सन्तोष गौतम
म्याग्दी, ७ फागुन–
केटाः “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…”
केटीः “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…।”
कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुख दुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताए । दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको व्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको जिसीको भनाई छ । “यानीमायालाई नबुझेर धेरैले ‘लतरे’ भाका भन्छन् र चासो दिएका छैनन्”, उनले भने, “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख विशेषता हो ।” राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ ।
अघिल्लो पुस्तासम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरिया र व्रतबन्धका समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमाया नै थियो । आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारको निधन र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताइन् । उनका अनुसार विशेष गरेर युवाहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सञ्चोबिसन्चो सोध्ने र दिनचर्याको व्याख्या गर्ने गर्दथे । “लगातार दुई दिनसम्म यानीमाया गाएका थियौं”, थापाले भनिन् “अहिले गाउने मान्छे पनि छैनन्, भाका पनि हराउँदै गएको छ ।”
केटाः “उर्ली आयो यानीमाया बर्खे भेल, आम्दै आयो छाल हहहहह यानीमाया दुःख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल ।
केटीः मेरो लागि किन आयो अहिलेको साल ?
साथीभाइ त हाँस्छन् खेल्छन् यानीमाया म वैरागी चाल” थापाले डम्मर पूर्जासँग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाए । केटाले छाडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटा ‘आहैहै’ भनेर लामो स्वर निकाली चिच्याउँछन् । यानीमाया गीत गाउन एक एक केटा र केटी मुख्य कलाकार भए पनि उनीहरुलाई साथ दिने पाँच अरु सहयोगी हुन्छन् । प्रत्येक टुक्का सकिएपछि लामो स्वर निकालेर लयबद्ध रुपमा ‘यानीमाया…’ भनिन्छ । पञ्चैबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने वाद्यवादन हुन् । नेपाल मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगर मौलिक लोकभाका भएकाले यानीमायाको अध्ययन, अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउँछन् । यानीमाया लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपयोग गर्न सकिने सचिव पुनको धारणा छ ।
Previous Articleजनताको मुहारमा खुशीयाली ल्याउने महाअभियान
Next Article बागलुङ बजार आउने खानेपानीमा अवरोध