केपी शर्मा ओली
नेपाली जनताको संघर्षबाट निरंकुश जहानियाँ शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको २००७ साल फागुन ७ गतेको गौरवमय एवं ऐतिहासिक दिनको उपलक्ष्यमा म सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । २००७ सालको ऐतिहासिक परिवर्तनका लागि जीवन अर्पण गर्ने अमर योद्धाहरु एवं त्यसपछिको विभिन्न समय क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र, न्यायपूर्ण, समृद्ध र समुन्नत नेपाल राष्ट्रको निर्माणका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतन्त्रात्मक पद्दति, मूल्य मान्यता र आदर्शप्रति समर्पित भई जीवन उत्सर्ग गर्नु हुने प्रजातन्त्र सेनानीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । विभिन्न कालखण्डमा खोसिएको नेपाली जनताको अधिकारको पुनस्र्थापना, ०४६ एवं २०६२/६३ को दुःख, कष्ट, संघर्ष र बलिदानी आन्दोलन तथा नेपाली जनताले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा २००७ फागुन ७ बाटै प्राप्त भएको हो ।
आज जनतामा निहीत सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौं । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ । दशकौंदेखिका राज्यका केन्द्रीकृत संरचनाहरुलाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तह सहितको शासकीय पद्दतिमा ढाल्ने कार्य अगाडि बढेको छ । तीनवटै तहका सरकारहरुले आ–आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भैसकेको छ । सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ ।
जनतामा निहीत सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको हाम्रो कार्यदिशा हुनेछ । हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगीकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ ।
मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई म हार्दिक आह्वान गर्दछु । विभिन्न आरोह अवरोध पार गर्दै, प्रतिकुल अवस्थामा तत्कालीन निरंकुश शासकहरु र व्यवस्थालाई परास्त गर्दै हामी आजको दिनसम्म आइपुगेका छौं । हामीले प्राप्त गरेको समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव छैन । अब जनताको चाहनाबमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष पनि म यसै समारोहबाट गर्न चाहन्छु । यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आह्वान गर्दछु ।
म सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल गर्दछु । नेपाली जनताले युगौ देखि साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने सुवर्ण अवसर हामीलाई प्राप्त भएको छ । यस अवसरमा प्राप्त ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी नेपाल र नेपाली जनताको बृहत्तर हित र समृद्धिका लागि जुट्न म सबैलाई पुनः आव्हान गर्न चाहन्छु ।अन्तमा, प्रजातन्त्रको सुनौलो उपहार नेपाली जनतालाई प्रदान गर्न प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति पुनःएकपटक श्रद्धा सुमन प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
(प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन)