनुहोस् । रोग लागेर उपचार गरिरहनु भन्दा रोग लाग्नै नदिन बुद्दीमानी हो । हर कोहीले आफुलाई रोग लागोस भन्ने त कसैले सोँच्दैन होईन ? त्यसैले नियमित रूपमा व्यायाम गर्दा अनि पुरानो शैलिको दिनचर्या लाई परित्याग गरी स्वस्थ्यकर भोजन लाई आत्मा साथ गर्दा उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण गर्न मदत मिल्छ ।