नेपाली गीत संगीतको बजारमा लागेर कमाउने र रमाउने धेरै हुन्छन् तर यो क्षेत्रमा लामो समय टिक्नेहरु भने आजपनि औंलामा गन्न मिल्ने अवस्थामा छन् । सांगीतिक बजारमा लागेकाहरु कुनै न कुनै कारणबाट यो क्षेत्रबाट पलायन भैरहेका तथ्यहरु हामीले भेट्ने गरेका छौं । संगीतको क्षेत्रमा लागेर निकै मेहेनत गरेर लामो समय टिक्नेहरु पनि छन् ।
निरन्तरको प्रयास र मेहेनतका कारण यही क्षेत्रमा स्थापित भएकाहरुमध्येका एक हुन कुशल सर्जक कस्तुपराज पन्त । पर्वतको साविकको लिमीठाना गाविसमा जन्मेका पन्त अहिलेभन्दा १४ बर्ष अगाडि नेपाली लोकगीत संगीतको क्षेत्रमा पाईला टेकेका सर्जक हुन् । नेपाली बजारमा अडियो क्यासेटको राम्रो व्यापार हुने बेला यो क्षेत्रमा पाईला टेकेका पन्त अहिलेका सफल सर्जक मध्येका एक हुन् ।
आजभोली भेट हुन्नौ किन,
छोड्यौ क्यारे मायाले सम्झीन्
बागलुङ काली माई, बिर्सनै गाह्रो भो मेरो मायाँलाई
पहिलो एल्बम ‘बागलुङ कालीमाई’ बजारमा ल्याएर संगीतको क्षेत्रमा पन्तले पाईला टेकेका थिए । ‘बागलुङ कालीमाई’ लगत्तै बजारमा आएको एल्बम ‘फुलको थुंगामा’ले बजारमा राम्रो व्यापार ग¥यो । यो एल्बमले बजारमा व्यापार मात्रै गरेन कस्तुप पन्तलाई राम्रो चिनायो पनि । बिषेश गरेर नेपालको पश्चिमेली भाकामा बनेको यो गीत देशका सुदुर पुर्वदेख्री सुदुरपस्चिमसम्म निकै लोकप्रिय बनेको पन्तले बताउँछन् । २०६० सालमा नेपाल सरकारको जागिर त्यो पनि प्रहरी सेवा छोडेर पन्त अवुधावी पुलिसको परिक्षण परिक्षा पास गरेर दुवई सहर हानिने सुरमा थिए । बच्चादेखी आफ्ना बाबुसँग भजन गाउने, गाईबाख्रा चराउँदा गीत गुनगुनाउने गरेको सम्झना मनमा राखेका पन्तले एकसरो कापीको पाना र सानो सिसाकलमको सहयाताले बिदेश जाने मुडमै रहेका बेला पहिलो र दोस्रो एल्बमका गीतको शव्द लेखेका थिए । नेपाल सरकारको जागिर छोडेर बिदेश जाने मुडमा रहेका बेला लेखेको गीतले नै नेपाली संगीतको बजारमा रमाउने अवसर दिलाएको पन्त सम्झीन्छन् ।
बिदेश जानका लागि आवश्यक प्रक्रिया पुग्दै गर्दा आँफुले सिर्जना गरेको गीतले एकाएक बजारमा चर्चा बटुलेपछि पन्तले दुवई सहरको आकर्षक तलबसहितको अबुदावी पुलिसमा नजाने निर्णय गरेका थिए । ‘मैले पैसा कमाउनकै लागि मात्रै होमिनु ठीक हैन भन्ने सम्झेर अबुदावी पुलिसमा नजाने निर्णय गरेको हुँ’ पन्त भन्छन्– ‘हतारमा संगीतको रसको बलमा मैले गरेको निर्णयले अहिले सफल बनायो ।’ संगीतिक क्षेत्रमा सफलता हात लागेपछि नेपाल सरकारको जागिर र बैदेशिक रोजगारी दुवै छोडेकोमा पछुतो नरहेको पन्त बताउँछन् । लामो समय संगीतको बजारमा भिजेका पन्तले नेपाली लोकगीतको क्षेत्रमा मात्रै हैन सुगम संगीतको क्षेत्रमा समेत कलम चलाएका छन् । करिव १ सय आधुनिक गीतका शव्द र केही संगीत समेत आँफै भरेका पन्तले आफ्ना प्रायः गीतहरु सफल भएको बताए । सुरुमा मेरो ‘मनको ढुकढुकीमा’ नामक आधुनिक एल्बम बजारमा ल्याएका पन्तका हालसम्म ‘धोका दिने तिमी’, ‘तिमी बस्ने मुटुमा’ लगायतका चर्चित गीत बजारमा आएका छन्भने नेपाली सुगम संगीतका चर्चित कलाकारहरु प्रमोद खरेल, अञ्जु पन्त लगायतले स्वर भरेका छन् । लामो समय लोक तथा दोहोरी गीतको शव्द लखन तथा गायनमा बिताएका पन्तले हालसम्म ५ सय भन्दा धरै लोक तथा दोहोरी गीतमा शव्द संगीत भरेका छन्भने १ सयभन्दा धेरै गीतमा आवाज दिएका छन् ।
आफ्नै म्युजिक कम्पनी मार्फत हरेक गीतको बजार ब्यबस्थापन गर्दै आएका पन्तले राजधानीमा बसेर छोराछोरी पढाउन र आफ्नो दैनिकी चलाउन कुनै समस्या नरहेको बताए । ‘अग्रजहरुको माया र साथले म सफल सर्जक बन्न सकें’ केही पुराना कलाकारलाई सम्झिदै पन्तले भने– ‘कला क्षेत्रमा नवप्रबेशी भाईबैनीहरुले पनि मलाई धेरै माया गर्नुभएको छ ।’ बिभिन्न बिधाका १२ वटा म्युजिक अवार्ड जितेका पन्तले यसबर्ष मात्रै ५ वटा म्युजिक अवार्ड जितेका थिए ।
शव्द लेखन, संगीत र लय तथा थेगोमा अवार्ड जितेका उनका गीतबाट नेपालका चर्चित कलाकारहरु राजु परियार, बिष्णु माझी, रामजी खाँड लगायतका कलाकार पनि सम्मानित हुने अवसर पाएको पन्त बताउँछन् । ‘मेहेनत र संघर्ष धेरै गरियो’ उनी भन्छन्– ‘परिश्रमको फल पाएकोमा म निकै खुसी छु ।’ पन्तले शव्द लेखेका र आँफै गाएकामध्ये ‘के भनौर खै’, ‘बिर्सियौकी कुन्नी’, ‘डोली सजाउने’, ‘फुलको थुंगामा’, ‘मधुबनैमा’ लगायतका गीत हुन् । ‘मलाई संगीतको क्षेत्रबाट पछि फर्किनु नपरोस् भन्ने थियो’ पन्तले भने– ‘१४ बर्ष निरन्तर यहि पेसामा छु, खुसी लागेको छ ।’ गीत बनाउने र गाउने काममा प्रायः ब्यस्त रहने पन्त देशभर हुने मेला महोत्सबमा महोल तताउनमा समेत व्यस्त रहने गरेका छन् । –तारानाथ आचार्य/बागलुङ
Previous Article२०७४ माघ १७ बुधबार को राशिफल
Next Article प्रदेश नम्बर चार स्तरीय प्रथम मेयर कप सुरु