बागलुङ, ८ फागुन– बिप्लब नेतृत्वको नेकपा माओवादीले जनसत्ताको अभियान उल्ट्याउँदै आम जनतालाई कर नतिर्न आग्रह गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला जनपरिषदका प्रमुख बाबुलाल शाक्यले देशमा भ्रष्ट्राचारीलाई कारवाही गरेर असुल उपर गर्ने काम नगरी जनताको ढाड सेक्ने गरी कर लगाएको आरोप समेत लगाए । उनले स्थानीय तहको निर्वाचत ताका जनप्रतिनिधि आएपछि जनताको सेवामा काम हुने आश्वासन दिएकाहरुले नै कर बढाएको भन्दै जनतालाई नर्तिन आग्रह गरेको बताए ।
‘जनपरिषदले जनप्रतिनिधि आएपछि जनतालाई सुविधा आउला भन्दा झनबढी कर लगाएको छ’ उनले भने, ‘जनताको चाहना र क्षमता विपरितका काम गर्न हामी रोक्ने अभियानमा छौं ।’ माओवादी जनयुद्ध कालमा पनि जनसरकारमार्फत जनपरिषद बनाएर राज्यका अंगलाई चुनौती दिएका थिए । नगर तथा गाउँपालिकाहरुले लगाएको घरधुरी कर, व्यवसाय कर, सिफारिस कर लगायतका कुनैपनि कर नतिर्न आब्हान गरेका छन् । केही समय अघि बागलुङ नगरपालिका सहितका पालिकाहरुले करवृद्धि गरेका थिए । गाउँपालिकाहरुले नयाँ कर लगाएका छन् भने नयाँ नगरले करको मापदण्ड बनाएका छन् ।
पुराना नगरपालिकाले नियमित करमा बृद्धि गरेका थिए । शाक्यले १ सय प्रतिशत देखि १ हजार प्रतिशतसम्म कर बढाएर जनताको ढाड सेक्ने काम भएको आरोप समेत लगाए । उनले सोमबार पत्रकार सम्मेलन गरेर बिराटनगरमा आफ्नो पार्टीका नेताहरुलाई पक्राउ गरेकोमा बिरोध पनि गरे । बिराटनगरमा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सहितका नेतालाई बिना आधारमा पक्राउ गरेको आरोप लगाइएको छ । त्यसको बिरोधमा उनीहरुले नेपाल बन्दको आब्हान गरेको समेत बताए ।
उनीहरुले जिल्लाका नगरपालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाएको समेत बताएका छन् । यसअघि उद्योग बाणिज्य संघले पनि कर नबढाउन आग्रह गरेको थियो । बढेको कर जवरजस्ती असुली गरेमा परिषदले जुनसुकै कारवाही अगाडि बढाउने चेतनवी पनि दिएको छ । उनले चुडामणी शर्मा, एनसेल कंपनी तथा गोपाल खड्का जस्ता व्यक्तिले राज्य श्रोतको अरवौं रकम खाईरहेपनि कारवाही नगरेको र जनतालाई सानो काम तथा व्यवसाय गर्दा पनि दोहोरो कर लगाएको माओवादीको आरोप छ । एउटै नागरिकले आयकर पनि तिर्ने र नगर तथा गाउँपालिकामा पनि तिर्ने गरी बनाइएको दोहोरो मापदण्ड तत्काल हटाउनुपर्ने उनको माग थियो ।
नेकपाको नेपाल बन्द
गत आईतबार बिराटनगरमा आफ्नो पार्टीका नेता कार्यकर्तामाथि भएको प्रहरी हस्ताक्षेपको बिरोधमा नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । राष्ट्रिय युवा जनस्वयंम सेवक नेपालको तेश्रो राष्ट्रिय भेलामा सहभागी हुन हिँडेका नेता कार्यकर्तामाथि भएको धरपटक र गिरफ्तारीको बिरोध गर्दै नेकपाले नेपाल बन्दको आव्हान गरेको जनाएको छ । नेकपाका स्थायी समिती सदस्य सुर्दशन पिविएम, पदम राई लगायतका नेता कार्यकर्ताहरुको बिना सर्त रिहाईको माग गर्दै बन्दको हाव्हान गरेको नेकपा जिल्ला समिति बागलुङले जनाएको छ । नेकपाले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै मंगलवारको बन्द सफल पार्न सम्पुर्ण जिल्लाबासीलाई आव्हान समेत गरेको छ ।
सरकारले सुरुवातीमानै जनतालाई दमन गर्न सुरु गरेको भन्दै राजनीतिक स्वतन्त्रताको खिल्ली उडाउने काम भएको बिज्ञप्तीमा उल्लेख छ । जिल्ला सेक्रेटरी आकाशद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ । ‘यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर ओकल्ने पुँजिबादी संसदिय व्यबस्थाको दमनकारी जनघाती चरित्रलाई उदाङ्गो पारेको छ ।’
Previous Articleबागलुङमा प्रजातन्त्र दिवस मनाईयो
Next Article खानेपानी सहज हुन अझै केही दिन लाग्ने