बागलुङ, ११ माघ– नेपाल बिजुली, पेन्टर, पलम्वर तथा निर्माण मजदुर युनियन जिल्ला कमिटी बागलुङले बुधबार जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको कार्यालयमा माग पत्र बुझाएको छ । मजदुरहरुको हकहितको लागि स्थानिय प्रशासन र स्थानिय तहको भुमिका महत्वपुर्ण हुने भन्दै युनियनले माग पत्र बुझाएको हो । बिभिन्न दश बुँदामा मजदुर हकहित र सुरक्षाका बिषयमा स्थानिय प्रशासन र बागलुङ नगरपालिकाको ध्यानाकर्षण हुने गरी माग पत्र बुझाईएको युनियनका जिल्ला अध्यक्ष टंकराज सुबेदीले बताए ।
मजदुरहरुको दर्ता, मजदुर परिचय पत्र, दुर्घटना बिमा, मृत्युपछिको क्षतिपुर्ती, अनुभवको प्रमाण पत्रको व्यवस्था, सिपमुलक तालिम, बाल श्रममुक्त नगर घोषणा, कामको लिखित सम्झौता, ज्यालामा समानता लगायतका दशवटा मागसहित माग पत्र बुझाईएको हो । युनियनले दक्ष निर्माणकर्मीको छनौट पछि मात्रै नक्सा पासको ब्यवस्था, श्रम बिबाद समाधान समितीको गठन, महंगीको आधारमा ज्यालाको कोटेशन गर्ने व्यवस्था, असाहाय मजदुरहरुका बालबच्चाको स्वास्थ्य उपचार र शिक्षामा सहयोग लगायतका माग समेत बुझाएको जनाएको छ ।
दुर्घटना बिमाको नगरपालिका तथा स्थानिय प्रशासनको पहलमा सरोकारवालाले गर्नुपर्ने भन्दै युनियनले मजदुरहरुको नामावली समेत माग पत्रका साथ बुझाईएको अध्यक्ष सुबेदीले बताए । निर्माण मजदुरहरुको सबै हकहितको संरक्षण स्थानिय सरकारले गर्न सक्ने भएकाले मजदुर हितको लागि आवश्यक कुराको पहिचान गरी माग पत्रका रुपमा बुझाईएको युनियन जिल्ला सचिव शुक्रबहादुर लामाले बताए । मजदुर संगठनको माग पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय तथा बागलुङ नगरपालिकाले जायज मागहरुलाई सम्बोधन गर्दै जाने जनाएका छन् ।
Previous Article२०७४ माघ ११ गते बिहिबारको राशिफल
Next Article बालविवाहको तथ्यांक खोजिने