बागलुङ, ७ फागुन– काठेखोला गाउँपालिका–८ लेखानीर रेशको सिमानामा रहेको भुँदीखोलाहुँदै जिल्ला सदरमुकाम आउने खानेपानीको पाइप फुटेपछि सदरमुकाम बागलुङ बजारमा पानीको समस्या हुने भएको छ । आईतबार सडक निर्माणका क्रममा डोजरले ढुंगा पल्टाउँदा फुटेको खानेपानी पाईप पुनः जोड्न स्थानियले अवरोध गरेका छन् ।
नगर खानेपानीले पुराना समझदारी अनुसारको काम नगरेको भन्दै स्थानियले फुटेको पाईप पुनः जडानमा अबरोध गरेका हुन् । स्थानियले पुराना मागहरु सम्बोधन नभएको भन्दै पाईप जोड्न पुगेका प्राबिधिकलाई काम गर्न नदिएपछि बजारमा आउने पानी रोकिएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । पाईप फुटेको खबर पाएलगत्तै खानेपानी तथा सरसफाई उपभोक्ता समितीले काम गर्ने प्रबिधिकको टोली पठाएको भएपनि आईतबार साँझसम्म पाईप जोड्न नदिएको शर्माको भनाई थियो । ‘हामीले सझदारी अनुसारका कामहरु क्रमशः गर्दै आईरहेका छौं’ शर्माले भने ‘फुटेको पाइप जोड्न नदिएर उहाँहरुले अबरोध सिर्जना गर्नुभयो ।’ पाईप जोड्न अबरोध गरेपछि कार्यालयले स्थानिय प्रशासनलाई गुहारेको छ । खानेपानीको आपुर्ति रोकिएपछि बागलुङ बजारमा पानीको हाहाकार मञ्चिने देखीएको छ । जनसंख्या बढी र पानीको आपुर्ति कम भएकाले बिहान र बेलुकीको समयमा मात्रै पानी बितरण गर्दै आएको संस्थालाई मुहानदेखी आउने पानी नै रोकिएकाले थप समस्या हुने भएको हो ।
उक्त मुहानको पानी रोकिँदा सदरमुकामका २५ हजार उपभोक्ता प्रभावित हुने संस्थाले जनाएको छ । ‘पानीको आपुर्ति तत्काल गर्ने गरी अगाडि बढ्छौं’ शर्माले भने प्रक्रियागत रुपमा समस्याको सम्बोधन गर्न सुरु गरिसकेका छौं ।’ जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा खाईपाई आएको पानीमा भएको अबरोध हटाउन स्थानिय प्रशासनले चासो देखाएको छ । पाईप जडानमा अबरोध भएको खबर पाएलगत्तै रेशका वडा अध्यक्षलाई फोन गरेर अवरोध नगर्न आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले बताए ।
‘खानेपानी जस्तो संबेदनशिल कुरामा सहजता अपनाउनुस् भनेर मैले फोन गरिसकें’ पाण्डेले भने ‘पाईप जोड्न आएका कर्मचारीलाई निर्वाध काम गर्न दिनु भनेको छु ।’ घटनाका बिषयमा जानकारी लिँदा वडाध्यक्ष प्रेम लामिछानेले पुराना समझादी कार्यान्वयन नभएकोले पाईप जडानमा अवरोध गरेको बताएको पाण्डेले बताए । ‘गर्नुपर्ने केही कुराहरु भए छलफलबाट टुंगो लगाउँ भनेको छु’ उनी भन्छन्– ‘सहज रुपमा काम गर्ने वातावरण बनेन् भने हामी बिकल्पको खोजी गछौं ।’ उता रेशका सर्वसाधारणले भने खानेपानी उपभोक्ता संस्थाले पुराना सम्झौता अनुसार काम नगरेका कारण पानीको आपुर्ति रोक्न बाध्य भएको बताएका छन् ।
सम्झौता भएको लामो समय बितिसक्दा समेत स्थानिय प्रभावितहरुको मर्का नबुझेको भन्दै पाईप जडानमा अबारोध गर्नु परेको काठेखोला गापा–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । संस्थाले सम्झौता कार्यान्वयन नगरेसम्म कुनैपनि हालतमा पाईप जोड्न नदिने भन्दै काममा अबरोध सिर्जना गरेको उनले बताए । ‘स्थानियसँग धरै कामका सम्झौता भएका थिए’ लामिछानेले भने ‘कुनैपनि काम अगाडि नबढेपछि पाईप जोड्न रोकेका हौं ।’ बागलुङ नगरपालिकाको लागि खानेपानीको मुहान दिँदा २ सय २२ वटा फलामे पोल, स्थानिय खानेपानीका मुहान मर्मत, एक्लेघाटमा अस्थाई पुलको निर्माण, पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण र सिगानादेखी आरिम्पाटा सम्मको बाटो निर्माण गर्ने सहमती भएको भए पनि काम सुरु नभएको वडा अध्यक्ष लामिछानेको भनाई छ ।