कृष्ण कुमार सैजु
सामान्यतया हाम्रो शरीरलाई चाहिने सम्पुर्ण तत्वहरु उपलव्ध भएको निश्चित भोजनलाई स्वास्थ्य खाना (सन्तुलित भोजन ) भनिन्छ । स्वच्छ, स्वास्थ्य वा सन्तुलित भोजन भन्नाले हामीलाई दैनिक रुपमा आवश्यक पर्ने खनिज, भिटामिन, मिनरल्स, प्रोटिन, क्याल्सीएम, आदि उपलव्ध भएको खाना भन्ने बुझिन्छ । जुन हामीले बिरलै प्रयोग गर्ने गरेका छौं । प्रायः हाम्रो भान्छामा सधैंजसो एउटा डिस तयार हुन्छ । त्यो मानव स्वास्थ्यका लागि अनिष्टकारी हुन्छ । त्यसैले हाम्रो दैनिक जीवनको प्रक्रिया परिवर्तन गर्न आवश्यक छ ।
आजभोलि जो कोही पनि एकदमै व्यस्त जीवन बिताईरहेका हुन्छौं । जसको परिणाम स्वरुप खानाको निश्चित समय छैन् । खानामा आवश्यक बस्तुहरु पनि छैन् । यदि हामी भोलिको जीवन केही सहज बनाउने सोच राख्ने होभने आजैबाट खानपानमा परिवर्तन ल्याउन आवश्यक छ । हाम्रो दैनिक भोजनमा सागपात, आलु, पिडालु लगायत अन्य आर्गानिक बस्तुको प्रयोग गर्नु पर्दछ । आटा पिठो, गेडागुडी आदिको अधिकतम् प्रयोग गर्नु पर्दछ । प्याकिंङ गरेर बजारमा आएका हरेक खालका खाना, चिप्स, क्रेकर, चाउचाउ, बिस्कुट यि सबै दैनिक प्रयोग गर्दा अप्रत्यक्ष रुपमा मानव शरीरलाई असर पु¥याएको हुन्छ । जसका कारण रक्तचाप, ग्याष्ट्रिक्स, पायल्स, कब्जियत आदि दिर्घकालिन तथा अपच, अरुचि, गराउँछ । अनि आँखाको दृष्टिमा र स्मरण शक्तिमा समेत कमी ल्याउँछ । सामान्य तथा कहिलेकाहीँ प्रयोग गर्नु नराम्रो होईन तर दैनिक प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । आजको २१ औं शताव्दीको परिवर्तित युगमा बालक, युवा, बयस्क तथा बृद्धा सबै जना दिन प्रतिदिन धुम्रपान र मद्यपानको कुलतमा फसिरहेका छन् । जुन भोलि उसको आफ्नो स्वास्थ्यको लागि महामारी जस्तै हुन्छ । आजको रहर र क्षणिक आनन्दले गर्दा दिन प्रतिदिन आफ्नो अमुल्य शरीरलाई समस्यातिर धकेलिहरेका छन् । हाम्रो समाजमा हेर्ने होभने वर्तमान अवस्थामा यो एउटा फेसन जस्तै भएको छ । सानो परिक्षामा पास होस् या कसैको जन्मदिन होस्, कोही बिदेशबाट आएको होस् या कोही विदेश हिँडेको नै किन नहोस् या त भिसा लागेको होस, बिबाहको त कुरै नगरौं । जताततै मद्यपानको प्रयोग भएको हुन्छ । यदि समयमै यो प्रवृत्तिलाई सुधार नगर्ने हो भने समाज छिट्टै एउटा ठुलो रोगग्रस्त समाजको रुपमा परिवर्तन नहोला भन्न सकिन्न । त्यसैले आजैबाट तपाईं हामीले यस्तो खालको बहानाबाजीको बानीलाई सुधार गर्न र एउटा स्वास्थ्य र समुन्नत समाजको निर्माण गर्नमा जुट्नु जरुरी छ ।
हाम्रो भन्छामा हुने एउटा क्याटागोरीको खानाले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्छ । दिन बिराएर भोजन तयार गर्नुहोस् । जस्तैः बिहान सव्जी दाल र खाना भए बेलुकी सव्जी दाल र रोटी तयार गर्नुहोस् । अर्को दिन ढिँडो खाने बानीको विकास गर्नुहोस । यसरी खानाको प्रबन्ध मिलाउने होभने हामी मधुमेह (सुगर) लगायतका रोग लाग्ने सम्भावनाबाट बच्न सक्छौं । भुटेको, तारेको, साँधेका र धेरै चिल्लो र मसलादार खानाहरुलाई कम गर्नुहोस् । खानामा उमालेको तथा ताजा र स्थानिय आर्गानिक खानामा बढी ध्यान केन्द्रित गर्दा स्वास्थय जिवनको लागि फाईदा पुगेको हुन्छ । हामीलाई लाग्ने बिभिन्न रोगको एउटा केन्द्रबिन्दु भनेको हाम्रो दिनचर्या र खानापान हो । दुषित भोजनका कारणले रक्तचाप, मधुमेह, बाथ, कलेजो तथा मृगौला खराबी, मुटु सम्बन्धी समस्या आदि हुन्छ । त्यसैले सन्तुलित आहारबिहार नियमित व्यायम नै स्वास्थ्य जीवनको आधार हो । जिब्रोलाई स्वाद चाहिन्छ, शरीरलाई आराम चाहिन्छ अनि कसरी भइन्छ स्वास्थ्य ? यदि स्वास्थ्य हुने होभने आजैबाट अल्छीपन छोड्नुहोस र आफ्नो दुषित खानपान र दुषित दिनचर्यालाई परिवर्तन गर्नुहोस्, प्रशस्त मात्रामा पानि पिउनुहोस् । तपाईको आनीबानी परिवर्तनको अपेक्षासहित स्वास्थ्य जीवनको शुभकामना ।
Previous Articleनिसीखोला गाउँपालिका खोपयुक्त घोषणा
Next Article २०७४ फागुन ४ गते शुक्रबार राशिफल