बागलुङ, ८ फागुन– बिसं २००७ सालमा राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापना भएको दिनको संझनामा प्रजातन्त्र दिवश मनाइएको छ । बागलुङ नगरपालिकाको आयोजनामा भएको दिवश समारोहमा बोल्ने वक्ताले प्रजातन्त्रले जनताको मौलिक हकको सुरक्षा गर्दै अहिलेको अवस्थामा ल्याएको बताए ।
उनीहरुले नागरिक स्वतन्त्रताको व्यवस्था हुँदै संविधानसभा मार्फत आफ्नो संविधान आँफै बनाएर जनप्रतिनिधिमार्फत राज्य संचालनको अभिभारा पुरा भएको पनि बताए । प्रजातन्त्रको कारण नेपाली जनताले राणशासनको निरंकुशताबाट मुक्ति पाएको, अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक अधिकार प्राप्त भएको समेत बताइएको थियो । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका उप प्राध्यापक गोविन्द गौतमले प्रजातन्त्र दिवशको औचित्यता बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, बरिष्ठ सामाजिक परिचालक भेषराज शर्माको संचालन र बागलुङ नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद टेकबहादुर घर्ती, बागलुङ नगरपालिकका प्रमुख जनकराज पौडेल, सहायक प्रजिअ नारायण पाण्डेयसहित राजनीतिक दलका प्रतिनिधिहरुले प्रजातन्त्रको औचित्य र नेपाली जनताले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका बारेमा बोलेका थिए । त्यसअघि बागलुङ बजारमा प्रभातफेरीको आयोजना गरेर धौलागिरी अञ्चल अस्पतालका बिरामीलाई फलफुल वितरण समेत गरिएको थियो । त्यस्तै सोमबारै दोश्रो निर्वाचन दिवश पनि मनाइएको थियो । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन मार्फत प्रजातन्त्रको रक्षा गर्न सकिने भन्दै जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलले दिवशको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
Previous Article२०७४ फागुन ८ गते मंगबार राशिफल
Next Article स्थानिय र राष्ट्रिय कर तिर्दैनौ–नेकपा